बढ्यो आँखा पाक्ने समस्या, रोकथाम यसरी गरौँ

सोमबार, २२ साउन, २०८०
डिजिटल संस्करण

राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा पछिल्लो समय आँखा पाक्ने रोग (कन्जन्टिभाइटिस) बढिरहेको छ । विगत वर्षहरूमा पनि गर्मी र वर्षात्को समयमा धेरैमा यस्तो समस्या देखिने गरेको थियो । यस मौसममा अधिकांशमा एडिनो भाइरसका कारण यो समस्या देखिएको पाइन्छ । 

लक्षण 

  • आँखा रातो हुन्छ । एउटा आँखाबाट अर्को आँखामा संक्रमण सर्न सक्छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ । 
  • सुरुसुरुमा आँखाबाट बढी आँसु आउने हुन्छ । घाम वा उज्यालोमा हेर्न गाह्रो हुन्छ । आँखा चिलाउन सक्छ । 
  • बिहानको समयमा चिप्राले आँखा टाँस्सिएका हुन्छन् । आँखाका डिल सुन्निएका हुन्छन् । 
  • कसैकसैमा आँखाको नानीसम्म समस्या देखिएर दृष्टि मधुरो हुने जोखिम पनि रहन्छ । धेरै लापरवाही गर्नेमा यस्तो समस्या देखिने गरेको छ । त्यसैले आँखा रातो हुनेबित्तिकै सतर्कताका उपाय अवलम्बन गर्नुपर्छ । 

उपचार 
एडिनो भाइरसले देखिने समस्या सामान्यतः एकदेखि दुई हप्तासम्म निको हुन्छ । तर, आँखा रातो हुने समस्या अन्य कारणले पनि निम्तिन सक्छ । किराफट्यांग्रा आँखामा परेर, केमिकलका कारण, एलर्जी, ब्याक्टेरियल, एडिनो भाइरस वा अन्य कुनै कारणले भएको हो भनेर पत्ता लगाउने काम चिकित्सकले गर्छन् । त्यसैले समस्या देखिएपछि चिकित्सकलाई देखाउनु राम्रो हुन्छ । 

भाइरल संक्रमणका लागि चिकित्सकले प्रायः थोपा र मलम प्रयोग गर्न दिन्छन् । त्यस्तै, संक्रमण थप नबढोस् भनेर औषधिका रूपमा एन्टिबायोटिक चलाउने गर्छन् । अधिकांशलाई एक हप्तादेखि दुई हप्तासम्म निको हुन्छ ।

सतर्कता 

  • यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्न सक्छ । मानिसले आँखा चिलाएपछि त्यसमा हातले चलाउन सक्छन् । त्यसक्रममा हातमा चिप्रा पर्छ । त्यही हातले अर्को आँखामा छुँदा अर्को आँखा पनि संक्रमित हुन सक्छ । बिरामीले प्रयोग गर्ने रुमाल, कपडा, सिरानीको खोल, तन्ना अर्को व्यक्तिले प्रयोग गर्दा रोग सर्न सक्छ । 
  • आँखा रगड्नु हुँदैन । चिसो पानीमा सफा कपडा भिजाएर वा बरफलाई कपडाले बेरेर सेक्न सकिन्छ । दुईवटै आँखा संक्रमित छ भने फरक–फरक कपडा वा बरफ प्रयोग गर्नुपर्छ ।
  • आँखा सफा गर्दा डिस्पोजेबल टिस्यु पेपर प्रयोग गर्न सकिन्छ । सफा रुमालले पनि सफा गर्न सकिन्छ । 
  • आँखामा रहेको चिप्रा सफा गर्नुअघि र गरिसकेपछि साबुनपानीले हात धुन बिर्सनुहुँदैन । 
  • आँखा पाकेपछि सकभर बाहिर निस्कनुहुँदैन । बच्चालाई स्कुल पठाउन भएन । कामकाजी व्यक्तिहरू कार्यालय जान भएन । आइसोलेसनमा बस्नु राम्रो हुन्छ । भिडभाडमा जान हुँदैन ।
  • बाहिर निस्कनैपरे कालो चस्मा लगाएर जानु राम्रो हुन्छ । यसो गर्दा अन्य व्यक्तिमा संक्रमण सर्ने जोखिम कम हुन्छ । आँखामा धुलो–धुवाँ पनि पर्न पाउँदैन । हेर्न पनि सजिलो हुन्छ । 
  • शृंगारको सामग्री चलाउन भएन । मेकअपमा केमिकल हुने भएकाले त्यसले आँखामा असर गर्न सक्छ । 
  • आफूखुसी औषधि प्रयोग गर्नुभएन । चिकित्सकलाई देखाएर मात्रै औषधि प्रयोग गर्नुपर्छ । 
  • यस समय बिरामीले खानपानमा पनि ध्यान दिनुपर्छ । भिटामिनयुक्त खानेकुरा, जस्तै– हरियो सागसब्जी दूध, फलफूलको प्रयोग यस समय अलि बढी गर्नु राम्रो हुन्छ । पानी पर्याप्त पिउनुपर्छ ।

सुझावित समाचार