सेयर बजारमा मंगलबार पनि दोहोरो अंकको गिरावट आएको छ। सोमबार २६ अंकले घटेको नेप्से परिसूचक मंगलबार ३६.१९ अंकले घटेर दुई हजार एक सय ६४.३१ विन्दुमा कायम भएको छ।
आज दुई सय ६७ कम्पनीका ७७ लाख १६ हजार दुई सय ७७ कित्ता सेयर खरिद–बिक्री हुँदा दुई अर्ब ९१ करोड सात लाख ३२ हजार रुपैयाँबराबरको कारोबार भएको छ। मंगलबार कारोबार रकममा पनि गिरावट आएको हो। अघिल्लो दिन चार अर्ब ७३ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।
होटेल तथा पर्यटन समूहबाहेक आज सबै समूहमा गिरावट आएको छ। होटेल तथा पर्यटन समूह ७२.३० अंकले बढ्दा जीवन बिमा उपसमूहमा सर्वाधिक १७६.४४ अंकको गिरावट आएको छ। त्यसैगरी, निर्जीवन बिमा १११.१८ र विकास बैंक ८६.४१ अंकले घटेको छ।
यस दिन किसान लघुवित्त वित्तीय संस्थाका सेयरधनीले सर्वाधिक १० प्रतिशत आर्जन गरेका छन्। त्यसैगरी, सिटी होटेलका लगानीकर्ताले ७.७४ र रिभर फल्स पावर लिमिटेडका लगानीकर्ताले ६.३१ प्रतिशत कमाएका छन्।
यता नबिल डिबेन्चर २०८५ को मूल्य सर्वाधिक ६.८७ प्रतिशतले घट्दा विपिडब्लू लघुवित्तको सेयर ५.२३ प्रतिशत र सिटिजन्स बैंकको सेयर मूल्य ४.९० प्रतिशतले घटेको छ।