प्रहरीकै ३६ रोपनी जग्गा व्यक्तिको नाममा लैजाने प्रयास

बिहिबार, ११ साउन, २०८०
डिजिटल संस्करण

किर्ते कागजपत्रका आधारमा बालुवाटारस्थित ललितानिवासपरिसरको सरकारी जग्गा व्यक्तिका नाममा लगिएको घटनामा संलग्नहरूलाई पक्राउ गरी यतिवेला प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, ललितानिवासकै शैलीमा प्रहरीकै ३६ रोपनी जग्गा व्यक्तिले हत्याउने प्रयास भइरहेको खुलेको छ । 

काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानको जग्गा हिनामिनाको प्रयास भएको हो । वन क्षेत्रमा पर्ने सो जग्गा नेपाल सरकारले भोगचलनका लागि ०५२ मै प्रहरीलाई दिएकोमा एक स्थानीयले आफ्नो दाबी गर्दै नक्कली कागजपत्र तयार पारी हत्याउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ । पनौतीकै पुष्करबहादुर बस्नेतले ३६ रोपनी दुई पैसा क्षेत्रफलको सो जग्गा हत्याउन मालपोत र नापी कार्यालयकै कागजपत्र किर्ते भइसकेको छ । उनले आफ्नो नाममा दर्ताको माग गरी हाल सर्वाेच्चमा समेत मुद्दा हालेका छन् । बस्नेत मालपोतकै पूर्वनायबसुब्बा हुन् । 

एआइजी टेकप्रसाद राई, कार्यकारी निर्देशक, प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान
एक व्यक्तिले नक्कली कागजपत्र बनाएर सो जग्गा आफ्नो भएको दाबी गरी मुद्दा हालेका छन् भन्ने सुनिएको छ । तर, सरकारी जग्गा जोगाउन हामी लागिपरेका छौँ ।

१५ साउन ०५२ मा मन्त्रिपरिषद्ले सो जग्गा प्रहरीलाई भोगचलन गर्न दिने निर्णय गरेको थियो । वन क्षेत्रको जग्गा प्रहरीको नाममा नामसारी गर्न नमिल्ने भएकाले भोगचलनको अधिकार मात्र दिइएको थियो । पनौती नगरपालिका– ६ मा पर्ने सो जग्गा कित्ता नम्बर ७५ अन्तर्गत पर्छ । नेपाल सरकारको निर्णयअनुसार ०५२ देखि नै प्रहरीले भोगचलन गर्दै आएको छ । सोही जग्गासमेत समेटेर गत वर्षदेखि भारतीय अनुदान सहयोगमा त्यहाँ १० अर्ब रुपैयाँको लागतमा आधुनिक प्रहरी एकेडेमी निर्माण गर्न लागिएको छ । सो जग्गा व्यक्तिले दाबी गर्दै सर्वाेच्चमा मुद्दा हालेपछि प्रहरी अधिकारी झस्किएका छन् ।

सरकारी जग्गा जोगाउने जिम्मेवारी आफूहरूको पनि भएकाले सो जग्गालाई बचाउन प्रहरी लागेको प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक रहेका एआइजी टेकप्रसाद राई बताउँछन् । ‘एक व्यक्तिले नक्कली कागजपत्र बनाएर सो जग्गा आफ्नो भएको दाबी गरी मुद्दा हालेका छन् भन्ने सुनिएको छ,’ उनी भन्छन्, ‘तर, सरकारी जग्गा जोगाउन हामी लागिपरेका छौँ ।’ 

प्रहरीविरुद्ध मुद्दा हाल्ने बस्नेत मालपोत कार्यालयकै पूर्वकर्मचारी भएकाले उनले सरकारी कागजपत्र किर्ते गरी सच्याएको प्रहरी अधिकारीको दाबी छ । नापी हुँदाको बखत सो जग्गा वन क्षेत्रमा पर्ने उल्लेख थियो । नापी फर्म नम्बर १ क्षेत्रीय किताबमा पटक–पटक सच्याइएको छ । जग्गाको लगतसमेत केरमेट भएको छ । तत्कालीन फरेस्टर बेचन चौधरीको समेत हस्ताक्षर किर्ते भएको स्रोत बताउँछ । सरकारले सो जग्गा प्रहरीलाई दिएकोमा सरकारी कागजपत्र भोगहकसमेत मेटाइएको प्रारम्भिक छानबिनमा खुलेको छ । 

पछि बस्नेतले भाउजू कान्छी बस्नेतलाई जिल्ला अदालत काभ्रेमा अंश मुद्दा हाल्न लगाएका थिए । उक्त जग्गासमेत दाबी गरी मुद्दा हाल्न लगाएकोमा जिल्ला अदालत काभ्रेले तिरो तिरेको जग्गा दर्ता भएको वेला उनलाई दिन आदेश दिएको थियो । सो आदेशअनुसार नजिकैको १२ रोपनी जग्गा उनको नाममा दर्ता भइसकेको छ । अदालतको सोही निस्सा देखाएर थप ३६ रोपनी जग्गा दाबी गर्दै उनी ०७४ मा मालपोत गए । तर, वनको जग्गा प्रस्ट देखिएको र कागजपत्रमा केरमेट देखेपछि मालपोतका कर्मचारीले दर्ता गर्न मानेनन् । त्यसविरुद्ध बस्नेत यतिवेला सर्वाेच्च गएका छन् । सर्वाेच्चमा मुद्दा दायर गर्दा प्रहरीलाई प्रतिवादी बनाएपछि मात्र प्रहरीले यसबारे जानकारी पाएको हो । अंशबन्डाको घुमाउरो तरिका प्रयोग गरी योजनाबद्ध रूपमा उनले सो जग्गा हात पार्ने योजना बनाएको प्रहरी अधिकारी बताउँछन् । 

सो जग्गा आफ्नो भएको दाबी गर्न उनले त्यसको तिरो तिरेको प्रमाण पेस गरेका छन् । तर, मालपोत कार्यालयका अनुसार सो तिरो अर्काे १२ रोपनीसँगैको जग्गाको हो । जसकारण उनले अदालतलाई समेत भ्रममा पार्न खोजेको प्रहरी अधिकारी बताउँछन् । नापी कार्यालयको फिल्डबुकमा सो जग्गा खर चाहार भन्ने उल्लेख छ । खर चाहार भन्नाले जंगल भएको जग्गा जनिन्छ । सो जग्गा ०५२ सालदेखि नै प्रहरीले रोक्का राख्दै आएको छ । 
 

See More On

सुझावित समाचार