धार्चे गाउँपालिका– ४ लाप्राकका पुरबहादुर गुरुङ (युक्त)ले १२ दिनमा आठ हजार मिटरभन्दा अग्ला चार हिमालको सफल आरोहण गरेका छन्।
आरोहीहरूको गाउँ भनेर चिनिने लाप्राकका गुरुङले यो सिजनमा पाकिस्तानमा रहेको आठ हजार मिटरभन्दा अग्ला चारवटा हिमाल आरोहण गरेका हुन्।
गत जुलाई १७ मा ८ हजार ३५ मिटरको गेशब्रुम दुई, जुलाई २१ मा आठ हजार ८० मिरटको गेशब्रुम एक र जुलाई २५ मा आठ हजार ६८ मिटरको ब्रोड पिक हिमाल आरोहण गरेका हुन्।
त्यस्तै, जुलाई २८ मा विश्वकै दोस्रो अग्लो आठ हजार ६११ मिटरको अल्लो माउन्ट केटु हिमाल आरोहण गरेको गुरुङले जानकारी दिए।
योसँगै गुरुङ समुदायबाट माउन्ट केटु हिमाल दोस्रोपटक आरोहण गर्ने उनी पहिलो व्यक्ति बनेका छन्। खराब मौसमका बाबजुद पनि सफलतापूर्वक हिमाल आरोहण गर्न सफल भएको उनले बताए।

युक्रेनका पर्यटकलाई हिमाल आरोहण गराइदिने क्रममा इलिट एक्सपेड कम्पनीमार्फत पथप्रदर्शकका रूपमा गुरुङ एकै सिजनमा आठ हजार मिटरभन्दा अग्ला चारवटा हिमाल आरोहण गर्न सफल भएका हुन्।
इन्टरनेसनल माउन्टेन गाइडका लागि तयारी थाल्ने उनको योजना छ। मनास्लु, धौलागिरि र आमादब्लम हिमाल चढ्नेसमेत उनको तयारी छ। गुरुङले हालसम्म विश्वको सर्वाेच्च शिखर सगरमाथा सातपटकसम्म आरोहण गरिसकेका छन्।
सन् २०११ मा २२ वर्षको उमेरमा पहिलोपटक सगरमाथा आरोहण गरेका उनी गुरुङ समुदायबाट सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने पहिलो व्यक्तिसमेत हुन्।
उनले गोरखास्थित ८ हजार एक सय ६३ मिटर अग्लो मनास्लु चारपटक आरोहण गरिसकेका छन्। त्यस्तै, पाकिस्तानस्थित माउन्ट केटु र ब्रोडपिक दुई–दुईपटक आरोहण गरिसकेका छन्।
अन्य हिमाल भने एक–एकपटक मात्र आरोहण गरेको उनले बताए। हालसम्म ८ हजार मिटर अग्लो १० वटा हिमाल आरोहण गरिसकेको उनले जानकारी दिए। अब नेपालको धौलागिरि, चोयु, पाकिस्तानको नांगा पर्वत र चीनमा रहेको सिसापाङ हिमाल आरोहण गर्न बाँकी रहेको उनले बताए।
पर्वतारोहण क्षेत्रमा आफ्नो भविष्य खोज्दै उनी १७ वर्षको उमेरदेखि यस क्षेत्रमा लागेका थिए। आरोही गुरुङले केही महिनाअघि मात्र तीन महिनाको अवधिमा आठ हजार मिटरभन्दा अग्ला पाँचवटा हिमाल आरोहण गरेका थिए।
वैशाख २ मा अन्नपूर्ण हिमाल (८,०९१ मि.), जेठ २ मा सगरमाथा हिमाल (८,८४८ मि.) र जेठ ३ मा लोत्से हिमाल (८,५१६ मि.) को सफल आरोहण गरेका थिए। त्यस्तै, जेठ ९ मा मकालु हिमाल (८,४८१ मि.) र जेठ १८ मा कञ्चनजंघा हिमाल (८,५८६ मि.) को आरोहण पनि गरेका थिए।