सुन तस्करी प्रकरणको अनुसन्धान जरैसम्म पुगेर गरिन्छ : प्रधानमन्त्री

सोमबार, १५ साउन, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्याउने बताएका छन्।

प्रधानमन्त्री प्रचण्डले उक्त प्रकरणको जरैसम्म पुगेर छानबिन गर्ने र दोषी देखिएका सबैलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका हुन्।  

प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बसेको पार्टी पदाधिकारी बैठकमा उनले सुन प्रकरणलगायत भ्रष्टाचार प्रकरण र अनियमिततालाई अन्तिम निष्कर्षमा पुर्याउन सरकार दृढ रहेको स्पष्ट पारे। 

यही साउन ३ गते राजस्व अनुसन्धान विभागले सिनामंगलबाट ठूलो मात्रामा सुन बरामद गरेका थियो। हाल सरकारले सो सम्बन्धमा अनुसन्धान गरिरहेको छ। उक्त प्रकरणमा संलग्न भएको आरोपमा हालसम्म १८ जना पक्राउ परिसकेका छन्।

सुन प्रकरणलाई निष्कर्षमा पुर्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले त्यसका लागि सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे। 

मुलुक विकासको बाधकका रूपमा रहेको भ्रष्टाचार, अनियमितता, कमिसनजस्ता विषयलाई अन्तिम निष्कर्षमा पुर्याउन कुनै पनि कसर बाँकी नराखिने स्पष्ट पार्दै प्रधानमन्त्रीकाे निर्दोष नफस्ने र दोषीलाई उम्कन नदिने विषयमा सरकार दृढ रहेको सचिव दीनानाथ शर्माले जानकारी दिए।  

बैठकमा पार्टीका उपमहासचिव वर्षमान पुनले सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन आग्रह गर्दै सो प्रकरणमा जोडिएका सबैलाई छानबिनको दायरामा ल्याउन र कानुनी कारबाही गर्नुपर्ने बताए।  

यही साउन १७ गतेदेखि बस्न लागेको पार्टीको केन्द्रीय समितिको बैठकको कार्यसूची तय गर्नका लागि माओवादी केन्द्रको पदाधिकारी बैठक लगातार बसिरहेको छ। 

सुझावित समाचार