सिंगापुरमा २० वर्षपछि महिलालाई मृत्युदण्डकाे सजाय

मंगलबार, ९ साउन, २०८०
डिजिटल संस्करण

मृत्युदण्डलाई प्रभावकारी अपराध निरोधक दाबी गर्दै आएको सिंगापुरले लागुऔषध तस्करीमा दोषी ठहरिएका दुईजनालाई यसै साता मृत्युदण्ड दिने तयारी गरेको छ।

सरिदेवी जामानी भनेर चिनिने ४५ वर्षीया महिला र ५६ वर्षीय पुरुषलाई फाँसी दिन लागिएको अधिकारवादी संगठन ट्रान्सफर्मेटिभ जस्टिस कलेक्टिभ (टिजेसी)ले जनाएको छ। 

सिंगापुरले २० वर्षपछि पहिलोपटक महिलालाई झुन्ड्याएर मृत्युदण्ड दिन लागेको हो। टिजेसीका अनुसार ५० ग्राम हेरोइन तस्करी गरेको अभियोगमा दोषी ठहर भएका ती पुरुषलाई बुधबार चंगी जेलमा र ३० ग्राम हेरोइन तस्करी गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएकी जामानीलाई शुक्रबार फाँसी दिइनेछ। 

सन् २०१८ मा उनीहरूलाई मृत्युदण्डको सजाय सुनाइएको थियो । दण्ड पाउने दुवै सिंगापुरका नागरिक हुन् । उनीहरूका परिवारलाई उनीहरूको मृत्युदण्डको मिति निर्धारण गरिएको सूचना प्रदान गरिएको छ। 

मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले निर्धारित मृत्युदण्ड रोक्न आग्रह गरेको छ। टिजेसीले पनि मृत्युदण्ड रोक्न आग्रह गर्दै आएको छ। सिंगापुरले लागुऔषध नियन्त्रणको नाममा मृत्युदण्ड दिने क्रम जारी राख्नु अनुचित भएको टिप्पणी एमनेस्टीले गरेको छ।

विश्वका धेरै देशले मृत्युदण्डको सजाय परित्याग गर्दै लागुऔषधसम्बन्धी मुद्दा सम्बोधनका निम्ति उदार नीति अंगीकार गरिरहेको परिप्रेक्ष्यमा सिंगापुरले त्यसलाई मनन नगर्नु दुर्भाग्यपूर्ण भएको एमनेस्टीले बताएको छ।  

कोभिड– १९ को महामारीमा दुई वर्षको अन्तरालपछि सरकारले फाँसीको सजाय पुनः कार्यान्वयन गरेपछि कम्तीमा १३ जनालाई फाँसी भइसकेको छ।

सुझावित समाचार