सभामुखलाई दबाब दिएर सरकार आफैँले संसद् चल्न दिएन : ओली

बुधबार, १७ साउन, २०८०
डिजिटल संस्करण

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले सरकार आफैँले संसद् बैठक चल्न नदिएको आरोप लगाएका छन्।

पछिल्लो सुन तस्करी प्रकरणबारे सांसदहरूलाई बोल्न नदिन सरकारले सभामुखलाई दबाब दिएर संसद् बैठक सूचना टाँस गरेर स्थगित गर्न बाध्य बनाएको ओलीको दाबी थियो। तुलसीलाल अमात्य स्मृति दिवसको अवसरमा बुधबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

‘हामीले संसद् चलाऊ भनेका छौँ। सांसदहरू बोल्नुहुन्छ, आवाजहरू उठाउनुहुन्छ, जनताको भनाइ भन्नुहुन्छ, सांसदले बोल्न पाउनुपर्यो। सरकार सांसदलाई बोल्न दिँदैन। सभामुखलाई दबाब दिन्छ कि– तपाईंले सूचना टाँसेर संसद् रोक्नुस् भनेर,’ ओलीले भने, ‘एकजना गृहमन्त्री मात्रै बोल्ने रे, जो भन्सार नियन्त्रण गर्न योग्य छैन। जो अनेक प्रकारका नचाहिँदा बकवास अरूमाथि लाञ्छित, आरोपित गरेर हिँड्छ उसले भाषण गर्ने रे। अनि, सांसदहरूले बोल्न नपाउने रे! सांसदले प्रश्न गर्न पाउनुपरेन?’

सरकार आफैँ संलग्न भएकाले सुन तस्करी प्रकरणमा आफूहरूले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्नुपरेको अध्यक्ष ओलीले पटक-पटक दोहोर्याए।

सुझावित समाचार