विधानमा महानगरको भूमिका कम आँकिएको भन्दै संशोधनको माग, शुक्रबार भेला
पार्टी विधानमा उल्लेख भएको व्यवस्थाप्रति कांग्रेसका ६ वटा महानगर कार्यसमितिले असन्तुष्टि जनाएका छन् । मर्यादाक्रम, टिकट वितरणमा भूमिका र प्रतिनिधि पठाउने विषयमा आफ्नो भूमिकालाई कम आँकिएको भन्दै महानगर समिति असन्तुष्ट बनेका हुन् । ६ वटै महानगर कार्यसमितिले शुक्रबार भेला बसेर सामूहिक धारणा तय गर्ने भएका छन् ।
कांग्रेस काठमाडौं महानगर सभापति नीलकाजी शाक्यले विधानबाटै महानगरको भूमिकालाई कम आँकिएकाले संशोधन आवश्यक रहेको भन्दै नेतृत्वको ध्यानाकर्षण गर्न लागिएको बताए । प्रदेशको असन्तुष्टि सम्बोधन भइनसकेको अवस्थामा केन्द्रीय कार्यसमिति बैठकलगत्तै महानगर समितिको भेलालाई अर्थपूर्ण रूपमा लिइएको छ । ‘ग्रासरुटलाई मजबुत बनाए पार्टी चलायमान र बलियो बन्ने हो । तर, ठूलो क्षेत्र र जनसंख्याको प्रतिनिधित्व गर्ने महानगर कार्यसमितिलाई कम क्राइटेरियामा राखियो । पार्टीले दिनुपर्ने काम दिन सकेन । भूमिका बलियो नहुँदा वडाअध्यले समेत महानगर कार्यसमितिलाई नटेर्ने अवस्था छ । मर्यादाक्रममा पनि राजधानीमा रहेको काठमाडौं महानगर र अरू पाँच महानगरको विधानले नगर र उपमहानगरको भन्दा माथिको भूमिका दिएको छैन । प्रतिनिधिको विषय पनि त्यस्तै छ । हामीले पार्टीको विरोध गरेका होइनौँ, सुधारका लागि प्रयत्न गर्न खोजेका हौँ,’ शाक्यले नयाँ पत्रिकासँग भने ।
१३ साउनमा काठमाडौं महानगर सम्मेलन हुँदै छ । भेलाबाट पारित विषयलाई नेतृत्वलाई बुझाउने तयारी छ । कांग्रेसको १४औँ महाधिवेशनपछि पहिलोपटक ६ महानगरका प्रतिनिधिको भेला हुन लागेको हो । काठमाडौं महानगर सचिव सुशन वैद्यका अनुसार भेलाको संयोजन काठमाडौं महानगरले गरेको छ । ‘विशेष गरी विधानका तीन विषयमा महानगर कार्यसमितिको भूमिका चित्तबुझ्दो छैन । यसबारे पटकपटक भर्चुअल छलफल भयो । अहिले भेला नै गरेर सामूहिक धारणा बनाएर नेतृत्वलाई दबाब दिन लागेका हौँ,’ वैद्यले भने ।
कांग्रेसमा प्रदेश संरचनाको भूमिकालाई बेवास्ता गरेको भन्दै प्रदेश सभापतिहरूले केन्द्रीय समितिमा आवाज उठाएका थिए । हालै सम्पन्न केन्द्रीय समिति बैठकमा सातै प्रदेशका सभापतिले प्रदेशको भूमिकालाई केन्द्रले कम आँकेको गुनासो गरे । बुधबार सम्पन्न केन्द्रीय समिति बैठकबाट पनि प्रदेशको विषयमा कुनै निर्णय नभएपछि प्रदेश सभापतिहरूले आपत्ति जनाएका थिए ।
नीति अधिवेशनसँगै यी अस्पष्टता अन्त्य हुनेछन् : महालक्ष्मी उपाध्याय डिना, सहमहामन्त्री कांग्रेस
दोहोरो समन्वय, मर्यादाक्रमलगायत विषयमा विधान स्पष्ट नहुँदा समस्या देखिएको छ । प्रदेश तथा स्थानीय तहमा देखिएका विधानका विषयलाई नीति अधिवेशनमा छलफल भएर टुंगो लगाइनेछ । विधानमै कतिपय त्रुटि भएको अवस्था छ । स्पष्ट व्यवस्था नहुँदा असन्तुष्टि आउनु स्वाभाविक हो । नीति अधिवेशनमा यी विषय छलफलको एजेन्डा हुनेछन् । काम गर्ने क्रममा देखिएका व्यावहारिक समस्या समाधान गरेर लैजाने विषयमा सबैको भूमिका आवश्यक छ ।