बालबालिकामा बोलीको विकास

आइतबार, ७ साउन, २०८०
डिजिटल संस्करण

बच्चा जन्मेको ६ महिनादेखि नै सामान्य बोलीचाली सुरु गर्छन् । यो उमेरमा बच्चा ‘आ, उ’ जस्ता आवाज निकाल्न थाल्छन् । एक वर्षको हुँदा केही शब्द जस्तै– ‘मामा, पापा, बाबा’ शब्द बोल्ने गर्छन् । तीन वर्षको उमेरदेखि केही शब्दको वाक्य बोल्न थाल्छन् । तर, केही बालबालिकाको बोली फुट्न धेरै समय लाग्छ । कतिपयमा नबोल्ने समस्या पनि हुन सक्छ । 

यस्ता समस्याले समयमै बोलीको विकास नहुन सक्छ 
ल्याडिन्स र जिब्रोको संयोजनले निस्कने आवाज नै बोली हो । कुनै पनि बच्चा जन्मेपछिको तीन वर्षभित्र उसको मस्तिष्कको झन्डै ९० प्रतिशत विकास भइसक्ने गर्छ । यस अवधिमा मस्तिष्कमा कुनै समस्या वा चोट देखियो भने बोलीको विकासमा समस्या आउन सक्छ । अक्सिजनको कमी, रगत जमेर वा कुनै प्रकारको संक्रमणका कारण पनि मस्तिष्कको विकास राम्ररी नभएको हुन सक्छ । 

मस्तिष्कको भोकल सेन्टर (जहाँबाट बोली कन्ट्रोल हुन्छ)मा असर पर्दा पनि बोलीको विकास हुन सक्दैन । बच्चाले राम्ररी बोल्न नसक्ने वा सुस्त बोल्ने समस्या यस्ता कारण देखिन सक्छ । बोली ढिलो फुट्नुका अन्य कारण पनि हुन सक्छन् । कुनै न कुनै बच्चामा जन्मजात सिन्ड्रोमिक डिजिज हुन्छ, यसले पनि बोलीमा असर गरिरहेको हुन्छ । कुनै कुराले दिमागमा असर गर्दा पनि बोलीमा ढिलोपन आउने हुन्छ ।

बोलीमा ढिलाइको कारण श्रवणशक्तिमा देखिएको अवरोध पनि हो । सुन्न नसक्ने बच्चामा बोलीको विकास हुँदैन । बोलीको विकासका लागि बच्चाले सुन्न आवश्यक हुन्छ । महिना नपुगी जन्मिएका बच्चा, नवजात अवस्थामै हुने संक्रमणलगायतले पनि बोलीमा समस्या निम्त्याएको हुन सक्छ । 

अटिजमका कारण पनि बच्चाको बोलीको विकास ढिला भएको हुन सक्छ । त्यसैले बच्चाको बोली फुट्न कुनै समस्या देखिएमा चिकित्सकसँग परामर्श गरेर उपचार थाल्नुपर्छ ।

बोलीको विकास कसरी गर्ने ?
- बच्चाको बोलीको विकासमा सबैभन्दा ठूलो भूमिका अभिभावकको हुन्छ । बोलीको विकासका लागि बच्चाले सुन्न आवश्यक हुन्छ । बच्चाले त्यही बोलीलाई अनुशरण गर्दै बोल्ने बानी विकास गर्छन् । त्यसैले अभिभावकले बच्चालाई बोल्न र सिक्न प्रोत्साहन गर्नुपर्दछ ।
- ‘मामा’ ‘बाबा’ ‘दादा’ जस्ता शब्दको आफूले उच्चारण गर्नुपर्छ । जसकारण बच्चाले सोही शब्द फर्काउने कोसिस गर्छ ।
- विभिन्न आवाज निकाल्दा बच्चातर्फ हेरेर वार्तालाप गर्नुपर्छ ।
- बच्चालाई ताली बजाउन, नमस्कार गर्न सिकाउनुपर्छ । हात हल्लाउने, औँलाले देखाउनेजस्ता इसाराको प्रयोग गर्नुपर्छ । बच्चाले हाँस्दा, अनुहारमा भाव प्रकट गर्दा उस्तै अनुहार बनाएर देखाउनुपर्छ ।
- बच्चालाई तेल लगाउँदा, नुहाउँदा, खुवाउँदा दोहोरो कुराकानी गर्नुपर्छ । 

बोलीको विकास ढिला भएमा के गर्ने ?
- बोल्ने अभ्यास गराउने
- एउटा–एउटा शब्द बोल्न लगाउने
- बच्चासँग धेरै कुराकानी गर्ने
- बच्चालाई मोबाइल, ल्यापटप, कम्प्युटर र टिभी धेरै प्रयोग गर्न नदिने
- बच्चालाई धेरैभन्दा धेरै समय दिने
- बच्चाको बोली विकासको विषयमा शंका भएमा सम्बन्धित चिकित्सकलाई देखाउनुपर्छ ।

सुझावित समाचार