सुन तस्करीबारे गहिरो अनुसन्धान गर्न सांसदहरूको माग

वास्तविकता बुझ्न डाकियो गृहमन्त्रीलाई

शनिबार, २० साउन, २०८०
डिजिटल संस्करण

सांसदहरूले सय किलो सुन तस्करी प्रकरणको विस्तृत अनुसन्धान गरेर दोषीलाई दण्डित गर्न माग गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबार बसेको बैठकमा उनीहरूले आगामी दिनमा घटना नदोहोरिने गरी अनुसन्धान गहिराइमा हुुनुपर्ने र संलग्न जोसुकैलाई दण्डित गर्नुपर्ने माग गरेका हुन् । यो प्रकरणको वास्तविकता बुझ्न समितिले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बोलाउने निर्णय पनि गरेको छ ।

समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले राज्य नै लुटपाटमा, भ्रष्टाचारमा लागेको र मुलुकको डरलाग्दो तस्बिर बाहिर आएकाले अर्काे बैठकमा गृहमन्त्रीसँग जवाफ लिने निर्णय भएको बताए । बैठकमा कांग्रेस महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले सुन तस्करीमा जोसुकै संलग्न भए पनि छानबिनको दायरामा ल्याउनुपर्ने बताए । ‘सुन कति समातियो होइन, कति उम्कियो ? राज्यसत्ताका वर्तमान वा पूर्वपदाधिकारीको संलग्नता छ कि छैन ? त्यसमा अनुसन्धान केन्द्रित हुनुपर्छ,’ उनले भने, ‘घटनामा जोसुकै संलग्न हुन्, छानबिनको दायरामा ल्याउनुपर्छ ।’ शर्माले सदनको अवरोध हटाएर सुनकाण्डमा प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ सुन्ने वातावरण बनाउन पनि माग गरे ।

रास्वपा सभापति रवि लामिछानेले सुनकाण्डको अनुसन्धान राजस्व विभागमै सीमित गर्नु उपयुक्त नहुने बताए । संगठित, अन्तर्देशीयलगायत विभिन्न अपराध जोडिएको भन्दै उनले पूर्वन्यायाधीश, सिआइबी र विज्ञहरू राखेर समिति बनाउन आवश्यक रहेको बताए । प्रधानमन्त्रीको सचिवालयमा बसेर आएका राजस्व अनुसन्धान विभागको महानिर्देशकको स्वार्थ बाझिने भएकाले बृहत् छानबिनको आवश्यकता बढेको उनको भनाइ थियो । प्रश्न उठिसकेपछि छानबिन हुनुपर्ने र निर्दाेष भए छानबिनले नै स्पष्ट पार्ने उनले ध्यानाकर्षण गराए ।

एमाले सांसद कृष्णगोपाल श्रेष्ठले सुनकाण्ड सामान्य विषय नभएकाले उच्चस्तरीय समिति बनाएर टुंगोमा पु¥याउनुपर्ने बताए । ‘यो विषय टुंग्याउन सकेनौँ भने हामी बेकम्मा हुन्छौँ । संसद्मै यो विषय अगाडि बढाऔँ,’ उनले भने । एमालेकै लीलानाथ श्रेष्ठले अहिलेको अनुसन्धानले टुंगोमा पु¥याउन नसक्ने भएकाले उच्चस्तरीय समिति बनाएर जानुपर्ने बताए । ‘एउटा राजस्वको उपसचिवले अर्थमन्त्री र सिआइबीले गृहमन्त्रीलाई बयानमा बोलाउन सक्दैन,’ उनले भने, ‘राष्ट्रिय–अन्तर्राष्ट्रिय गिरोह जोडिएको छ । अहिले सत्तापक्षकै नेताहरू जोडिएको पनि आइरहेको छ । त्यसैले शक्तिशाली समिति बनाउँ ।’ 

कांग्रेस दिलेन्द्र बडूले सुनकाण्ड छानबिन गरेर दण्डित गर्न नसके जनता र अन्तर्राष्ट्रिय जगत्मा राज्यको छवि धुमिल हुने र घटना दोहोरिरहने बताए । कांग्रेस सांसद ईश्वरी न्यौपानेले बैठकमा भनिन्, ‘क्विन्टलका क्विन्टल सुन नदेख्ने हाम्रो कस्तो सिस्टम ? जनतालाई के जवाफ दिने ?’

जसपा सांसद प्रकाश अधिकारीले सदन खुलाएर सुनकाण्डको विषय अगाडि बढाउँदा प्रभावकारी हुने बताए । ‘सदन अवरुद्ध हुँदा सुनकाण्ड लुकाउन चाहनेलाई त बल पुगिरहेको छैन ?’ उनले प्रश्न गरे । राप्रपाका बुद्धिमान तामाङले नेपाल अन्तर्राष्ट्रिय तस्करको केन्द्र बनिरहेको भन्दै छानबिन समिति बनाएर जानुपर्ने धारणा राखे ।

समितिका पदेन सदस्य एवं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सुनलगायत विभिन्न काण्डमा छानबिन सुरु गरेर सरकार सुशासन कायम गर्न लागिपरेको बताए । ‘सरकार कसैको पक्षमा छैन । आफ्ना नजिकको मान्छे बचाउ वा अर्काको कारबाही गर्ने होइन, सरकारले निष्पक्षता रूपमा दोषीलाई छोड्दैन । निर्दाेष फस्दैन,’ उनले भने ।

सुझावित समाचार