कोसी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले दाबी पेस गरेका छन्। प्रदेश सभाका बहुमत सदस्यको हस्ताक्षरसहित थापाले मंगलबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गरेका हुन्।
कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका ४७ सांसदको हस्ताक्षरसहित उनले दाबी पेस गरेका हुन्।
प्रदेशमा एमाले–राप्रपा तथा कांग्रेस–माओवादी–एकीकृत समाजवादी–जसपा दुवै गठबन्धनमा ४६–४६ सांसद (सभामुखबाहेक) छन्। सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर गठबन्धनले पुनः मुख्यमन्त्रीमा दाबी पेस गरेको हो।
यसअघि सभामुखसमेतको हस्ताक्षरमा थापालाई मुख्यमन्त्री नियुक्त गरेपछि हिक्मतकुमार कार्की सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले मुख्यमन्त्री थापाको नियुक्ति बदर गरेपछि कोसीमा नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेकाे छ।
