परम्परागत रूपमा मानव तस्करी श्रमका लागि मान्छेलाई ‘दास’ बनाउन लैजाने गरिन्थ्यो । पछि वेश्यावृत्तिजस्ता गतिविधिमा लगाउन थालियो । अहिले मानव बेचबिखनको स्वरूप फेरिन थालेको छ । आपराधिक समूहले ‘साइबरदास’ बनाउन मानव ओसारपसार थालेका छन् ।
नेपालका सयौँ युवा यतिवेला म्यानमार, लाओस तथा कम्बोडियास्थित चिनियाँ समूहको आपराधिक शिविरमा ‘साइबरदास’का रूपमा बन्धक छन् । अनलाइन स्क्याम (ठगी)मा लगाउन उनीहरूलाई त्यहाँ बन्धक बनाइएको छ । इन्टरनेटमार्फत हुने विभिन्न किसिमका अपराधमा लगाउन यसरी दक्षिणपूर्वी एसियाली देशमा नेपाली युवायुवतीको मानव तस्करी भइरहेको प्रहरीले जनाएको छ ।
थाइल्यान्डमा आइटीसम्बन्धी रोजगारी लगाउने भन्दै लैजाने र आसपासका देशमा चिनियाँले सञ्चालन गरेका गोप्य क्याम्पमा लगेर आपराधिक गतिविधिमा लगाउने गरिएको छ । त्यसरी लगिएकामध्ये कतिपय फिरौती बुझाएर फर्किएको र केहीले उद्धारका लागि हारगुहार गरिरहेको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका निर्देशक एसएसपी जीवनकुमार श्रेष्ठले बताए । ‘म्यानमार, लाओसलगायत चिनियाँ अखडामा पुगेका नेपालीलाई बन्धक बनाएर त्यहाँ दासका रूपमै इन्टरनेटसम्बन्धी अपराधमा लगाउने गरिएको पीडितहरूको भनाइ छ,’ उनले भने, ‘पछिल्लो समय मानव तस्करीको स्वरूप र प्रवृत्तिमा परिवर्तन भइरहेको छ ।’
हालै म्यानमारबाट फर्किएका सिन्धुपाल्चोकका एक युवकका अनुसार चिनियाँहरूको लक्ष्यअनुसार काम नगरे खान पनि नदिने र करेन्ट लगाएर यातना दिने गरिन्थ्योे । पासपोर्ट पनि राख्न नदिने र दिनमा एकपटक मात्र उनीहरूलाई मोबाइल चलाउन दिइन्छ । जसले धेरै ठगी गर्न सक्दैन, उसलाई चरम यातना दिने र नेपाल फर्किन खोज्दा फिरौती माग्ने गरेका छन् । दुई साताअघि ६ जना युवक फिरौती बुझाएर आएका छन् । कतिपय फिरौती बुझाउन म्यानमारमै छन् । त्यहाँ करिब एक हजार नेपाली युवा त्यहाँ रहेको फर्किएकाहरूको भनाइ छ ।
तर, म्यानमारस्थित नेपाली दूतावासले भने संख्या यकिन हुन नसकेको जनाएको छ । ‘यहाँ चिनियाँ समूहको क्याम्पमा रहेकामध्ये करिब ५० जना हाम्रो सम्पर्कमा आउनुभएको छ,’ म्यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरेले भने, ‘१७ जना फर्किनुभएको छ, अन्य केही फर्कने प्रक्रियामा हुनुहुन्छ, हामीलाई सम्पर्क गर्नेहरूको उद्धारका लागि यहाँको सरकारसँग पहल गरिरहेका छौँ ।’
थाइल्यान्डको सीमानजिकैको म्याओडी सहरस्थित चिनियाँ शिविरमा धेरै नेपाली छन् । जहाँ विद्रोही समूहको पकड भएकाले उद्धारमा पनि समस्या भएको जवाफ म्यानमारका अधिकारीले नेपाललाई दिने गरेका छन् । दूतावासमा उद्धारका लागि स्रोत–साधनसमेत नभएकाले पनि समस्या भएको एक अधिकारी बताउँछन् । चिनियाँहरूले पनि राज्यको उपस्थिति कमजोर रहेको म्यानमारको सो क्षेत्रलाई अखडा बनाएर इन्टरनेटमार्फत विश्वभरका व्यक्तिलाई ठगी गर्दै आएका छन् । चिनियाँ गिरोहले करिब १० हजार व्यक्तिलाई त्यसरी शिविरभित्र राखेर यस्तो ठगीमा लगाएको गत महिना अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) द्वारा जारी एक रिपोर्टमा उल्लेख छ ।
दक्षिणपूर्वी एसियाली देशमा यसरी साइबर स्क्यामका लागि नेपालीहरूको मानव तस्करीको घटना बढेपछि शुक्रबार बल्ल परराष्ट्र मन्त्रालयले ‘ट्राभल एड्भाइजरी’ जारी गरी थाइल्यान्ड, म्यानमार, कम्बोडियालगायत देशमा रोजगारीको प्रलोभनमा परी नजान आग्रह गरेको छ । यसरी त्यहाँ लैजानेमा चिनियाँहरू नै सक्रिय छन् । प्रहरीले यस्तो धन्दामा संलग्न तीनजना चिनियाँलाई काठमाडौंमा पक्राउ गरिसकेको छ । चिनियाँ भाषा अनुवादकमार्फत विभिन्न युवायुवतीलाई सम्पर्क गरी उनीहरूले रोजगारीको प्रलोभनमा म्यानमार पुर्याएका हुन् । विगतमा लाओस, कम्बोडियामा सो समूहले पुर्याएका व्यक्तिको पनि उद्धार भएको छ ।
विगतमा चिनियाँ समूहले नेपालमा पनि साइबर ठगीको गोप्य अखडा चलाएकोमा प्रहरीले छापा मारी बन्द गराएको थियो । नेपालमै त्यस्तो धन्दामा संलग्नहरूले अहिले म्यानमारलगायत देशमार्फत यसरी मानव तस्करी र इन्टरनेट ठगीको सञ्जाल चलाएको प्रहरी अधिकारीको आकलन छ । यसरी बन्धक बनाएर अपराधमा लगाउन रोजगारीको प्रलोभनमा मानव ओसारपसार हुन थालेको हो ।
अमेरिका र युरोपको सपनामा हुरुक्कै
खाडी देशमा भिजिट भिसामा तथा अमेरिका र युरोपियन देशमा अवैध बाटोबाट मानव तस्करीका घटना व्यापक रहेको प्रहरी अधिकारी बताउँछन् । बाटोमा महिनौँ लगाई, लाखौँ सिध्याएर, ज्यान जोखिममा पारेर नेपालीहरू अमेरिका जान तयार हुने गरेका छन् । दलालको पछि लागेर त्यसरी अमेरिका जान लागेकाहरू विभिन्न देशमा अलपत्र परेका छन् । हाल २७ जना अजैरबैजानमा थुनामा छन् । कतिपय त बेपत्ता छन् ।
भिजिट भिसामा सुरुमा दुबई तथा थाइल्यान्ड लगिने र त्यहाँबाट नेपालीलाई भिसा सहज हुने देश हुँदै पश्चिम अमेरिकी देशबाट मेक्सिको हुँदै अमेरिका पठाउने धन्दा चलिरहेको छ । यसमा अन्तर्राष्ट्रिय गिरोह नै सक्रिय छ । बाटोमा उनीहरूले थप पैसा असुल्दै यसरी ओसारपसार गर्छन् । कतिपय समुद्रमा हराउने तथा कतिपय जंगलमै मृत्यु हुने गरेका छन् । अमेरिका जान लागेका कतिपय त इथियोपिया, घाना, अमेरिकालगायत देशमा समेत अलपत्र परेको ब्युरोका एसएसपी श्रेष्ठ बताउँछन् ।
सामाजिक सञ्जालबाटै चिनजान भएका व्यक्तिकै विश्वासमा परेर युरोप–अमेरिका जान खोज्दा धेरैजना समस्यामा परेका छन् । त्यस्ता समूहका धेरै एजेन्ट विदेशमै हुने भएकाले पक्राउसमेत पर्दैनन् । अमेरिका पठाउने गिरोहका एक सदस्य कमल तामाङलाई हालै प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनीविरुद्ध कम्तीमा चार युवकले उजुरी दिएका छन् । एकै व्यक्तिलाई उनले ६० लाख रूपैयाँसम्म लिएर विदेशमा पुर्याई अलपत्र बनाएको र गिरोहका नाइकेहरू विदेशमा देखिएको प्रहरी अधिकारी बताउँछन् ।
खाडी देशमा महिलाहरूको ओसारपसार नियन्त्रण हुन सकेको छैन । विगतमा भिजिट भिसामा गएकाहरू समस्यामा परेकोमा अहिले मेनपावर कम्पनीबाटै गएकाहरूसमेत समस्यामा परेका छन् । खाडी देशमा घरेलु कामदार पठाउन निषेध छ । सफाइसम्बन्धी काममा भनेर नेपालबाट पठाउने र उता पुर्याएपछि घरेलु कामदारका रूपमा बेचबिखन हुने गरेका घटना बढेका छन् । खासगरी कुवेत र ओमानमा यस्तो समस्या बढेका छन् । भारतमा वेश्यावृत्तिका लागि झुक्याएर लैजाने क्रम पनि नरोकिएको र त्यहाँबाट बारम्बार उद्धार हुँदै आएको छ ।
पाँच वर्षमा आठ सय मुद्दा
पछिल्लो पाँच वर्षमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी आठ सय ३० वटा मुद्दा प्रहरीमा दर्ता भएका छन् । जसमा एक हजार पाँच सय तीनजना पक्राउ परेका छन् । एक हजार आठ सय एकजनाविरुद्ध प्रहरीले मुद्दा दायर गरेको भए पनि करिब ४० प्रतिशत अभियुक्त पक्राउ परेका छैनन् । मानव बेचबिखनका धेरैजसो अभियुक्त विदेशमा हुने भएकाले पक्राउमा समस्या हुने गरेको प्रहरी अधिकारी बताउँछन् ।
मानव बेचबिखनसम्बन्धी अपराध विकराल बन्दै गएपछि तीन वर्षअघि प्रहरीमा मानव बेचबिखन अनुसन्धान ब्युरो गठन भएको हो । बेचबिखन र ओसारपसारका घटना व्यापक भए पनि उजुरी थोरै पर्ने गरेको ब्युरोका निर्देशक एसएसपी श्रेष्ठले बताए । ‘पीडितले जाहेरी नदिँदा पनि कतिपय गिरोहमाथि अनुसन्धान गर्न कठिन भएको छ,’ उनले भने, ‘मानव बेचबिखन मुद्दामा पीडितविना अनुसन्धान गर्न गाह्रो हुन्छ, यद्यपि हामीले जाहेरीका लागि पीडितलाई प्रोत्साहित गरिरहेका छौँ ।’
अवैध शिविर बन्द गर्न म्यानमारलाई चीनको आग्रह
अनलाइन ठगीको समस्या बढेपछि हालै चीनले म्यानमारको सरकारलाई यस्ता अवैध शिविर बन्द गराउन आग्रह गरेको छ । गत सोमबार चिनियाँ राजदूतले म्यानमारका राजदूतलाई भेटेर पूर्वी तथा उत्तरी सीमाका विभिन्न क्षेत्रमा सञ्चालित आपराधिक अखडा बन्द गराउन आग्रह गरेका छन् । यसबारे मंगलबार म्यानमारस्थित चीनको दूतावासले विज्ञप्ति जारी गरी जानकारी गराएको हो । यस्तो अपराधबाट कतिपय चिनियाँसमेत पीडित भएका छन् । चिनियाँ समूहको अपराधका कारण देशकै बदनाम भएपछि चीनले पनि उनीहरूमाथि कारबाहीका लागि पछिल्लो समय सक्रियता बढाएको छ ।
‘जंगलको बाटो’ पोर्चुगल, कतिपय बाटैमा बेपत्ता
अवैध बाटोबाट नेपालीहरूको मानव तस्करीको प्रमुख गन्तव्य पोर्चुगल बनेको छ । अवैध रूपमा प्रवेश गर्दा पनि अस्थायी बसोवासको अनुमति र राहदानीको प्रक्रिया सहज भएकाले पोर्चुगलमा मानव तस्करी बढेको हो । यसरी पोर्चुगल जान खोज्नेमध्ये कतिपय बेपत्ता भएका छन् । केही थुनामा परेर फर्किएका छन् । यसरी फर्किएकामध्ये केहीले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गिरोहका नाइके कञ्चनपुरका दीपेश शाहीलाई कारबाहीको माग गरेका छन् ।
पीडितहरूका अनुसार १७ जनालाई शाहीले पोर्चुगल पुर्याउने भन्दै गत २९ चैतमा दुबई लगेका थिए । त्यहाँबाट उनीहरूलाई रसिया लगियो । रसियाबाट १४ घन्टा ट्याक्सी चढाएर बेलारुस लगिएको थियो । बेलारुसबाट घन्टौँ हिँडेर जंगल र खोलाको बाटो हुँदै लाट्भिया प्रवेश गर्न खोज्ने क्रममा उनीहरू सीमामा पक्राउ परेका हुन् । पीडितका अनुसार चारपटकसम्म उनीहरूलाई फर्काइएको थियो ।
यसरी गएकामध्ये मनोज शाही बेपत्ता भएका छन् । बेपत्ता भएका युवकका परिवारले खोजीका लागि परराष्ट्र मन्त्रालयदेखि प्रहरीसम्म निवेदन दिएका छन् । दलालमाथि कारबाहीका लागि मानव बेचबिखन अनुसन्धान ब्युरोमा समेत उजुरी परेको छ । आफूहरूलाई फोहोर पानी खान दिएको, बिरामी हुँदा पनि नेपाल फर्काउन नमानेको र बन्धक बनाई एजेन्टहरू फरार भएकाले परिवारको सहयोगमा केही हालै नेपाल फर्किएका छन् ।
१४ लाखसम्म एजेन्टलाई बुझाएर गएका उनीहरू १५ दिन बेलारुसमा थुनामा समेत परेका थिए । अवैध बाटोबाट पोर्चुगल लैजाने घटना धेरै बढेको ब्युरोका एसएसपी श्रेष्ठले बताए । विगतमा टर्की हुँदै लैजाने गरिएकोमा पछिल्लो समय रसिया, बेलारुस हुँदै अवैध रूपमा पोर्चुगल लैजाने समूह सक्रिय छ ।
यसरी पोर्चुगल जान खोज्नेहरू धेरै समस्यामा परेको छ । पोर्चुगल मानवतस्करीमा कतिपय मेनपावरको समेत संलग्नता देखिएको छ । सर्बियामा कामदार भिसामा पठाउने र त्यहाँबाट पोर्चुगल जाने प्रवृत्तिसमेत देखिएको छ । यस्तो मानव तस्करीमा संलग्नमध्ये कतिपय नेपाली पोर्चुगलमा समेत रहेको प्रहरी अधिकारी बताउँछन् ।