१३५ प्रतिशतले बढे बैंकिङ कसुरका मुद्दा

बुधबार, १७ साउन, २०८०
डिजिटल संस्करण

एक वर्षमा प्रहरीमा १२ हजार मुद्दा दर्ता, ९९ प्रतिशत चेक बाउन्ससम्बन्धी

प्रहरीमा बैंकिङ कसुरका मुद्दाको चाप दोब्बरभन्दा धेरै भएको छ । आर्थिक वर्ष ०७९/८० मा बैंकिङ कसुरका मुद्दा अघिल्लो वर्षमा भन्दा एक सय ३५ प्रतिशतले बढेको हो । 

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार पछिल्लो एक वर्षमा बैंकिङ कसुरसम्बन्धी १२ हजार ६ सय ७२ मुद्दा दर्ता भएका छन् । अघिल्लो वर्ष पाँच हजार तीन सय ८३ दर्ता भएका थिए । पछिल्लो आर्थिक मन्दीले चेक बाउन्सका घटनासँगै बैंकिङ कसुरका मुद्दा बढेको प्रहरी अधिकारी बताउँछन् । प्रहरी अधिकारीका अनुसार बैंकिङ कसुरका मुद्दामध्ये ९९ प्रतिशत चेक बाउन्ससम्बन्धी छन् । 

बैंकिङ कसुरका करिब ६० प्रतिशत जाहेरी त काठमाडौं जिल्लामा मात्र दर्ता भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गत आर्थिक वर्षमा परिसरमा सात हजार एक सय एक बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् । आर्थिक मन्दीको असरले पनि पछिल्लो समय चेक बाउन्सका मुद्दा बढेको काठमाडौंका एसएसपी दानबहादुर कार्कीले बताए । 

दुई करोड नतिरेको भनेर हालै एक ठेकेदारलाई पक्राउ गरेका थियौँ,’ उनी भन्छन्, ‘उनले सरकारसँग १९ करोड भुक्तानी लिनुपर्ने रहेछ, अहिले देखिएको भुक्तानी समस्याको ‘चेन इफेक्ट’ रहेको छ । कतिपय चेक बाउन्सका मुद्दा आर्थिक अपराधसँग जोडिने गरेका छन् । विदेश पठाइदिने, जग्गा मिलाइदिनेलगायत नाममा ठगी गरेका घटनासँग सम्बन्धित चेक बाउन्सका मुद्दा पनि पर्ने गरेका छन् । वैदेशिक रोजगार ठगीसँगै चेक बाउन्स बढेको एसएसपी कार्की बताउँछन् । 

कतिपयलाई चेक बाउन्ससम्बन्धी मुद्दामा हुने सजाय थाहा नपाएर थोरै पैसा लिएर खाली चेक दिने र त्यसमा वास्तविकभन्दा धेरै भरेर पनि प्रहरीमा पुग्ने गर्छन् । आर्थिक कारोबार अनिवार्य रूपमा बैंकिङ माध्यमबाट हुने प्रावधान लागू नहुँदा यस्ता घटनामा अनुसन्धान कठिन भएको प्रहरी अधिकारी बताउँछन् । कतिपयले त चेक चोरी गरेर आफैँ त्यसमा पैसा लेखेरसमेत आउने गरेको एसएसपी कार्की सुनाउँछन् । 

सामान तथा सेवाको भुक्तानी नदिने, व्यावसायिक साझेदारीका नाममा धोका दिनेजस्ता घटनासँग सम्बन्धित चेक बाउन्सका मुद्दा पनि प्रहरीमा छन् । फिल्म बनाउन पैसा हाल्न लगाएर निर्माताले नै ठगी गरी खातामा पैसा नभई दिएका चेकसम्बन्धी घटनासमेत काठमाडौं प्रहरीमा दर्ता भएका छन् । 

विगतमा चेक बाउन्सका घटनामा सीधै सर्वसाधारण चेक अनादार मुद्दा दायर लिएर अदालत जान्थे । अदालत जाँदा अदालतको शुल्क तथा कानुन व्यवसायीमा खर्च हुने भएकाले अहिले सीधै प्रहरीमा जाने प्रवृत्ति बढेको छ । अर्काेतर्फ आरोपीलाई थुनामा राखेर पैसा तिराउने प्रवृत्ति पनि छ । 

बैंकिङ कसुरका मुद्दा उच्च दरमा बढेपछि हालै सरकारले जिल्ला अदालतबाटै यस्ता मुद्दा छिन्ने अधिकार दिएको छ । यसअघि उच्च अदालतले मात्र हेर्दै आएका थिए । उच्चमा अत्यधिक चाप भएपछि जिल्ला अदालतलाई अधिकार क्षेत्र तोकिएको हो ।

चेक बाउन्सका अपराध धेरैजसो लेनदेनसँग सम्बन्धित भए पनि प्रहरीको ठूलो जनशक्ति यसमा खर्च हुने गरेको छ । यस्ता मुद्दामा प्रहरी, सरकारी वकिल तथा अदालतमा मिलापत्र गर्न मिल्ने प्रावधान पनि छ । 

पछिल्लो ६ वर्षको आँकडा हेर्ने हो भने १७ सय गुणाले यस्ता अपराध बढेको छ । आर्थिक वर्ष ०७४/७५ मा सात सय ७६ मात्र मुद्दा दर्ता भएका थिए । त्यसयता हरेक वर्ष यस्ता मुद्दा बढ्दै गएको छ । गत वर्ष प्रहरीमा ५६ हजार तीन सय १९ कुल मुद्दा दर्ता भएकोमा २२.५० प्रतिशत चेक बाउन्ससम्बन्धी छन् । 

सुझावित समाचार