जन्मकैदका फरार प्रतिवादी पक्राउ गरी कारागार चलान

शुक्रबार, १२ साउन, २०८०
डिजिटल संस्करण

कर्तव्य ज्यान मुद्दामा जन्मकैदको फैसला सुनाइएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी अदालतको आदेशअनुसार कारागार चलान गरिएको छ।

सिराहाको मिर्चैया नगरपालिका– ६ का श्रीप्रसाद सलहैताको जाहेरीको आधारमा परेको कर्तव्य ज्यान मुद्दाका प्रतिवादी लहान नगरपालिका– ५ का ३२ वर्षीय गते भनिने अमितकुमार साहलाई लहान प्रहरीले पक्राउ गरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। 

सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेका अनुसार साहलाई ७ साउनमा लहानबाट पक्राउ गरी भोलिपल्ट सिराहा जिल्ला अदालतमा उपस्थित गराइएपछि अदालतको १० साउनको पत्रअनुसार जन्मकैद सजाय भुक्तानका लागि सिराहा कारागार चलान गरिएको हो। 

सिराहा जिल्ला अदालतमा परेको कर्तव्य ज्यान मुद्दामा ८ भदौ ०७६ को फैसलाअनुसार प्रतिवादी साहले सफाइ पाएपछि थुनामुक्त भएका थिए। 

त्यसलगत्तै जिल्ला सरकारी वकिल कार्यालय सिराहाले उच्च अदालत जनकपुर राजविराजमा पुनरावेदन गरेपछि ५ असार ०८० मा साहलाई जन्मकैदको सजाय फैसला सुनाइएको थियो। आफूविरुद्ध जन्मकैदको फैसला भएको थाहा पाएपछि फरार रहँदै अएका  साहलाई लहानबाट पक्राउ गरी अदालतमा उपस्थित गराएको प्रहरीले जनाएको छ। 
 

See More On

सुझावित समाचार