नेपाल ओलम्पिक कमिटीको आयोजना तथा कोरियन एन्टिडोपिङ एजेन्सी (काडा)को संयोजकत्वमा शनिबारदेखि दुईदिने ‘डोपिङ कन्ट्रोल अफिसर्स’ (डिसिओ)को प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । ओलम्पिक कमिटीको मुख्यालय सातदोबाटोमा सञ्चालन भएको कार्यक्रम दुई दिनसम्म चल्नेछ ।
यो कार्यक्रमपछि अब नेपालमै डिसिओको प्रशिक्षण दिन सकिनेछ । डिसिओ प्रशिक्षक प्रशिक्षण कार्यक्रम नेपालमा भएको यो पहिलोपटक हो । कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक समारोहबीच प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गरे । प्रशिक्षक प्रशिक्षणका लागि काडाबाट तीन विशेषज्ञ आएका छन् ।
प्रशिक्षकमा काडाका सिओओ म्युङ सु–किम, किजो हान र मिनजोङ सो छन् । कार्यक्रममा ६ जनाको सहभागिता रहेको छ । सहभागी हुनेमा चिकित्साकर्मीहरू सरोजकृष्ण श्रेष्ठ नबिसमानसिं प्रधान, ज्ञानेन्द्रविक्रम शाह, सुसन वैद्य, असीम सुवेदी र पूजा भण्डारी रहेका छन् । त्यसमध्ये श्रेष्ठ कमिटीअन्तर्गतको मेडिकल कमिसनका प्रमुख हुन् ।
कार्यक्रमका अवसरमा कमिटीका अध्यक्ष श्रेष्ठले नेपाली खेलकुदमा एन्टिडोपिङसम्बन्धी ज्ञानको महŒवमा जोड दिए । यस्तै, काडाका सिओओ सु–किमले नेपालमा एन्टिडोपिङसम्बन्धी प्रशिक्षक तयार हुन लागेकोमा खुसी व्यक्त गरेका छन् । नयाँ खेलकुद ऐनअनुसार नेपालमा नेपाल एन्टिडोपिङ एजेन्सी (नाडा) गठन हुने क्रममा छ । युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत यो स्वायत्त निकाय हुनेछ ।