भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संक्षिप्त नाम राख्न माहिर मानिन्छन्, जुन उनको सरकारले ल्याएका योजनाका नाममा पनि झल्किन्छ । अहिले देशका २६ विपक्षी दल सम्मिलित एक गठबन्धनले आफ्नो नाम यस्तो राखेको छ, जसले मोदीलाई टक्कर दिने विश्लेषण भइरहेको छ । मोदी र उनको भारतीय जनता पार्टी (भाजपा)लाई तेस्रो जित हासिल गर्न नदिने उद्देश्यका साथ बनेको यस गठबन्धनको पूरा नाम ‘इन्डियन नेसनल डेभलपमेन्टल इन्क्लुसिभ एलाएन्स’ हो । यसको अंग्रेजी नामका पहिलो अक्षरहरूको संक्षिप्त रूप ‘इन्डिया’ हुन्छ । हालसम्म यस गठबन्धनमा २६ दल सम्मिलित भए पनि आगामी वर्षको आमनिर्वाचनअघिसम्म थप दल जोडिने अपेक्षा गरिँदै छ ।
को–को छन् ‘इन्डिया’ गठबन्धनमा ?
‘इन्डिया’ गठबन्धनमा सम्मिलित दलमध्ये देशव्यापी सञ्जाल भएको र प्रभावशाली पार्टी भारतीय राष्ट्रिय कंग्रेस हो । भारतलाई बेलायतको शासनबाट स्वतन्त्र गराउन प्रमुख भूमिका खेलेको यस दलले त्यसपछि दशकौँ केन्द्रमा शासन गरेको थियो । तर, सन् २०१४ देखि यो पार्टीको संसदीय सिट उलेख्य घटेको छ । जुलाई १८ मा बेंगलुरुमा भएको गठबन्धनको दोस्रो बैठकपछि बोल्ने क्रममा कंग्रेस नेता राहुल गान्धीले आगामी निर्वाचन ‘नरेन्द्र मोदी र इन्डियाबीच, मोदीको विचारधारा र इन्डिया’बीच हुने प्रतिक्रिया दिए । धेरैले राहुलले केही अघि गरेको एक सय ३६ दिने ‘भारत जोडो यात्रा’ले कंग्रेस पार्टीमा पुनर्ताजगी भरेको विश्लेषण गरिरहेका छन् ।
कंग्रेसले पछिल्ला दुई राज्यसभा निर्वाचनमा भाजपालाई दक्षिणी राज्य कर्नाटक र उत्तरी राज्य हिमाचल प्रदेशमा हराउनुलाई पनि यही नयाँ शक्तिसँग जोडेर हेरिएको छ । ‘हाम्रो मुख्य लक्ष्य संविधान र प्रजातन्त्रका लागि एकसाथ उभिने रहेको छ,’ भेलामा धारणा राख्ने क्रममा कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले भने । कंग्रेस गठबन्धनको मुख्य दल भए पनि उसले जितपछिको स्थितिमा प्रधानमन्त्री पदमा दाबी नरहने बताएको छ । खड्गेले गठबन्धनको आगामी बैठक मुम्बईमा हुने र त्यसको समन्वयका लागि ११ सदस्यीय समिति गठन गरिने बताए ।
कंग्रेसका अतिरिक्त पश्चिम बंगालको सत्तारुढ दल त्रिमूल कंग्रेस पनि यो गठबन्धनमा छ । त्यस्तै अर्को सत्तारुढ दल द्रविड मुन्नेत्र कझागम(डिएमके) पनि गठबन्धनमा छ । यस दलका नेता एमके स्टालिनले तमिलनाडूमा सरकार चलाइरहेका छन् । त्यस्तै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको दल आम आदमी पार्टी(आप) र झारखण्डको सत्तारुढ दल झारखण्ड मुक्ति मोर्चा पनि ‘इन्डिया’को हिस्सा छन् । त्यसबाहेक झारखण्डको छिमेकी राज्य विहारका दुई सत्तारुढ घटक जनता दल युनाइटेड(जेडी–यू) र राष्ट्रिय जनता दल(आरजेडी) पनि गठबन्धनमा छन् ।
त्यसबाहेक शरद पावर नेतृत्वको नेसनल कंग्रेस पार्टी(एनसिपी), शिव सेना(उद्धव ठाकरे समूह), समाजवादी पार्टी(सपा), भारतीय कम्युनिस्ट पार्टी(भाकपा), माक्र्सवादी कम्युनिस्ट पार्टी(माकपा), भारतीय कम्युनिस्ट पार्टी–माक्र्सवादी–लेनिनवादी लिबरेसन (भाकपा माले, राष्ट्रिय लोकदल(आरएलडी), मरुमलर्ची द्रविड मुन्नेत्र कझागम(एमडिएमके), कोन्गुनाडु मक्कल डेसिया कत्ची(केएमडिके), मनिथनेया मक्कर कत्ची(एमएमके), विदुथलाई चिरुथइगल कत्ची(भिसिके), द रिभोलुस्नरी सोसलिस्ट पार्टी(आरएसपी), फरवार्ड ब्लक, इन्डियन युनियन मुस्लिम लिग(आइयुएमएल), केरला कंग्रेस(जोसेफ), द केरला कंग्रेस(मनी), अपना दल(कमेरावाडी) दल पनि गठबन्धनमा सहभागी छन् । गठबन्धनमा जम्मु कस्मिरका प्रमुख क्षेत्रीय दलहरू नेसनल कन्फरेन्स(एनसी) र पिपुल्स डेमोक्रेटिक पार्टी पनि सम्मिलित छन् ।
के हो गठबन्धनको प्रमुख एजेन्डा ?
मोदीको झन्डै एक दशकको शासनको क्रममा भारतीय अर्थतन्त्रले अपेक्षाकृत गति लिन सकेको देखिएको छैन । त्यस्तै सरकारले उल्लेख्य रोजगारी सिर्जना गर्न नसक्दा बेरोजगारी बढिरहेको छ । मोदी शासनकालमा हिन्दू बहुसंख्यकभित्रका अतिवादी तप्काबाट अल्पसंख्यक, त्यसमा पनि विशेष मुस्लिममाथिको आक्रमण बढेको छ । यस अवधिमा स्वतन्त्र मिडियामाथिको आक्रमण पनि बढेको छ । २६ सदस्यीय गठबन्धनले यिनै मुद्दालाई भाजपाविरुद्ध चुनावी एजेन्डा बनाउने प्रक्षेपण छ । भाजपाबाट भारतको बहुदलीय प्रजातन्त्र र धर्मनिरपेक्षता जोखिममा रहेको विपक्षीहरूको आरोप छ ।
मोदी शासनकालमा हिन्दू बहुसंख्यकभित्रका अतिवादी तप्काबाट अल्पसंख्यक, त्यसमा पनि विशेष मुस्लिममाथिको आक्रमण बढेको छ । यस अवधिमा स्वतन्त्र मिडिया आक्रमणको निसानामा छ ।२६ दलीय गठबन्धनले यिनै मुद्दालाई भाजपाविरुद्ध चुनावी एजेन्डा बनाउनेछ । भाजपाबाट भारतको बहुदलीय प्रजातन्त्र र धर्मनिरपेक्षता जोखिममा रहेको विपक्षीहरूको आरोप छ ।
कंग्रेस नेता राजीव गोवडाले अलजजिरासँगको कुराकानीमा आफूहरू देशमा ‘प्रजातन्त्र पुनस्र्थापना गर्न’ एक ठाउँमा उभिएको प्रतिक्रिया दिए । ‘जनताले धेरै समस्या भोगिरहेका छन् । पहिलो त आर्थिक मोर्चाको असफलताको कुरा छ । कुनै नयाँ रोजगारी सिर्जना भएको छैन । ध्रुवीकरण, घृणा र हिंसामा उल्लेख्य वृद्धि भएको छ । यो बदलिनुपर्छ । यसै उद्देश्यले हामी एक भएका हौँ । हामी सरकारको असफलतालाई सबैसामु प्रस्तुत गर्न चाहन्छौँ,’ गोवडाले भने ।
भारतको संसदीय प्रणालीमा ठूला प्रतिपक्षीले समग्रमा सत्तारुढ दलभन्दा थोरै लोकप्रिय मत हासिल गरे जित हासिल गर्ने सम्भावना हुन्छ । सन् २०१९ को आमचुनावमा मोदीको भाजपा नेतृत्वको गठबन्धनले कुल खसेको मतको ३७ प्रतिशत मत पाए पनि ५४३ सिटमा ३०३ (५५.८%) स्थानमा जित हासिल गरेको थियो ।
त्यसबाहेक मणिपुरमा देखिएको हिंसात्मक जातीय द्वन्द्वप्रति मोदीको मौनता पनि विपक्षी गठबन्धनको एजेन्डा सूचीमा छ । विपक्षीले जुलाई २६ मा यस विषयमा मोदी सरकारको अकर्मण्यतामाथि प्रश्न उठाउँदै अविश्वास मतदानाको प्रस्ताव अघि सारेको छ । मणिपुरमा मे ३ देखि सुरु भएको हिंसामा हालसम्म १३० मारिइसकेका छन् भने पचास हजारभन्दा बढी विस्थापित भएका छन् ।
मोदीलाई गठबन्धनको पहिलो काउन्टर अविश्वासको प्रस्ताव
इन्डिया गठबन्धन घोषणा भएको एक हप्ता पनि नबित्दै जुलाई २४ मा विपक्षी कंग्रेसका एक सांसदले मोदी सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । कंग्रेस सांसद गौरव गोगोईले दर्ता गराएको उक्त प्रस्तावलाई लोकसभाका सभामुख ओम बिर्लाले स्वीकार गरेका थिए । गोगोईको प्रस्ताव टेबल हुन आवश्यक पचास सांसदले समर्थन जनाएको पनि बिर्लाले मिडियालाई जानकारी गराएका थिए । यो अविश्वासको मतमा मोदीको जित सुनिश्चित भएकाले यसलाई विपक्षीको सांकेतिक विरोधको रूपमा मात्रै हेरिएको छ ।
भारतको तल्लो सदनमा बहुमतका लागि २७२ सिट आवश्यक पर्नेमा मोदीको पार्टी भाजपा एक्लैको ३०१ सिट छ । भाजपा नेतृत्वको एनडिए गबन्धनको कुल ३३२ सिट छ । मोदीविरुद्ध यो दोस्रो अविश्वासको प्रस्ताव हो । यसअघि सन् २०१८ मा पनि उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । त्यस प्रस्तावमा भएको मतदानमा ३२६ सांसदले मोदीको पक्ष र १२६ ले विपक्षमा मतदान गरेका थिए ।
गठबन्धनप्रति भाजपाको प्रतिक्रिया
भाजपाले गठबन्धनलाई ‘आफ्नो स्वार्थका लागि भ्रष्ट, वंश राजनीतिमा चल्ने पार्टीको एकता’को संज्ञा दिएको छ । भाजपा पार्टी प्रवक्ता गुरुप्रकाश पासवानले ‘यी दललाई जोड्ने एउटै आधार सत्ता प्राप्तिको लालसा मात्र भएको’ आरोप लगाउँदै तिनलाई देशको हित र विकासको मतलब नभएको आरोप पनि लगाए । ‘हामीले सन् २०१४ मा जनताबाट म्यान्डेट पायौँ । सन् २०१९ मा त्यस म्यान्डेटलाई पुनः अनुमोदन गरायौँ । अब सन् २०२४ मा थप ठूलो म्यान्डेटका साथ आउनेछौँ,’ भाजपा प्रवक्ता पासवानले भने ।
‘इन्डिया’ गठबन्धन घोषणा भएकै दिन भाजपाले आफू नेतृत्वको ‘नेसनल डेमोक्रेटिक एलाइन्स(एनडिए)’का ३७ दलको वैठक आयोजना गरेको थियो । एनडिएका दुई घटक हाल ‘इन्डिया’मा रहेका क्षेत्रीय दलबाट छुट्टिएका समूह हुन् । मोदीले जुलाई २५ मा संसदीय बैठकमा नवगठित विपक्षी गठबन्धनको कुरा उठाउँदै यसलाई भारतलाई उपनिवेश बनाएको ‘इस्ट इन्डिया कम्पनी’सँग तुलना गरे । ‘इन्डिया’ नामको गठबन्धन बनाउँदैमा केही हँुदैन, इस्ट इन्डिया कम्पनीको नाममा पनि त इन्डिया शब्द थियो,’ मोदीले भने । मोदीको यस प्रतिक्रियाको जवाफमा विपक्षी कंग्रेसका गान्धीले ट्विटरमा लेखे, ‘हामीलाई जेसुकै भन्नुस्, मोदी महोदय ! हामी ‘इन्डिया’ हौँ ।’
गठबन्धनको चुनौती
गठबन्धनका सदस्यमध्ये कतिपय शक्तिशाली क्षेत्रीय दल हुन्, जो केही राज्यभित्र गठबन्धनभित्रकै दलका परम्परागत प्रतिद्वन्द्वी रहँदै आएका छन् । त्यसअतिरिक्त गठबन्धनका सदस्यबीच विचारधारामा पनि समानता छैन । गठबन्धनमा विगतमा व्यक्तित्वको टकराव देखिएका नेता पनि सहभागी हुनुले चुनौती खडा गर्न सक्छ । यसले गर्दा गठबन्धनका दलबीच सिट बाँडफाँड निकै पेचिलो हुने देखिन्छ । विशेषतः दलहरूले आफू बलियो भएका ठाउँमा अरू दललाई सिट बाँडफाँड कसरी गर्नेछन् भन्नेमा धेरै पर्यवेक्षकको ध्यान छ ।
अल जजिराबाट