परासी क्षेत्रमा पाँचवटा सबस्टेसन जोड्न प्रसारणलाइनको रिङ बन्दै

बिहिबार, ११ साउन, २०८०
डिजिटल संस्करण

नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को परासी क्षेत्रमा पाँचवटा सवस्टेसन जोड्ने गरी विद्युत् प्रसारणलाइनको रिङ बन्ने भएको छ । परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योगलाई लक्षित गर्दै गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रसारणलाइनको रिङ बनाइने भएको हो ।

औद्योगिक विस्तारको प्रचुर सम्भावना रहेको परासी क्षेत्रमा बुटवल, सुनवल, गण्डक तथा हकुई १३२ केभी र नयाँ बुटवल २२० केभी सबस्टेसन जोडी विद्युत् आपूर्तिका लागि प्रसारणलाइनको रिङ बनाइनेछ । नेपाल विद्युत् प्राधिकरणले परासी र रुपन्देहीको भैरहवा औद्योगिक करिडोरमा विद्युत्को बढ्दो मागलाई सम्बोधन गर्न सुनवल–हकुई १३२ केभी डबल सर्किट प्रसारणलाइन निर्माण अगाडि बढाएको छ । गण्डक–परासी ३३ केभी डबल सर्किट र बुटवल–ज्यामिरे (सुनवल) ३३ केभी सिंगल सर्किट प्रसारणलाइन चालू अवस्थामा छन् । 

सुनवल सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि निर्माणाधीन ३३ केभीका डबल सर्किट थप तीनवटा फिडरमध्ये एउटा सञ्चालनमा आएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त डबल सर्किट लाइन उद्घाटन गरेका हुन् ।

नयाँ लाइन सञ्चालनमा आएसँगै यस क्षेत्रका उद्योग र स्थानीय बासिन्दालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि पूर्वाधार बनेको उनले बताए । निर्माणाधीन ३३ केभी डबल सर्किटका दुईवटा फिडरको निर्माण तत्काल सम्पन्न गर्न उनले निर्देशन दिए । सुनवल सबस्टेसनबाट यसअघि ३३ केभीका तीनवटा फिडरहरूबाट त्यस क्षेत्रमा सञ्चालित सिमेन्ट, स्टिल उद्योगसहित स्थानीय रूपमा विद्युत् आपूर्ति भइरहेको थियो । साथै, सबस्टेसनबाट ११ केभीका फिडर लाइन पनि निकालिएको छ । 

परासी क्षेत्रमा सञ्चालित सिमेन्ट, स्टिललगायतका ठूला तथा साना उद्योगले अहिले करिब ७५ मेगावाट विद्युत् खपत गरिरहेका छन् । सञ्चालित उद्योगहरूको क्षमता विस्तार र नयाँ खुल्ने उद्योगहरूका लागि करिब ४० मेगावाट गरी त्यस क्षेत्रमा एक सय १५ मेगावाट विद्युत् खपत हुने प्रक्षेपण गरिएको छ । साथै, रुपन्देही जिल्लाको भैरहवासहित त्यस क्षेत्रमा करिब तीन सय मेगावाट विद्युत् खपत हुने अनुमान छ । 

कालीगण्डकी र यसका सहायक नदीहरूमा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् कालीगण्डकी करिडोर २०० केभी प्रसारण लाइनबाट नवलपरासीको सुनवल नगरपालिका– १३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्म पुग्नेछ । कालीगण्डकी करिडोरको यही साउनभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ । 

हेटौँडा–भरतपुर–बर्दघाट र बर्दघाट–नयाँ बुटवल २२० केभी प्रसारणलाइनमार्फत नयाँ बुटवल सबस्टेसनमा विद्युत् आपूर्ति हुनेछ । त्यस क्षेत्रमा विद्युत् आपूर्ति र नेपाल–भारतबीच विद्युत् व्यापारका लागि नयाँ बुटवल सबस्टेसन अर्को ठूलो विद्युत् हब बन्नेछ । हेटौँडा–भरतपुर २२० केभी प्रसारणलाइनलाई हाल १३२ केभीमा सञ्चालनमा ल्याइएको छ । भरतपुर–बर्दघाट प्रसारणलाइनलाई यही साउनभित्र र नयाँ बुटवल–बर्दघाटलाई आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

See More On

सुझावित समाचार