स्पेनमा आइतबार सम्पन्न निर्वाचनको मतगणना करिब पूरा भएको छ। स्पेनी भाषाको दैनिक अखबार एल पाइसका अनुसार मतगणना लगभग पूरा भएको अवस्थामा निर्वाचनमा मध्य–दक्षिणपन्थी पपुलर पार्टी (पिपी) सबैभन्दा धेरै सिटमा विजयी भएको छ।
निर्वाचनमा पिपीले सबैभन्दा बढी सिट प्राप्त गरेको छ भने सत्ताधारी सोसलिस्ट पार्टी (पिएसओई)ले सर्वेक्षणले अनुमान गरेभन्दा राम्रो प्रदर्शनसहित दोस्रो धेरै मत पाउन सफल भएको छ। विजयका बाबजुद दक्षिणपन्थी समूहले सरकार गठनका लागि आवश्यक स्पष्ट बहुमत ल्याउन सकेन। त्यसैले अबको सरकार गठन प्रक्रिया कठिन भएको छ।
पिपी र अति दक्षिणपन्थी भोक्सले संयुक्त रूपमा १६९ सिट प्राप्त गरेका छन् भने पिएसओई र सुमार (१५ साना वामपन्थी पार्टीहरूको समूह) ले संयुक्त रूपमा १५३ सिट प्राप्त गरेका छन्।माथिल्लो सदनका २६५ सिटमध्ये २०८ सिटका साथै संसद्को तल्लो सदनका सबै ३५० सिटका लागि निर्वाचन भएको हो।
कंग्रेस अफ डेपुटिज (तल्लो सदन)को कुल ३५० मध्ये पूर्ण बहुमतका लागि १७६ सिट आवश्यक भए पनि १३६ सिटका साथ पिपी अगाडि छ। पिएसओई १२२ सिटका साथ दोस्रो स्थानमा छ। भोक्सले ३३ र सुमारले ३१ सिट प्राप्त गरेका छन्। एल पाइसका अनुसार बाँकी सिटहरू क्याटालोनिया र बास्क क्षेत्रका केही साना क्षेत्रीय पार्टीहरूले जितेका छन्।
यसैबीच, प्रधानमन्त्री पेड्रो सान्चेजले त्रिशंकु संसद् र पिपुल्स पार्टीले सबैभन्दा बढी सिट जिते पनि करिब ९९ प्रतिशत मत गणना गर्दा वामगठबन्धनले जित हासिल गरेको दाबी गरेका छन्।
‘हामीले चार वर्षअघिको तुलनामा धेरै मत, धेरै सिट र उच्च प्रतिशत जित हासिल गरेका छौँ,’ सान्चेजले समर्थकलाई निर्वाचन परिणामबारे सान्त्वना दिँदै भने। यहाँको गृह मन्त्रालयका अनुसार सन् २०१९ को तुलनामा आइतबार सम्पन्न निर्वाचनमा चार प्रतिशत बढी अर्थात् ७०.३३ प्रतिशत मतदान भएको छ।