अवसानको बाटोमा कक्षाकोठा

आइतबार, २८ साउन, २०८०
डिजिटल संस्करण

प्रशासनले मार्क्स, गान्धी, अम्बेडकर, टेगोर, इकबाल, मन्टो वा प्रेमचन्दलाई कसरी पढाउनुपर्छ भनेर निगरानी गर्न थालेपछि कक्षाकोठाको अवसान निश्चित छ

तीन दशकभन्दा बढीको शिक्षण पेसा मेरा लागि आनन्ददायी रहनुको पछाडि संवादमूलक जीवन्त कक्षाकोठा हो । गहन संवाद, बहुआयामिक दृष्टिकोणमाथिको मीमांशा, अरूलाई सुन्न सक्ने कला र आफ्नो मानसिक÷बौद्धिक क्षितिज विस्तार गर्ने तत्परताले मेरो कक्षाकोठा समृद्ध थियो । मेरा विद्यार्थी मसँग प्रायः असहमत हुन्थे र तिनले आफ्नै ढंगले मेरो दार्शनिक अवस्थितिको विश्लेषण गर्थे । उदाहरणका लागि मार्क्सवादी विद्यार्थी मलाई गान्धीवादी भन्थे भने केही अम्बेडकरवादी विद्यार्थी मलाई मेरो ‘जात विशेषाधिकार’ स्मरण गराउँथे । तिनका अनुसार यही विशेषाधिकारका कारण मैले भारतीय राजनीति र समाजमा जातको सवालको गुरुत्व बुझ्न सक्दिनथेँ । थियोडर एडोर्नो, हर्बर्ट मक्र्युज, एरिक फ्रोमजस्ता दार्शनिकलाई उद्धृत गर्ने भएकाले केही विद्यार्थी मलाई ‘नव वामपन्थी’ (न्यु लेफ्ट) पनि भन्थे । 

यी भिन्नता वा असहमतिका बाबजुद हामीबीच कहिल्यै वैमनश्यले ठाउँ पाएन । कक्षाकोठापछि हामी विश्वविद्यालयको क्यान्टिनमा कफी गफ गथ्र्यौं । मेरो अध्यापनलाई लिएर न कहिल्यै प्रहरी उजुरी हुन्थ्यो वा न एफआइआर नै दर्ज हुन्थ्यो, न भाइरल भिडियो नै बाहिर निस्किन्थ्यो । अर्को शब्दमा भन्ने हो भने शिक्षक–विद्यार्थी सम्बन्धको पवित्रता जीवित थियो । शिक्षक र विद्यार्थीबीच परस्पर विश्वास थियो र कक्षाकोठा निगरानीको अखडा थिएन । 

सम्भवतः म भाग्यमानी थिएँ । मैले उपयुक्त समयमा अवकाश लिएँ । हामी अहिले भिन्न समयमा बाँचिरहेका छौँ । एक विद्यार्थी कक्षाकोठाको छलफल–बहसको भिडियो खिचेर त्यसलाई भाइरल गर्न सक्छ । तुरुन्तै धार्मिक वा ‘राष्ट्रवादी’ भावना आहत हुने अहिलेको समयमा एक शिक्षकको जटिल विचार अपराध बन्न पुग्छ । विचारकै कारण एफआइआर दर्ज हुन सक्छ र शिक्षक गिरफ्तार हुन सक्छ । पुणेमा जे भयो, त्यो सम्झिनुहोस् त । सिम्बायोसिस कलेज अफ आर्ट्स एन्ड कमर्सका एक शिक्षकलाई धार्मिक भावनामा आहत पुर्याएको भन्दै सार्वजनिक गिराफ्तारी गरियो । कलेजले ती शिक्षकलाई पढाउने क्रममा हिन्दू देवतामाथि ‘आपत्तिजनक’ टिप्पणी गरेको अभियोगमा निलम्बन गर्यो । एक विद्यार्थीले खिचेर भाइरल गराएको कक्षाको भिडियोमा शिक्षक हिन्दू देवीदेउता, इस्लाम र इसाईबीच तुलना गरिरहेका थिए । उनी ‘ईश्वर एक छ’ भनेर विद्यार्थीलाई बुझाउन खोजिरहेका थिए । भिडियो भाइरल भएसँगै सैन्यवादी हिन्दू संगठनले शिक्षकविरुद्ध उजुरी गर्यो । पुणे प्रहरीले शिक्षकविरुद्ध ‘धार्मिक भावना आहत गर्न बदनियतपूर्ण एवं दुर्भावनायुक्त’ कदम चालेको भन्दै भारतीय दण्डसंहिता २९५ ‘क’ अन्तर्गत कारबाही चलायो । 

एक शिक्षकका नाताले म क्रुद्ध छु । यस्ता घटनाले हामी कसरी प्रश्न, प्रतिप्रश्न, संवाद, छलफल र भिन्नताबाट निःसृत सिकाइ र पूर्वाग्रह हटाउने प्रक्रियाको मर्मलाई ध्वस्त गरिरहेका छौँ भन्ने देखाउँछ । हामी कक्षाकोठालाई दिगो बनाउने परस्पर विश्वासलाई ध्वस्त बनाइरहेका छौँ । र, विद्यार्थीपनको मर्मलाई मारिरहेका छौँ । 

सिम्बायोसिस कलेजका १२ कक्षाका विद्यार्थीलाई एकपटक सम्झिऊँ त । ती कलिला छन् र तिनले भर्खर–भर्खर संसार देखिरहेका छन् । यो समय तिनको जिज्ञासुकाल हो, जहाँ यिनले आफ्नो दृष्टिकोणलाई फराकिलो बनाउनुपर्छ, जात एवं धार्मिक पहिचानभन्दा बाहिर हेर्न सक्नुपर्छ, आफ्नो क्षितिज फैलाउनुपर्छ र जीवन, संस्कृति एवं समाजलाई बहुआयामिक ढंगले ग्रहण गर्न सक्ने क्षमता विकास गर्न सक्नुपर्छ । अर्को शब्दमा भन्ने हो भने विद्यार्थी हुनुको आफ्नै सुन्दरता छ । विद्यार्थी हुनु भनेको चिन्तन र प्रश्न गर्न सक्नु हो । विश्वदृष्टिकोणको भिन्नता तथा बहुलताको कल्पना एवं स्वीकार गर्नसक्नु हो । तर, विषालु टेलिभिजन च्यानलका प्रस्तोता जब हाम्रा शिक्षक बन्छन् र सामाजिक सञ्जालको तात्कालिकताले हाम्रो आलोचनात्मक चिन्तनलाई अवरोध पुर्याउँछ भने विद्यार्थीपनको मर्मलाई आत्मसात् गर्न सजिलो छैन । 

महान् विचारलाई जनोत्तेजक नेताको चर्को भाष्यले प्रतिस्थापित गरिदिएको छ र घटिया नाराले कविता, दर्शन र समाज विज्ञानलाई विस्थापित गरिदिएको छ । हामी हाम्रा विद्यार्थीलाई संवेदनहीन भिडमा परिणत गरिरहेका छौँ । 

यसमाथि जब धार्मिक पहिचानको आक्रामकता भएको उग्र–राष्ट्रवादको राजनीति जब विद्यालय, कलेज र विश्वविद्यालय पस्छ, तब सबै कुरा बदलिन्छ । प्रधानाध्यापक र उपकुलपति वर्चश्वशाली ‘राष्ट्रवाद’को रक्षक बनिदिऊन् भन्ने अपेक्षा गरिन्छ भने शिक्षक एकांगी एवं दास अनुचर बन्छन् । नतिजा आलोचनात्मक शिक्षण विधिको रिक्ततामा भय, शंका र निगरानी मौलाउँछ । कक्षाकोठा तहसनहस पारिएका छन् । विद्यार्थी–शिक्षकबीचको मधुर सम्बन्ध अतीत बनिसकेको छ । शिक्षकको नाताले तापाईंले विद्यार्थीलाई फ्रेडरिक नित्सेको ‘ईश्वरको मृत्यु’ को व्याख्या वा ‘म न काबामा बस्छु न कैलाशमा’को विश्लेषण वा गान्धीको सन् १९४७–४८ को प्रार्थनाको महत्वबारे प्रश्न गरेको कल्पना गर्नुस् । आफैँले ‘ईश्वर अल्लाह तेरे नाम’को गीत गुनगुनाएको कल्पना गर्नुहोस् । यस अवस्थामा तपाईंमाथि एफआइआर दर्ज हुने सम्भावना र रोजगारदाताले तपाईंलाई निलम्बन वा निकाला गर्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन ।  

भयको वातावरणले सिकाइको संस्कृतिलाई मारिरहेको छ । अब हाम्रा कक्षाकोठामा अर्थपूर्ण ढंगले समाज विज्ञान पढाउन झन् कठिन हुँदै जानेछ । जब तपाईं शिक्षकका नाताले कुनै शब्द उच्चारण गर्नुभन्दा पहिले कैयौँपटक सोच्नुहुनेछ र तपाईंको लेक्चर रेकर्ड भइरहेको छ कि भनेर सशंकित हुनुहुनेछ वा प्रशासनले तपाईंले मार्क्स, गान्धी, अम्बेडकर, टेगौर, इकबाल, मन्टो वा प्रेमचन्दलाई कसरी पढाउनुपर्छ भनेर निगरानी गर्नेछ, तब कक्षाकोठाको अवसान भयो भनेर सोच्नुस् ।

के बृहत् शिक्षण समुदाय अशोक सोपानमाथि भएको अत्याचार हामीमाथि पनि दोहरिन सक्छ भनेर विरोधको स्वर उराल्न सक्छ ? वा मौन रहेर ‘सुरक्षित’ हुनेछ ?   
(प्रा. पाठकले जवाहरलाल नेहरू विश्वविद्यालयमा सन् १९९० देखि २०२१ सम्म पढाएका थिए) 
इन्डियन एक्सप्रेसबाट   

सुझावित समाचार