थुनामा पठाउने अदालतको आदेशपछि रुंगटा बेहोस, अस्पताल भर्ना

शुक्रबार, १९ साउन, २०८०
डिजिटल संस्करण

चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेलको मृत्यु प्रकरणमा किटानी जाहेरी परेका व्यवसायी प्रदीप रुंगटा अदालतको आदेशपछि बेहोस भएका छन् । आत्महत्या दुरुत्साहन मुद्दामा जिल्ला अदालत चितवनले बिहीबार पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि उनी बेहोस भएका हुन् । उनलाई अस्पताल भर्ना गरिएको छ ।

प्रहरीले खोजिरहे पनि घटना भएको तीन महिनापछि रुंगटा बिहीबार आफैँ अदालतमा हाजिर भएका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर कार्कीका अनुसार उनी भारतबाट निजी गाडीमा अदालत आएका हुन् । अदालतको आदेशपछि प्रहरीले गाडीमा कारागार लैजना खोज्दा उनी बेहोस भएपछि भरतपुर अस्पताल लगिएको थियो । रुंगटालाई चिकित्सको सुझावपछि कारागार लैजाने कि अस्पतालमै राख्ने भन्ने निर्णय हुनेछ । उनलाई थुनछेक बहस सकिएपछि न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले थुनामा राख्ने आदेश दिएको थियो । 

गत १९ वैशाखमा कँडेल नारायणगढस्थित आफ्नै कार्यालयमा मृत अवस्थामा भेटिएका थिए । कँडेलले आत्महत्याअघि लेखेको ‘सुसाइड नोट’मा अनमोल फिड्सका चार्टर्ड एकाउन्टेट जीवन रावल र सोही कम्पनीको ८५ प्रतिशत सेयर किनेका रुंगटाका कारण आफूले आत्महत्या गर्नुपरेको उल्लेख गरेका थिए । अर्का आरोपी अनमोल फिड्सका चार्टर्ड एकाउन्टेट रावल भने केही दिनअघि नै उच्च अदालत हेटौँडाबाट तारेखमा रिहा भएका थिए ।

उनी २२ वैशाखमा बाराको सिमराबाट पक्राउ परेका थिए । ५२ वर्षीय कँडेल नेपालका परिचित पोल्ट्री व्यवसायी, चितवन कांग्रेसका पूर्वकोषाध्यक्ष, वर्तमान महासमिति सदस्य एवं उद्योग वाणिज्य संघ चितवनका पूर्वकार्यसमिति सदस्य पनि थिए । 

See More On

सुझावित समाचार