सम्भव छ भोकमरीमुक्त विश्व निर्माण

आइतबार, २१ साउन, २०८०
डिजिटल संस्करण

सन् २०३० सम्ममा सबैका निम्ति खाद्य सुरक्षा सुनिश्चित गर्ने विश्वव्यापी लक्ष्य पूरा गर्न सक्छौँ 

यो वर्ष संयुक्त राष्ट्रसंघले सन् २०१५ मा अघि सारेको महत्वाकांक्षी विश्वव्यापी लक्ष्य अर्थात् दिगो विकास लक्ष्य (एसडिजी) हासिल गर्न तय गरेको समयको आधा समय पूरा हुन्छ । यी १७ थान लक्ष्यहरू आजका सबैभन्दा ज्वलन्त चुनौतीको सामना गर्न, विश्वलाई दिगोपनको मार्गमा ल्याउन, गरिबी कम गर्न, स्वास्थ्य सेवा र शिक्षामा पहुँच सुधार गर्न, सन् २०३० सम्ममा जलवायु परिवर्तनका दुष्प्रभाव कम गर्न तयार पारिएका हुन् । तर, खाद्य असुरक्षा उन्मूलन गर्ने महत्व लक्ष्य पूरा गर्ने सन्दर्भमा विगतको एक दशकमा हासिल भएका अधिकांश प्रगति अहिले उल्टिएका छन् ।

दिगो विकास लक्ष्य (एसडिजी) सुरु गर्दा १५ वर्षभित्र विश्वभर खाद्य असुरक्षा र कुपोषण उन्मूलन गर्ने लक्ष्य महत्वाकांक्षी देखिए पनि त्यो पहुँचयोग्य नै थियो । त्यस समय, मुख्यतः बढ्दो कृषि उत्पादकत्व एवं विश्वव्यापी आर्थिक वृद्धिको कारण दुई दशकभन्दा बढी समयदेखि भोकमरीको स्तर कम हुँदै गएको थियो । 

तर, विगत केही वर्षयता कोभिड–१९ को महामारी, युक्रेनमा जारी युद्धदेखि जलवायु परिवर्तनका कारण उत्पन्न चरम मौसमी घटनासम्मका जटिल संकटले विश्वलाई आक्रान्त बनाउँदै लगेको छ । फलस्वरूप, विश्वव्यापी भोकमरीमा वृद्धि भएको छ र यसबाट विश्वका विपन्न मानिस सबैभन्दा बढी पीडित भएका छन् । 

संयुक्त राष्ट्रसंघको एउटा नयाँ प्रतिवेदनअनुसार पछिल्लो समय करिब ७३ करोड ५० लाख मानिसले खाद्य असुरक्षाको सामना गरिरहेका छन्, जुन सन् २०१९ को तुलनामा १२ करोड २० लाखले बढी हो । सोमालिया, अफगानिस्तान, बुर्किना फासो, हैटी, नाइजेरिया, दक्षिण सुडान र यमन गरी सातवटा देश अहिले अनिकालको संघारमा छन् । विश्व सन् २०३० सम्ममा भोकमरीशून्यमा पुग्ने अवस्थाबाट धेरै पर धकेलिएको मात्र छैन, सन् २०१५ को तुलनामा हाम्रो अवस्था अझ दयनीय बनेको छ । कोभिड–१९ महामारी, युक्रेन–युद्ध र जलवायु परिवर्तनले विगत एक दशकमा विश्वव्यापी भोकमरी र कुपोषण उन्मूलनका दिशामा भएका अधिकांश प्रगतिलाई उल्ट्याएको छ । तर, साना किसानलाई सहयोग गरेर हामी अझै पनि सन् २०३० सम्ममा सबैका निम्ति खाद्य सुरक्षा सुनिश्चित गर्ने विश्वव्यापी लक्ष्य पूरा गर्न सक्छौँ ।

त्यसो भए हामी यहाँबाट कता जान्छौँ त ? संयुक्त राष्ट्रसंघले लिएको शून्य भोकमरीको लक्ष्य पूरा गर्न हामीले सर्वप्रथम विश्वका अधिकांश गरिबको हुन् र तिनको अधिकांश खाद्यान्न कहाँबाट आउँछ भन्ने बुझ्नुपर्छ । यी दुवै प्रश्नको जवाफ आश्चर्यजनक रूपमा सरल छ । 

संसारका गरिब मानिसको बहुमत हिस्सा साना किसान हुन् र उनीहरूले नै धेरैजसो विकासशील देशमा खपत हुने अधिकांशजसो खाद्यान्न उत्पादन गर्छन् । यी किसानलाई प्रणालीगत चुनौतीहरूले गरिबी र खाद्य असुरक्षामा त फसाएको थियो नै उनीहरू विगत केही वर्षका विभिन्न झट्का(आघात)बाट पनि नराम्ररी प्रभावित भएका छन् । तथापि, अहिलेको संकटभित्र एउटा सुअवसर पनि छ । साना किसानलाई मद्दत गरेर अन्तर्राष्ट्रिय समुदायले विश्वव्यापी भोकमरी अन्त्य गर्ने दिशामा महत्व फड्को मार्न सघाउन सक्छन् ।

सरकार र अन्तर्राष्ट्रिय संस्थाहरूले साना किसानलाई सहयोग गर्न र विश्वव्यापी खाद्य असुरक्षालाई थुप्रै तरिकाले हटाउन सक्छन् । पहिलो, विकासोन्मुख मुलुकका अधिकांश साना किसानको बाली उब्जनी आफ्ना विकसित देशका समकक्षीको तुलनामा निकै कम छ । यसको मुख्य कारण उनीहरूसँग उन्नत बिउबिजन तथा जैविक मलखादको अभावजस्ता आधारभूत कुरा रहेका छन् । यो विशेषगरी सब–सहारा अफ्रिकामा स्पष्ट देख्न सकिन्छ, जहाँ मुख्य खाद्यबालीहरूको उत्पादन (उत्पादकत्व) विश्वव्यापी औसतभन्दा उल्लेखनीय रूपमा कम छ । जलवायु परिवर्तनसँग अनुकूलन गराउन मद्दत गर्ने खालका उच्च गुणस्तरका कृषि सामग्रीमा यी किसानको पहुँच बढाउनाले खाद्य सुरक्षामा ठूलो वृद्धि हुन सक्छ ।

दोस्रो, ऋणमा पहुँचको अभावले पनि अधिकांश साना किसानलाई उन्नत कृषि सामग्री खरिद गर्न वा आफ्नो खेतबारीमा लगानी बढाउन अवरोध गरिराखेको छ । यी किसानलाई वित्तीय सहायता प्रदान गर्ने कार्यक्रममा ठूलो विश्वव्यापी सहयोगले मद्दत गर्नेछ । तेस्रो, साना किसानले सामान्यतः वर्षमा एक वा दुईपटक बाली भित्र्याउने गर्छन् । यसको अर्थ उनीहरूले अर्काे बाली तयार नहोउन्जेलसम्मका लागि महिनौँ खाद्यान्न भण्डारण गरेर राख्नुपर्ने हुन्छ । उचित भण्डारण प्रविधिमा सीमित पहुँचको कारण, मुख्य खाद्यान्न अक्सर किरा, ढुसीलगायतबाट क्षति हुन पुग्छन्, जसले फसलपछिको बाली नोक्सानी र घरपरिवारको भोकमरीमा योगदान पुर्याउँछ । उन्नत भण्डारण प्रणालीमा यी साना किसानको पहुँच पुर्याउन आवश्यक छ । यसमा सुलभ मूल्यका कम लगानी पर्ने, किरा र ढुसी नपस्ने गरी सिलबन्द हुने खालका भण्डार थैला (बोरा) लगायत पर्छन्, जसले लामो समयसम्म अनाज संरक्षण गर्न र हानिकारक कीटनाशक हालेर अनाज भण्डारण गर्नुपर्ने आवश्यकतालाई पनि समाप्त गर्न सक्छ ।

अन्तमा, साना किसानलाई उनीहरूका उब्जनीका लागि बजारमा राम्रो पहुँच चाहिन्छ, । यसले उनीहरूलाई निर्वाहमुखी खेतीभन्दा बाहिर जान र भरपर्दाे जीविकोपार्जनको निर्माण गर्न सक्षम बनाउनेछ । अन्तर्राष्ट्रिय समुदायले स्थानीय क्षमतालाई अभिवृद्धि गर्न र कृषि मूल्य–शृंखलामा लगानीलाई प्रोत्साहित गर्न सार्वजनिक र निजी क्षेत्रसँग मिलेर अझ बढी काम गर्नुपर्छ । यसले थप साना किसानलाई दिगो व्यवसाय विकासका लागि समर्थ बनाउनेछ । सम्मुखमा भीमकाय चुनौतीका बाबजुद, शून्य भोकमरी हासिलको लक्ष्य एउटा व्यावहारिक लक्ष्य हो । आगामी सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने विश्वका नेताले दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा भएको प्रगतिको मूल्यांकन गर्ने नै छन् । यदि हामीले भोकमरीमुक्त विश्व निर्माण गर्ने हो भने कृषि र साना किसानलाई सहयोग गर्ने कुरा उनीहरूको शीर्ष कार्यसूची हुनुपर्छ । 

प्रोजेक्ट सिन्डिकेट 

(जोर्डन अन्नबालीहरूको अर्गानिक, विषादी एवं रसायनरहित कटानी, भण्डारण र ओसारपसारका लागि काम गर्ने सामाजिक उद्यम ग्रेनप्रोका सिइओ हुन्)

See More On

सुझावित समाचार