नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन बाहिरिएको बारेमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
सोमबार राति कम्बोडियाको भ्रमण गरेर स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गृहमन्त्रीले गैरजिम्मेवार भएको उल्लेख गरेका छन्।
उनले गृहमन्त्रीले सुन तस्करीमा आफ्नो संलग्नता छ वा छैन भन्ने कुरा प्रमाणित गर्नुपर्ने र आफ्नो संलग्नता नभए कसको छ भन्नुपर्ने बताए।
उनले विमानस्थलमा गृह मन्त्रालयले सुरक्षाकर्मी राखेको छ कि छैन भन्दै प्रश्न गरे। गृहमन्त्री भएर गैरजिम्मेवार अभिव्यक्ति दिँदै नहिँड्न चेतावनी दिँदै उनले कसैले गृहमन्त्रीको जवाफदेहीको कुरा उठायो भनेर गृह मन्त्रायल मुद्दा हाल्न जानु कति न्यायसंगत हुन्छ भन्दै प्रश्न गरे।
नेपाल च्याम्बर अफ कमर्सको अधिवेशनमा खिचिएको फोटो जोडेर आफ्नो भ्रामक प्रचार गरिएकोप्रति आपत्ति जनाए। सुन तस्करीको विषयलाई छोप्न गृहमन्त्रीले कुराहरू मोड्ने काम गरिरहेको बताए।
अध्यक्ष ओलीले सुन काण्डको सिलसिलाको कारबाही अन्तिमसम्म नपुर्याईकन एमालेले नछोड्ने बताए। सुन बोक्नेभन्दा पनि बोक्न लगाउनेहरूलाई समातेर कारबाही नगरेसम्म एमाले चुप लागेर नबस्ने चेतावनी दिए।
गृहमन्त्री श्रेष्ठले सुन समातिएपछि विमानस्थल भन्सार र अध्यागमनको निरीक्षण गर्ने क्रममा बालुवाटार र बालकोटप्रति संकेत गर्दै कुनै पनि टार, कोट र पार्टीले छानबिन रोक्न नसक्ने अभिव्यक्ति दिएका थिए ।
अध्यक्ष ओलीले क्विन्टल सुन विमानस्थलबाट बाहिरिँदा त्यहाँको सुरक्षा व्यवस्था के भएको थियो भन्दै गृहमन्त्रीको भूमिकामाथि नै आशंका व्यक्त गरे।