स्पेनले समुद्र तटलाई जलवायु परिवर्तनबाट जोगाउन ड्रोन तैनाथ गर्न थालेको छ।
जलवायु परिवर्तनको असरबाट देशका समुद्र तटहरूलाई जोगाउन स्पेनले केही भागहरूमा यसरी ड्रोनहरू तैनाथ गरिएको हो। स्पेनको समुद्र तटहरू विश्वव्यापी ख्याति कमाएका पर्यटकीय गन्तव्यहरू हुन्।
यी समुद्री तटहरूबाट स्पेनले धेरै आम्दानी गरिरहेको छ। स्पेन सरकारले समुद्री तटको संरक्षण गर्न मद्दतका लागि, उच्च–रिजोल्युसन भएका क्यामेराहरू र मल्टिस्पेक्ट्रल सेन्सरहरूले जडान गरिएका ड्रोनहरू उडाउन थालेको छ।
यी ड्रोनहरूले बालुवाको मात्रा अनुगमन गर्न, डेटा संकलन गर्न र समुद्र तटहरूलाई पुनर्जीवित गर्ने उपायहरू ट्रयाक गर्न सूचना संकलन गर्दछन्। स्पेनको उत्तरपूर्वी क्षेत्र क्याटालोनियामा रहेको कालाफेल सहरले जलवायु परिवर्तन अनुकूलन उपायहरूका लागि युरोपेली युनियनको इम्पेटस परियोजनामा भाग लिइरहेको छ।
स्थानीय टिब्बा प्रणालीलाई पुनः उत्पन्न गर्न र सहरको ४.२ किलोमिटर समुद्र तटहरूलाई खराब मौसमबाट बचाउन क्यालाफेलमा ड्रोनहरू प्रयोग भइरहेका छन्।
क्यालाफेलका सहरी इकोलोजी काउन्सिलर आरोन मार्कोसले समुद्री तटहरूमा पहिले नै उल्लेखनीय सुधार गरेकोले समुद्री आँधी र छाल रोक्न सक्ने बताए।
ड्रोनले समुद्री किनारमा हुने बदलावको निरन्तर अनुगमन गर्ने र डाटा संकलन गर्ने भएकाले काम गर्न सजिलो भएको बताए। यो परियोजना सन् २०२५सम्म जारी रहनेछ।
(सिन्ह्वा समाचारको सहयोगमा न्युज एजेन्सी नेपालले तयार परेको सामग्री)