
सर्वाेच्च अदालतको पछिल्लो आदेशसँगै ललितानिवास जग्गा हिनामिनाको अनुसन्धान उच्चपदस्थमाथि केन्द्रित भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग पनि बयान लिने तयारी गरेको छ ।
सर्वाेच्चले आइतबार मन्त्रिपरिषद्का निर्णय तथा निर्णयकर्तामाथि पनि अनुसन्धान आदेश दिएको थियो । सोहीअनुसार पूर्वप्रधानमन्त्रीहरूको बयान लिने तयारी भएको हो । ‘अदालतको आदेशमाथि परामर्श गरिरहेका छौँ,’ सिआइबीका एक उच्च अधिकारीले भने, ‘बयान सबैको लिनुपर्छ भन्ने छ, मुद्दा दायरको हकमा संलग्नताअनुसार निर्णय हुन्छ ।’
सर्वाेच्चको आदेशपछि सोमबार महान्यायाधिवक्ता डा. दीनमणि पोखरेल र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलगायतका अधिकारीबीच उच्चपदस्थको बयान लिने र थप प्रमाण खोज्ने विषयमा छलफल भएको थियो । सिआइबीले हाल लिखत किर्तेमा संलग्नमाथि अनुसन्धान केन्द्रित गरेको छ । लिखत किर्ते गरी मन्त्रिपरिषद्लाई झुक्याएको अहिलेसम्मको सिआइबी अनुसन्धानको निष्कर्ष छ । त्यसमा तत्कालीन मन्त्रीसम्मका व्यक्तिको संलग्नता देखिएको आधारमा सिआइबीले अनुसन्धान गरिरहेको छ । तर, अनुसन्धान प्रतिवेदनमा नीतिगत निर्णयमा संलग्नमाथि अनुसन्धान नगरेको भन्दै अदालतले प्रश्न उठाएपछि सिआइबी समस्यामा परेको हो ।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग बयान लिएको थियो । तर, मन्त्रिपरिषद्को नीतिगत निर्णयमाथि भ्रष्टाचार मुद्दा चलाउन नमिल्ने प्रावधानका कारण मन्त्रीहरूविरुद्धसम्म मुद्दा चलेको थियो । पूर्वप्रधानमन्त्री नेपाल पूर्वनिर्धारित कार्यक्रमअनुसार सोमबारदेखि युरोप भ्रमणमा निस्किएका छन् ।
सिआइबीले पूर्वमुख्यसचिव लीलामणि पौडेलसँग यसअघि नै बयान लिइसकेको छ । तत्कालीन मन्त्रीहरू विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशीलगायतविरुद्ध पक्राउ पुर्जी नै जारी भइसकेको छ ।
सिआइबीको अनुसन्धानमा लिखत किर्तेमा प्रत्यक्ष रूपमा मन्त्रिपरिषद्को संलग्नता देखिएको छैन । तर, संगठित अपराध मुद्दा पनि जोडिएको र जग्गा फिर्ता ल्याउनुपर्ने भएकाले उच्चपदस्थ पनि तानिन सक्ने स्रोतको भनाइ छ ।
सिआइबीसँग यो मुद्दाको अनुसन्धानका लागि अब करिब दुई साताको समय छ । संगठित अपराधको मुद्दामा आरोपी पक्राउ परेको ६० दिनभित्र अभियोग दर्ता गरिसक्नुपर्ने प्रावधान छ । सोमबार ४२ दिन पुगिसकेको छ । अनुसन्धान प्रतिवेदन अध्ययन र अभियोग तयार गर्न सरकारी वकिलले कम्तीमा एक साताको समय मागेको छ । जसअनुसार आगामी साता सिआइबीले अनुसन्धान सक्नुपर्ने हुन्छ ।
सिआइबीकी निर्देशक एआइजी किरण बज्राचार्यले ललितानिवास प्रकरणको अनुसन्धान तीव्र रूपमा भइरहेको बताइन् । सर्वाेच्च अदालतको आदेशपछि त्यस विषयमा थप छलफल गरी अनुसन्धान अघि बढाउने उनको भनाइ छ । ‘सर्वोच्चको आदेशबारे छलफल गरिरहेका छौँ, निष्कर्ष अनुसन्धान अघि बढ्छ,’ उनले भनिन् ।
अनुसन्धानमा सघाउने पूर्वप्रधानमन्त्रीद्वय भट्टराई र नेपाल तथा पूर्वमन्त्री जोशीको सार्वजनिक प्रतिबद्धता
सर्वोच्च अदालतले ललितानिवासको जग्गा हिनामिनामा सहयोग पुग्ने गरी मन्त्रिपरिषद्बाट भएका निर्णयमा संलग्न पदाधिकारीमाथि पनि छानबिन गर्न आदेश दिएपछि पूर्वप्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई र माधव नेपालले अनुसन्धानमा सघाउन तयार रहेको प्रतिक्रिया दिएका छन् । भट्टराईले सामाजिक सञ्जालबाट र नेपालले सचिवालयमार्फत धारणा सार्वजनिक गर्दै सिआइबीको अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाएका हुन् ।
‘ललितानिवासलगायत जुनसुकै प्रकरणमा राज्यका मन्त्रिपरिषद्लगायत सबै तहबाट भएका निर्णयउपर निष्पक्ष छानबिन गरेर कानुनविपरीत, राज्यलाई नोक्सान हुने, निजी लाभ लिने ढंगले कार्य भएगरेको भए जतिसुकै उच्च तहको व्यक्ति भए पनि कानुनअनुसार कारबाही गरिनुपर्छ र देशमा विधिको शासन कायम गरिनुपर्छ भन्ने मेरो आजीवन मान्यता र प्रतिबद्धता रहेको छ । अतः मेरो प्रम कालमा भएका सबै निर्णयको निष्पक्ष छानबिन गर्न र आवश्यक कारबाही गर्न सरकार र सम्बन्धित निकायलाई मेरो विनम्र आग्रह छ,’ भट्टराईले फेसबुकमा लेखेका छन्, ‘ललितानिवास प्रकरणमा सम्मानित सर्वोच्च अदालतले दिएको निर्देशनअनुरूप छानबिन भएमा त्यसमा पूर्णरूपले सहयोग गर्न मेरो प्रतिबद्धता रहेको छ । केही समय पहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनमा पनि मैले सहर्ष सहयोग गरेको सर्वविदितै छ ।’
त्यस्तै, नेपालले निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने धारणा सचिवालयमार्फत सार्वजनिक गरेका छन् । ‘आइतबार सर्वोच्च अदालतबाट भएको फैसलाका सन्दर्भमा उहाँ जानकार हुनुहुन्छ । सबै प्रकारका भ्रष्टाचार एवं अनियमितताको निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारबाही हुनुपर्छ र मुलुकमा सुशासन कायम गर्नुपर्छ भन्ने कुरामा उहाँको दृढ मान्यता रहेको छ,’ नेपालको सचिवालयले भनेको छ ।
पूर्वमन्त्री चन्द्रदेव जोशीले पनि सोमबार नै सामाजिक सञ्जाल फेसबुकमा लामो स्टेटस लेख्दै अनुसन्धान गर्ने निकायलाई पूरा सहयोग गर्ने बताएका छन् । ‘वर्तमान सरकारले चालेको भ्रष्टाचारविरोधी अभियानमा मेरो पूरै समर्थन छ । देशमा नासुरको रूपमा रहेको भ्रष्टाचार मेटियोस् भन्ने मेरो चाहना र अपेक्षा हो । लगातार त्यसैतर्फ मेरो राजनीतिसमेत लक्षित हुँदै आएको छ । अनुसन्धान निकायलाई मेरो पूरा सहयोग रहनेछ,’ उनले लेखेका छन् ।
तर, १८ असोज ०६९ मा ललितानिवासबारे मन्त्रिपरिषद्मा निर्णय हुँदा आफू मन्त्री पदमा नरहेको उनको भनाइ छ । ‘०६९ असोज १८ गते ललितानिवासबारे मन्त्रिपरिषद्मा निर्णय हुँदा म मन्त्री पदमा थिइनँ । मन्त्री पदबाट मैले त्यसअघि नै असोज ४ गतेको मितिमा राजीनामा गरिसकेको थिएँ । म ०६९ जेठ ३ देखि असोज ४ गते सम्म मात्र तत्कालीन बाबुराम भट्टराई मन्त्रिपरिषद्मा रहेको हुँ । पछि तत्कालीन मन्त्रिपरिषद्का अर्का सदस्य टोपबहादुर रायमाझीले मैले सम्हाल्दै आएको मन्त्रालय सम्हालेको जानकारी त्यसबखत पाएको हुँ । त्यसपछि मन्त्रिपरिषद्को सामाजिक समितिमा प्रस्ताव जाँदासमेत म मन्त्री पदमा थिइनँ । मैले मन्त्री पद छाडेपश्चात् भएको कुनै पनि निर्णयबारे मलाई जानकारी छैन । पछिल्लो समय समाचार माध्यम नै मेरो जानकारीका स्रोत भएका छन् ।’
जेजसो भए पनि अनुसन्धान निकायले गर्ने छानबिनमा पूरा सहयोग गर्ने उनको प्रतिबद्धता छ । ‘यसअघि पनि पटक–पटक जानकारी दिएअनुसार नै अदालतको दोस्रो ताकेतापछि अदालतको आदेश नमान्दा मानहानी गरिएको हुने अवस्था आएपछि लियाजो एजेन्सीको मन्त्रीका रूपमा मेरोमार्फत निर्णयका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजान मैले सहमति मात्र दिएको हो । सोसम्बन्धी निर्णय प्रक्रियामा मेरो कुनै सहभागिता छैन,’ उनले लेखेका छन्, ‘जेजसो भए पनि अनुसन्धान निकायले गर्ने छानबिनलाई मेरो पूरा सहयोग रहनेछ ।’