ताइवानी कम्पनी फक्सकनले भारतमा थप लगानी गर्ने

बुधबार, १७ साउन, २०८०
डिजिटल संस्करण

विद्युतीय सामग्री तथा उपकरण उत्पादनका निम्ति विश्व प्रख्यात ताइवानी कम्पनी फक्सकनका प्रमुखले सूचना प्रविधिको क्षेत्रमा लगानी गर्ने अथाह सम्भावना भएको भारतमा थप लगानी गर्ने बताएका छन्।

सूचना प्रविधिको क्षेत्रमा उपकरण उत्पादनमा नाम कमाएको उक्त कम्पनीले भारतको तमिलनाडुमा रु. १६ अर्बको लागतमा विद्युतीय उपकरण बनाउने कारखाना खोल्न सहमति जनाएको दुई दिनपछि कम्पनीका प्रमुख योङ लिउबाट थप लगानीको प्रतिबद्धता सार्वजनिक भएको हो।

फक्सकनले तमिलनाडुमा ‘इलेक्ट्रोनिक कम्पोनेन्ट’ उत्पादन गर्ने कारखानामा ६ हजारभन्दा बढीले रोजगारी पाउनेछन्। तमिलनाडु सरकारका एकजना वरिष्ठ अधिकारीका अनुसार राज्यको राजधानी चेन्नईनजिकको कञ्चीपुर जिल्लामा कारखाना स्थापना गरिनेछ।

प्रधानमन्त्री नरेन्द्र मोदीले गत शुक्रबार गुजरातको गान्धीनगरमा फक्सकनका प्रमुख योङलाई स्वागत गर्दै ‘सेमिकन्डक्टर’ उत्पादन गर्ने कारखाना स्थापना गर्न आग्रह गरेका थिए। अधिकांश आधुनिक औद्योगिक प्रतिष्ठानदेखि कम्प्युटरलगायत यन्त्र तथा उपकरणका लागि आवश्यक पर्ने सेमिकन्डक्टर भारतजस्तो लोकतान्त्रिक मुलुकमा गर्नु फक्सकनका निम्ति लाभदायक हुने उनले बताएका थिए।

संसारभरका लगानीकर्तालाई भारतमा चिप र सेमिकन्डक्टर बनाउने उद्योगमा लगानी गर्न आह्वान गर्दै त्यसबाट प्राप्त हुने अथाह लाभ उठाउन प्रधानमन्त्रीले आग्रह गरेका थिए। चिप र सेमिकन्डक्टर बनाउनु भारतको मात्र आवश्यकता नभएको उल्लेख गर्दै उनले विश्वलाई आवश्यक पर्ने विश्वसनीय चिपको आपूर्ति भारतबाट हुने धारणा राखेका थिए।

प्रमुख कार्यकारी अधिकृत योङले प्रधानमन्त्री मोदीको ‘मेक इन इन्डिया सेमिकन्डक्टर’ दूरदर्शी योजनाको सराहना गर्दै भारतसँग साझेदारी गर्न तयार रहेको बताए। उनले भरपर्दो साझेदार भारतसँग सहकार्य एवं साझेदारी गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले तीनदिने ‘सेमिकन इन्डिया’ सम्मेलनमा भाग लिएका थिए।

सुझावित समाचार