लम्पी स्किन रोगबाट बाँकेमा हालसम्म २५ पशुचौपायाको मृत्यु भएको छ । ३५ हजार पशुमा ‘लम्पी स्किन’को संक्रमण देखिए पनि अहिलेसम्म २५ पशुचौपायाको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र नेपालगन्जका प्रमुख कमला अधिकारीले बताइन् ।
बाँकेमा करिब एक लाखको हाराहारीमा भैँसी र ६० हजारको हाराहारीमा गाई रहेको उनको भनाइ छ । लम्पी स्किन रोगको संक्रमण जिल्लाभर फैलिएको छ । उक्त रोगबाट पशुचौपायालाई जोगाउन खोप दिन थालिएको छ । ‘चौपायामा देखिएको ‘लम्पी स्किन’ रोग नियन्त्रण गर्न खोप दिन थालिएको छ,’ उनले भनिन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख कमला अधिकारीका अनुसार बाँकेमा ६ हजार दुई सय डोज खोप आएको छ । उनले दुई हजार पाँच सय खोप तीनवटा पालिकामा वितरण गरिएको बताइन् । ‘पहिलो चरणमा व्यावसायिक पशुपालन गरेका कृषकको फार्ममै पुगेर लम्पी स्किन रोगविरुद्धको खोप दिन सुरु गरेका छौँ । दोस्रो चरणमा किसानको घर–घरमा गएर चौपायालाई खोप दिन्छौँ,’ उनले भनिन् ।