हिजोआज व्यस्तताका कारण मानिसहरूको लन्च वा डिनर गर्ने रुटिन बिग्रिरहेको हुन्छ । उनीहरू ढिलासम्म काममा घोत्लिन्छन्, रातिसम्म ल्यापटप, कम्प्युटरमा काम गरिरहेका हुन्छन् वा मोबाइलमा झुम्मिरहेका हुन्छन् । ढिला खान्छन् र सुत्छन् । जसको प्रत्यक्ष प्रभाव उनीहरूको दिनचर्यामा पर्छ । परिणामस्वरूप, भोलिपल्ट ढिला उठ्छन् । यसले प्रेसर, अनिद्रा, थकान, मोटोपनलगायत विभिन्न रोग बढाइरहेको छ । केवल पोषणयुक्त खानपानले मात्रै मानिस स्वस्थ रहन सक्दैन । खाने समय पनि सही हुुनुपर्छ । शदियौँदेखिको मान्यता बेलुकीको खाना समयमै लिनुपर्छ भन्ने छ ।
सशस्त्र प्रहरी अस्पतालका जनरल फिजिसियन डा. रोशन झा चाँडो खाना खाँदा राम्रो निद्रा पर्ने बताउँछन् । ‘समयमै डिनर लिँदा निद्रा राम्रो लाग्छ । मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल, मोटोपनलगायत समस्या बढ्नुको मुख्य कारण नै मानिसको अव्यवस्थित खानपान हो,’ उनले भने । जतिसुकै व्यस्त भए पनि बेलुकी ७ बजेभित्र डिनर गरिसक्नु राम्रो हुने उनले बताए ।
आयुर्वेद क्याम्पस कीर्तिपुरका उप–प्रधाध्यापक डा. युगराज सापकोटा आयुर्वेदमा घाम अस्ताउनुअघि नै डिनर गर्नुपर्ने उल्लेख भएको बताउँछन् । ‘आयुर्वेदले बेलुकीको खाना घाम अस्ताउनुअघि नै लिनु भन्छ । त्यसैले डिनरमा ढिलाइ गर्नुहुन्न । समयमै डिनर गरेर त्यसको तीन वा चार घन्टापछि सुत्नु राम्रो हुन्छ,’ उनले भने, ‘ढिला खाने र खाएलगत्तै सुत्ने गर्दा विभिन्न रोग लाग्ने जोखिम रहन्छ । निद्रा राम्रो लाग्दैन । अनिद्राका कारण मानसिक रोग विकराल बनिरहेको छ । यसले जीवनलाई अव्यवस्थित बनाउँछ ।’
चाँडै खानुका फाइदा
- चाँडै खाना खाएर तीन घन्टापछि सुत्दा राम्रो निद्रा लाग्छ । जब कि ढिला डिनर गरेर तत्कालै सुत्दा अनेकौँ समस्या आउन सक्छ । खानासाथ सुत्दा पाचन प्रणालीमा समस्या देखिन सक्छ ।
- मोटोपनका कारण चिन्तित भएका मानिसले डिनर चाँडै लिनुपर्छ । त्यसपछि केही ग्याप राखेर सुत्दा राम्रो निद्रा पर्छ । बिहान सबेरै उठ्ने बानी बस्छ र मानिस फ्रेस रहन्छ ।
- कब्जियतको समस्या कम भएर जान्छ । चाँडै डिनर गर्दा शरीरमा ऊर्जा कायम रहन्छ । ढिला डिनर गर्नेहरूमा मुटुसम्बन्धी समस्या देखिने जोखिम रहन्छ । रातको खाना ढिलो खाँदा एसिडिटी तथा पेटसम्बन्धी विभिन्न समस्या देखिन्छन् ।
ग्यापमा के गर्ने ?
रातिको खाना लिइसकेपछि तत्कालै सुत्न हुँदैन । कम्तीमा ३ देखि ४ घन्टाको ग्याप राख्नुपर्छ । यस अवधिमा बज्रासन, बालासनलगायत केही योगाभ्यास गर्न सकिन्छ । पुस्तक पढ्न पनि सकिन्छ । श्वासप्रश्वासलाई नियालेर केही समय एकाग्र भएर बस्दा मुड फ्रेस रहन्छ र निद्रा मिठो लाग्छ । सुत्नुअघि माइल्ड संगीत पनि सुन्न सकिन्छ । संगीतले शरीरमा बेग्लै ऊर्जा ल्याउँछ । केही समय मेडिटेसन पनि गर्न सकिन्छ । सामाजिक सञ्जालको लतका कारण पनि मानिसको निद्रा बिग्रिरहेको हुन्छ । त्यसैले स्क्रिन टाइमलाई पनि नियन्त्रणमा राख्न जरुरी छ ।
के खाने ?
शारीरिक तथा मानसिक रूपमा आराम गर्ने समय भएकाले बेलुकी कम खाँदा राम्रो हुन्छ । सुत्ने समयमा शरीर धेरै सक्रिय नहुने भएकाले धेरै खाँदा पचाउन कठिन हुन्छ । प्रोटिन र कार्बाेहाइड्रेट ठिक्क मात्रा भएको खानेकुरा खानुपर्छ । सकभर मौसमी फलफूल तथा तरकारी लिनुपर्छ । सुत्नुअघि दूध, मनतातो पानी खानु राम्रो हुन्छ । ‘निद्रा नलाग्ने समस्या भएकाले सुत्नुअघि दूधमा अष्टगन्धा मिसाएर पिउनु राम्रो हुन्छ,’ डा. सापकोटाले भने ।