प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आधारभूत स्वास्थ्यमा सुधारका काम भएको बताएका छन् । यद्यपि, संविधानअनुरूप नागरिकलाई स्वास्थ्य सेवा दिन नसकिएको र सुधार गर्दै लैजाने उनले बताए ।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले कार्यभार सम्हालेको सय दिनका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य मन्त्रालयबाट धेरै राम्रा काम भएको र बजेट अभाव हुन नदिन नर्सिङ सेवामा देखिएका चुनौतीलाई नीतिगत सुधार गरैर लैजाने प्रतिबद्धता पनि जनाए ।
उनले स्वास्थ्य मन्त्रालयमा सुधारका काम भएकाले सय दिन पुगेको उपलक्ष्यमा आफू उपस्थित भएको बताए । ‘यस्ता कार्यक्रममा प्रधानमन्त्री गइहाल्ने धेरै आवश्यकता पनि हुँदैन । तर, स्वास्थ्य मन्त्रालयमा जुन उत्साह र गतिका साथ मोहनबहादुरजी अगाडि जानुभएको छ, उहाँले निम्त्याएपछि अन्त नगए पनि स्वास्थ्य मन्त्रालयमा जानुपर्छ भनेर उपस्थित भएँ,’ प्रचण्डले भने ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सुर्तीजन्य पदार्थबाट उठेको करबाट क्यान्सरपीडित बिरामीको उपचार गरिने बताए । बस्नेतले सुर्तीजन्य पदार्थबाट प्राप्त गरेको ६ अर्बभन्दा बढी रकम स्वास्थ्य मन्त्रालयलाई दिनुपर्ने बताए । ‘यस वर्ष बजेटमा मन्त्रालयलाई २० प्रतिशत कम बजेट आएको छ, तर हामीले भएको स्रोत–साधन परिचालन गरेर स्वास्थ्य सेवा सहज बनाउँछौँ,’ मन्त्री बस्नेतले भने, ‘दुर्गमका मानिसले स्वास्थ्यकर्मीको अनुहार देख्न नपाउने अवस्था थियो, त्यसको अन्त्य भएको छ ।’

कोही पनि नेपाली गरिबीका कारण उपचार नपाएर मृत्यु हुनुपर्ने अवस्थाको अन्त्य गर्ने उनले प्रतिबद्वता जनाए । साथै, मन्त्री बस्नेतले देशभर काम नलाग्ने गरी थन्किएका स्वास्थ्य उपकरण मर्मत र परिचालन गर्न पनि सुरु भएको जानकारी दिए । उनका अनुसार जहाँ अपुग छ त्यहाँ उपकरण पठाइएको छ भने भारतले अनुदानमा दिएका उपकरण पनि अस्पताललाई पठाइएको छ ।
मन्त्री बस्नेतले प्रस्तुत गरेका सय दिनका काम
- राष्ट्रिय स्वास्थ्य वित्त रणनीति (२०८०–२०९०)को प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रिय स्वास्थ्य वित्त रणनीति कार्यान्वयन कार्ययोजनाको मस्यौदा तयार
- गरिब तथा विपन्न नागरिकको उपचारमा कुल शड्ढयाको १० प्रतिशत जनरल शड्ढया निःशुल्क गर्नका लागि स्थानीय, प्रादेशिक र संघीय सरकारी, सामुदायिक तथा निजी अस्पतालमा परिपत्र
- संघअन्तर्गतका अस्पतालबाट कुल तीन हजार पाँच सय २३ बेड निःशुल्क उपलब्ध
- वीर अस्पतालमा भिभिआइपी र भिआइपीका लागि तीनवटा उपचार कक्ष थप गरी पाँचवटा पु¥याइएको
- भिभिआइपी र भिआइपीको उपचारका लागि विज्ञ चिकित्सकसहितको टोली गठन भएको र उपचारको सहज व्यवस्था मिलाइएको
- वीर अस्पतालसहित देशभरका अधिकांश अस्पतालमा अनलाइन टिकटिङ व्यवस्था लागू गरिएको
- वीर अस्पतालमा बिहानैदेखि ओपिडी खुला
- मधेस र लुम्बिनी प्रदेशले यही अवधारणाअनुरूप प्रादेशिक अस्पताल व्यवस्थापन,
- कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम प्रदेश तथा स्थानीय तहमा समायोजन भएका, तर सम्बन्धित कार्यालयमा हाजिर हुन नगएका कर्मचारी र स्थानीय तहको आपसी सहमतिका आधारमा कामकाजमा खटाइएका कर्मचारीलाई पदाधिकार रहेको स्वास्थ्य संस्थामा फिर्ता
- तीन महिनाको अवधिमा २० जना विशेषज्ञ चिकित्सक मन्त्रालयलाई प्राप्त भएकोमा सबैलाई काठमाडौं उपत्यकाबाहिरका अस्पतालमा खटाइएको
- तीन महिनाको अवधिमा औषधि व्यवस्था विभागबाट नौ सय ९१ वटा औषधि पसल र ३१ वटा स्वदेशी औषधि उद्योग निरीक्षण गरी २५ वटा औषधि पसललाई निलम्बन तथा दुईवटा औषधि उद्योगलाई कारबाही
- तीन महिना अवधिमा औषधि व्यवस्था विभागबाट पाँच सय पाँचवटा नयाँ औषधि पसल दर्ता
- १४ वटा नयाँ विदेशी कम्पनी दर्ता र दुईवटा नयाँ औषधि उद्योग स्थापना सिफारिस
- निजी मेडिकल कलेज तथा अस्पतालमा अनुगमन गरी गरिब तथा विपन्न नागरिकलाई १० प्रतिशत निःशुल्क बेड उपलब्ध गराइएको
- डेंगुको निदान, व्यवस्थापन, रोकथाम तथा नियन्त्रणका लागि विस्तृत कार्ययोजना तयार
- विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाका हजारभन्दा बढी स्वास्थ्यकर्मीलाई डेंगुको निदान तथा उपचारबारे अभिमुखीकरण तालिमलगायत