खुकुलो भयो आयात र विदेशी मुद्रा सटहीको व्यवस्था

अब तयारी पोसाकमा मात्रै होइन, अन्य १६ प्रकारका निर्यातयोग्य वस्तुको कच्चा पदार्थ आयातमा समेत ब्याक टु ब्याक एलसी सुविधा

मंगलबार, २३ साउन, २०८०
डिजिटल संस्करण

नेपाल राष्ट्र बैंकले आयात र विदेशी मुद्रा सटहीसम्बन्धी व्यवस्थालाई खुकुलो बनाएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयन गर्ने सन्दर्भमा केन्द्रीय बैंक विदेशी मुद्रामा भुक्तानी दिँदा आवश्यक पर्ने सटही सुविधामा लचिलो भएको हो । 

 निर्यात उद्योगलाई ब्याक टु ब्याक एलसी सुविधा
निर्यातयोग्य तयारी वस्तु उत्पादन गर्ने उद्योगलाई कच्चा पदार्थ आयातमा सुविधा दिइएको छ । खासगरी नेपाल एकीकृत व्यापार रणनीति, २०८० मा उल्लिखित वर्तमान वस्तुहरू उत्पादन गर्ने उद्योगहरूलाई कच्चा पदार्थ आयातमा सुविधा दिइएको हो । यो रणनीतिअनुसार वर्तमान वस्तुहरूमा अलैँची, अदुवा, दलहन, जुट, चिया, जडीबुटी तथा सुगन्धित वनस्पति, हाते कागज, रोजिन एन्ड टर्पेन्टाइल, फलाम तथा स्टिल, धागो र कपडा, जुत्ता, तयारी पोसाक, गलैँचा, गहना, पश्मिना, पास्ता र ऊनबाट बनेका सामान रहेका छन् । नयाँ व्यवस्थाअनुसार यस्ता वस्तु उत्पादन गर्ने उद्योगलाई ब्याक टु ब्याक प्रतीतपत्रमार्फत आयात गर्न दिने उल्लेख छ । हालसम्म यस्तो सुविधा तयारी वस्तु निर्यातमा मात्रै दिइएको थियो ।

 के हो ब्याक टु ब्याक एलसी ?
यस्तो सुविधाअन्तर्गत एउटै कारोबारका लागि दुईवटा प्रतीतपत्र जारी गर्न सकिने हुन्छ । जसमा एउटा प्रतीतपत्रले अर्काे प्रतीतपत्रका लागि कोलेटरलको काम गर्छ । खासगरी खरिदकर्ता र बिक्रीकर्ताका बीचमा एजेन्टको प्रयोग हुने अवस्थामा ब्याक टु ब्याक एलसीको प्रयोग हुने गरेको छ । यसमा खरिदकर्ताका तर्फबाट मध्यस्थकर्ताका लागि एउटा एलसी खोलिन्छ भने मध्यस्थकर्ताका तर्फबाट बिक्रीकर्ताका लागि अर्काे एलसी खोलिन्छ । जसबाट बिक्रीकर्ताले ढुक्क भएर आफ्नो उत्पादन निर्यात गर्न सक्छ । कतिपय अवस्थामा यस्तो किसिमको एलसी खोल्दा खरिदकर्ता र बिक्रीकर्ताबीच चिनजानसमेत नहुने स्थिति हुन सक्छ । 

केन्द्रीय बैंकले प्रतीतत्रबाहेक डकुमेन्ट अगेन्स्ट पेमेन्ट (डिएपी र डकुमेन्ट अगेन्स्ट एसेप्टेन्स– डिएए)मार्फत वस्तु आयात गर्दा लाग्ने सीमा बढाएको छ । भारतबाहेकका मुलुकबाट आयात गर्दा एकपटकमा ५० हजार अमेरिकी डलरसम्म मात्रै वस्तु आयात गर्न पाइन्थ्यो । अब यस्तो आयात ६० हजार डलरसम्मको गर्न पाइने भएको छ । अहिलेको नयाँ सुविधा उपयोग गर्दा अघिल्लो व्यवस्थाअनुसार प्रक्रियाबाट सामान सिपमेन्ट गरेको सात दिन कटेको हुनुपर्ने उल्लेख छ । डकुमेन्ट अगेन्स्ट एसेप्टेन्सको (डिएए)मार्फत भारतबाट वस्तु आयात गर्दा यो सीमा तीन करोड भारतीय रुपैयाँ तोकिएको छ । 

त्यस्तै, आवश्यक सेवा सञ्चालन गर्ने सञ्चालकले प्रतीतपत्रविनै टिटी तथा ड्राफ्टमार्फत पटक–पटक गरी वस्तु आयात गर्दा सिपमेन्ट भएको सात दिन कुर्नुनपर्ने भएको छ । उद्योग र व्यापारिक संस्थाले विद्युतीय भुक्तानी प्रणालीमार्फत राजस्व तिरेर आयात गरेमा धरौटीको सीमा कम हुने भएको छ । यसरी गरिने आयात हकमा धरौटी राख्नुपर्ने व्यवस्था खुकुलो भएको हो । 

विद्युतीय भुक्तानी प्रणाली लागू भएका भन्सार कार्यालयहरूमार्फत वस्तु आयात गर्दा उद्योगको हकमा १ प्रतिशत र व्यापारिक संस्थाको हकमा ३ प्रतिशत धरौटी राख्नुपर्ने व्यवस्था गरेको छ । अन्य भन्सार कार्यालयहरूमा उद्योगले २ प्रतिशत र व्यापारिक संस्थाले १० प्रतिशत राख्नुपर्ने व्यवस्था कायमै छ । 

 स्वदेशी वायुसेवा सञ्चालकलाई सुविधा
वायुसेवा सञ्चालकलाई सेवा आयातबापत एक लाख अमेरिकी डलरसम्मको सटही सुविधा दिने उल्लेख छ । हालसम्म यस्तो सुविधा ५० हजार डलरमा मात्रै सीमित थियो । यसअघि वायुसेवा सञ्चालक संस्थाका प्राविधिक कर्मचारीको तालिम लिन जाने प्रयोजनका लागि यो सीमा लागू नहुने व्यवस्था थियो । तर, अब स्वदेशी वायुसेवा सञ्चालक कम्पनीहरूको हकमा मात्रै सीमा नलाग्ने भएको छ । त्यस्तै, स्वदेशी वायुयानले विदेशी सरकार वा विमानस्थललाई तिर्नुपर्ने रकमका लागि समेत यो सीमा नलाग्ने उल्लेख छ । 

 सफ्टवेयर निर्यात गर्ने उद्योगलाई सुविधा
राष्ट्र बैंकले सूचनाप्रविधिसम्बन्धी सेवा निर्यात गर्ने उद्योग वा व्यवसायलाई समेत विदेशी मुद्रामा सुविधा दिएको छ । खासगरी विदेशमा सम्पर्क कार्यालय स्थापना गर्नका लागि विदेशस्थित आफ्नै बैंक खातामा पैसा पठाउनुपरेमा अघिल्लो आर्थिक वर्षमा आर्जन गरेको विदेशी मुद्राको १० प्रतिशतसम्म विदेशी मुद्रा सुविधा पाउने उल्लेख छ । त्यस्तै, सफ्टवेयर, प्रोगाम वा उपकरण खरिद गरी विदेशमै जडान गर्नसमेत उद्योग–व्यवसायले यो सुविधा प्राप्त गर्न पाउने उल्लेख छ ।

कुमारी, हिमालयन र प्राइम बैंक कारबाहीमा
नेपाल राष्ट्र बैंकले तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ । आर्थिक वर्ष ०७९/८० को चौथो त्रैमास सुपरिवेक्षण विभागको प्रतिवेदनअनुसार कुमारी बैंक, हिमालयन बैंक र प्राइम कमर्सियल बैंक कारबाहीमा परेका हुन् । नियामकीय व्यवस्था उल्लंघन गर्ने वाणिज्य बैंकलाई कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले तोकेको ९० प्रतिशत कर्जा निक्षेप अनुपात (सिडी रेसियो) कायम नगर्दा कुमारी बैंक र हिमालयन बैंकलाई नगद जरिवानासहित कारबाही गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

कुमारी बैंकले गत आर्थिक वर्षको माघमा सिडी रेसियो नपुर्याउँदा राष्ट्र बैंकले ५९ लाख ६३ हजार ६ सय ९४ रुपैयाँ नगद जरिवाना गराएको छ । त्यस्तै, हिमालयन बैंकले पनि आर्थिक वर्षको कात्तिकमा सिडी रेसियो नपुर्याउँदा एक करोड ३९ लाख ४७ हजार २८ रुपैयाँ जरिवाना गराएको छ ।

प्राइम कमर्सियल बैंकलाई भने राष्ट्र बैंकले सचेत गराएर छाडेको छ । बैंकले संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ को निर्देशन नं २ बमोजिम कायम गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था कायम नगरेको राष्ट्र बैंकले जनाएको छ । प्राइम बैंकले ‘क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५’ अनुसार जोखिमभारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको उल्लेख छ । 

सुझावित समाचार