एनएमबि–कपअन अन्तर स्कुल यू–१४ फुटबल प्रतियोगिता हुने भएको छ।
बुढालनीलकण्ठ नगरपालिका– १० कपनमा रहेको कपअन स्पोर्ट्स सेन्टरमा हुने प्रतियोगिता २४ देखि २६ साउनसम्म चल्नेछ।
इन्डोर फुटबल ग्राउन्डमा तीन दिन सञ्चालन हुने यू–१४ फुटबल प्रतियोगिताको लागि आयोजक कपअन स्पेर्ट्स सेन्टरले बुधबार एनएमबि बैंकसँग प्रायोजक सम्झौता गरेको छ।
सम्झौता–पत्रमा कपअन स्पोर्ट्स सेन्टरका प्रमुख कार्यकारी अधिकृत दामोदर (बद्री) भट्टराई र एनएमबि बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले हस्ताक्षर गरे।
कपअन स्पोर्ट्स सेन्टरले आफ्नै इन्डोर फुटबल ग्राउन्ड (बालुवाखानी, कपन) सहित राजधानीका विभिन्न स्थानमा युवा खेलाडी उत्पादनका लागि काठमाडौं किकर्स फुटबल एकेडेमी सञ्चालन गरिरहेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव कपनअन स्पोर्ट्स सेन्टरका प्रमुख कार्यकारी अधिकृत भट्टराईले भने, ‘ग्रासरुट फुटबलको विकासको लागि प्रतियोगिता आयोजना गर्न लागिएको हो। यसमा साथ दिनुभएकोमा देशकै अग्रणी वित्तीय संस्था एनएमबि बैंकलाई धेरै–धेरै धन्यवाद। हाम्रो सहकार्यले नेपाली फुटबलमा खेलाडी उत्पादनको लागि सहयोग पुग्ने विश्वास गरेका छौँ।’
प्रतियोगितामा काठमाडौं उपत्यकाका १६ वटा विद्यालयका छात्रको टिम एनएमबि–कपअन अन्तर स्कुल यू–१४ फुटबल प्रतियोगितामा सहभागी हुने जानकारी गराएको छ।
प्रतियोगिता लिगकम नकआउटको आधारमा हुनेछ। उपाधि विजेता, द्वितीय, तृतीय हुने टिमसहित प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई पुरस्कार प्रदान गरिनेछ।