ओलीको आरोप– सरकारको मिलेमतोमा सुन तस्करी भइरहेको छ

आइतबार, १४ साउन, २०८०
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीले मिलिजुली खान गठबन्धन सरकार बनेको आरोप लगाएका छन् । एमालेले नेपालगन्जमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय दुईदिने प्रशिक्षण कार्यक्रममा शनिबार उनले अहिलेको सरकारबाट भ्रष्टाचार निवारणको कल्पना गर्न नसकिने जिकिरसमेत गरे । 

ओलीले अहिलेको गठबन्धन सरकारलाई गन्तव्यविनाको यात्रीको संज्ञा दिए । ‘अहिलेको सरकारको न कुनै गन्तव्य छ, न त के काम गर्ने नीति र उद्देश्य छ,’ उनले भने, ‘यो सरकार मिलिजुली, बाँडिचुँडी खानका लागि बनेको हो । यो सरकारबाट आशा गर्नुको कुनै अर्थ छैन ।’

सरकारको संलग्नता र संरक्षणमा सुन तस्करी भइरहेको आरोप लगाउँदै उनले अन्तर्राष्ट्रिय एयरपोर्टबाट एक क्विन्टल सुन छिराउने चानचुने कुरा नभएको बताए । ‘बाहिरी देशबाट आएकाहरू एयरपोर्टको अत्याधुनिक मेसिन र तालिम प्राप्त मान्छेले जाँच गरेपछि मात्र बाहिर आउन पाउँछन् । सर्वसाधारणले एउटा सियो छिराउन नसक्ने ठाउँबाट एकैसाथ एक क्विन्टल सुन छिर्नु सामान्य कुरा होइन । सरकारको संलग्नता र संरक्षणविना यो सम्भव हुने कुरै भएन,’ उनले भने, ‘सय केजी सुन भित्रिएकोबारे जाँचबुझ गर्न उच्चस्तरीय जाँचबुझ समिति गठन गरेर वास्तविक कुरा बाहिर ल्याउनुपर्छ । नत्र एमालेले सदन र सडक तताउनेछ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले एक क्विन्टल सुन भिœयाउन सघाउने गृहमन्त्रीले तत्काल राजीनामा दिएर अनुसन्धानलाई सघाउनुपर्ने धारणा राखे । उनले सुन भित्रिनुमा गृहमन्त्री मुख्य दोषी भएको औँल्याए । ‘नैतिकता भएको भए सुन बरामद भएकै दिन गृहमन्त्रीले राजीनामा दिनुपथ्र्यो । तर, उहाँले लाजसरम नमानेर घटना ढाकछोप गर्दै उल्टै विपक्षीलाई गाली गर्ने र बदनाम गर्दै हिँडिरहनुभएको छ । लाजसरम छ भने गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ,’ उनले भने । ओलीले सुन तस्करीबारे प्रश्न उठाउनेलाई झुटा आरोप लगाएर फसाउन खोजेको बताउँदै सरकार वाक्स्वतन्त्रताविरुद्धमा लागेको जिकिर गरे । 

कांग्रेस बूढो भइसकेको बताउँदै उनले ऊसँग भिजन, मिसन केही नभएको आरोप लगाए । ‘एकादेशमा बाघ बूढो भएपछि बाँच्नका लागि स्यालसँग मित साइनो लगाएको थियो । अहिले कांग्रेस आफ्नो अस्तित्व जोगाउन माओवादी, एकीकृत समाजवादी, जसपालगायत दलसँग साइनो गाँसेर अगाडि बढेको छ,’ उनले भने, ‘अब कांग्रेसबाट देश विकास हुन्छ भन्ने आशा गर्नु बेकार छ ।’

माओवादीको अस्तित्व समाप्त भइसकेको ओलीले ठोकुवा गरे । उनले एमालेले माओवादीलाई सरकारमा पु¥याएको बताउँदै माओवादीलाई बाटो बिराएको बटुवाको संज्ञा दिए । ‘माओवादी लोकतन्त्रको बाटो समात्न नसकेको, असफल, गैरजिम्मेवार र भ्रष्टाचारमा लिप्त पार्टी हो । यो पार्टीको न स्पष्ट सिद्धान्त छ, न त नीति नै छ,’ उनले भने । 

ओलीले एमालेविरुद्ध देशका सबै पार्टी एकजुट भए पनि केही बिगार्न नसकेको दाबी गरे । ‘एमालेलाई हराउन निर्वाचनमा महागठबन्धन गरे । एमालेलाई एक्ल्याउन सबै दल मिलेर सरकार बनाए,’ उनले भने, ‘एमालेलाई कमजोर बनाउन नसकेपछि बहुमत ल्याउन दिएनौँ भनेर खुसी मनाउनेहरू पनि देखिए ।’ उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायतका नेताले प्रशिक्षण दिने उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाका नेता–कार्यकर्ताको सहभागिता छ । 

See More On

सुझावित समाचार