गएको आर्थिक वर्ष सामान्यतः नेपालीका लागि सन्तोषजनक रहेन । आर्थिक मन्दीले सानादेखि ठूला उद्योगी–व्यापारीलगायत सर्वसाधारणसम्म सबैले कुनै न कुनै रूपमा आर्थिक संकटको सामना गरे । तर, ‘कालो बादलमा पनि चाँदीको घेरा हुन्छ’ भनेझैँ मन्दीकै बीचमा पनि देशमा ठूला–ठूला उद्योग खुले वा सञ्चालनमा आए । एक आर्थिक वर्षमै देशमा कुल ४३ अर्ब रुपैयाँ लागतका उत्पादन तथा सेवामूलक उद्योग–कलकारखाना स्थापना भए ।
व्यावसायिक घराना चौधरी ग्रुपले मन्दीकै बीचमा पाल्पाको सर्देवामा क्लिंकरबेस सिमेन्ट उद्योग सञ्चालनमा ल्याएको छ । गोल्छा ग्रुपले ०८० वैशाखमा नवलपरासीको रामग्राममा सामसङ टेलिभिजनको अत्याधुनिक कारखाना सञ्चालनमा ल्याएको छ । युवामाझ लोकप्रिय रोयल इन्फिल्डका बाइकहरू वीरगन्जमै एसेम्बल गर्न सुरु भएको छ । हालै मात्र रौतहटमा दुई अर्ब लगानीको प्राइम टायल सञ्चालनमा आएको छ ।
कतिपय व्यवसायीले मन्दीका कारण सञ्चालनमा रहेकै उद्योग पनि बन्द गर्नुपर्ने गुनासो गरिरहँदा देशमा ठूला–ठूला उद्योग स्थापना हुने वा सञ्चालनमा आउने काम पनि रोकिएको थिएन ।
१५ अर्ब लगानीको सिजी पाल्पा सिमेन्ट
चौधरी ग्रुपले हालै पाल्पाको सर्देवामा क्लिंकर उत्पादनसहितको सिमेन्ट उद्योग सञ्चालनमा ल्याएको छ । करिब १५ अर्ब रुपैयाँ लगानी गरिएको सिजी पाल्पा सिमेन्ट उद्योगको दैनिक उत्पादन क्षमता चार हजार मेट्रिकटन छ । कोभिड महामारीका कारण उद्योग केही ढिलो सञ्चालनमा आएको हो । यस उद्योगले नवलपरासी दुम्किवासमा रहेको ग्रुपअन्तर्गतकै सिजी सिमेन्ट उद्योगलाई क्लिंकर सप्लाई गर्ने बताइएको छ । दशकअघि दुम्किवासमा सञ्चालनमा आएको उद्योगमा अहिले दैनिक तीन टन उत्पादन क्षमता पुर्याइएको छ । चौधरी ग्रुपले दाङको सम्राट सिमेन्टको ३० प्रतिशत सेयर करिब तीन अर्बमा खरिद गरिसकेको छ ।
दुई अर्ब लगानीको प्राइम सेरामिक्स
रौतहतको वृन्दावन नगरपालिका–६ मा प्राइम सेरामिक्स प्रालिले टायल उत्पादन सुरु गरेको छ । १४ असारदेखि बजारमा आएको ‘प्राइम टायल’ पूर्ण स्वचालित इटालियन प्रविधिबाट उत्पादन हुन्छ । यो देशकै दोस्रो टायल उद्योग हो । अघिल्लो वर्ष बारामा ‘नेपोभिट’ ब्रान्डमा टायल उत्पादन सुरु भएको थियो । प्राइम टायल उद्योगमा दुई अर्ब रुपैयाँ लगानी भएको छ।
उद्योगले टायल उत्पादनमा ५० प्रतिशत स्वदेशी कच्चा पदार्थ (माटो) प्रयोग गरिरहेको प्राइम सेरामिक्सका अध्यक्ष आशिष गर्गले बताए । उद्योगबाट घरायसी, व्यापारिक, पूर्वाधार तथा सार्वजनिक स्थलमा प्रयोग हुने दुई सय ५० डिजाइनभन्दा बढीका वाल एवं फ्लोर टायल उत्पादन हुने बताइएको छ । यस उद्योगको दैनिक उत्पादन क्षमता डेढ लाख वर्गफिट रहेको छ । स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर उत्पादन गरिएकाले टायलको मूल्य १५–२० प्रतिशत सस्तो पर्ने गर्गको भनाइ छ ।
५० करोड लगानीमा रोयल इन्फिल्ड एसेम्बल
रोयल इन्फिल्डले त्रिवेणी समूहसँगको सहकार्यमा वीरगन्जमा एसेम्बली प्लान्ट स्थापना गरेको छ । आधुनिक प्रविधिले सुसज्जित एक लाख स्क्वायर फिटको सिकेडी प्लान्ट रोयल इन्फिल्डको पाँचौँ प्लान्ट हो । भारतको तामिलनाडुमा मुख्य उत्पादन केन्द्र रहेको रोयल इन्फिल्डका थाइल्यान्ड, ब्राजिल, अर्जेन्टिना र कोलम्बियामा एसेम्बली प्लान्ट रहेका छन् ।
करिब ५० करोड रुपैयाँ लगानी भएको एसेम्बल प्लान्टबाट वार्षिक २० हजार युनिट बाइक एसेम्बल गर्न सकिन्छ । कम्पनीले पहिलो लटमै एसेम्बल गरेको क्लासिक ३५० र स्क्र्याम ४११ बजारमा ल्याइसकेको छ ।
६० करोड लगानीमा सामसङको कारखाना
कोरियन कम्पनी सामसङले गोल्छा समूहसँगको सहकार्यमा नेपालमै टेलिभिजन एसेम्बल सुरु गरेको छ । १३ वैशाखदेखि सञ्चालनमा आएको अत्याधुनिक फ्याक्ट्रीबाट ३२ देखि ८५ इन्चसम्मका टिभी उत्पादन हुन्छन् । विगत ११ वर्षदेखि सामसङका उत्पादन बिक्री गर्दै आइरहेका शेखर गोल्छाले करिब ६० करोड रुपैयाँ लगानीमा कारखाना स्थापना गरेका हुन् । नेपालमा उत्पादित सामसङ टेलिभिजनमा ‘एसेम्बल्ड इन नेपाल’ लेख्ने गरिन्छ । नेपालमा बहुराष्ट्रिय कम्पनीले इलेक्ट्रोनिक्स सामान उत्पादन गर्न स्थापना गरेको यो नै पहिलो उद्योग हो ।
थपियो करिव खर्ब लगानीको चार सय ९१ मेगावाट विद्युत्
गत आर्थिक वर्षमा चार सय ९१ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ । २१ वटा जलविद्युत् र ६ वटा सोलार पावर प्लान्टको विद्युत् प्रसारण लाइनमा जोडिएको हो । नेपालमा विद्युत् उत्पादन लागत औसतमा प्रतिमेगावाट २० करोड रुपैयाँ मान्ने गरिन्छ । त्यसै आधारमा सो वर्ष सञ्चालनमा आएका जविद्युत् आयोजनाको लगानी करिव एक खर्ब अनुमान गरिएको छ ।
हाल नेपालको कुल विद्युत् जडित क्षमता दुई हजार सात सय ५९ मेगावट पुगेको छ । गत वर्ष ८६ मेगावाटको सोलुखोला दूधकोसी जलविद्युत् आयोजना सञ्चालनमा आएको छ, जुन निजी क्षेत्रबाट प्रवद्र्धित सबैभन्दा ठूलो आयोजना हो । १७ फागुनबाट व्यावसायिक उत्पादन थालेको यस आयोजनामा करिब १४ अर्ब रुपैयाँ लगानी गरेको छ । यस्तै, एमभी दुगड ग्रुपले बनाएको ५५ मेगावाट क्षमताको लिखु टु को पनि अहिले परीक्षण सञ्चालनमा छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार, गत वर्ष चेपेखोला स्मल (८.६३ मेवा), दोर्दी–१ (१२ मेवा), दोर्दी खोला (२७ मेवा), पुवा–२ (४.९९ मेवा), अपर बलेफी ‘ए’ (३६ मेवा), तल्लो लिखु (२८.१ मेवा), अपर दोर्दी ‘ए’ (२५ मेवा), सैती खोला (०.९९ मेवा), मध्यसोलु खोला (९.५ मेवा), मध्यमोदी (१५.१ मेवा), कालंगा गाड (१५.३३ मेवा), अपर कालंगा गाड (३८.४६ मेवा), अपर माछाखोला स्मल (४.५५ मेवा), अपर पिलुवा–२ (४.७२ मेवा), मकरी गाड (१० मेवा), सुपर मादी (४४ मेवा), रुकुम गाड (५ मेवा), सुपरदोर्दी ‘ख’ (५४ मेवा), अपर सोलु (१८.२३ मेवा) र माया खोला (१४.९ मेवा) सञ्चालनमा आएका हुन् ।
साढे १४ अर्ब लगानीमा आठवटा ठूला होटेल
यसै वर्ष देशभरमा कुल सातवटा ठूला होटेल सञ्चालनमा आएका छन् । गत महिना पोखराको सेदीमा लक्जरी सेगमेन्टको दोर्जे रिसोर्ट एन्ड स्पा सञ्चालनमा आएको हो । २३ कोठा रहेको रिसोर्टमा कुल एक अर्ब लगानी भएको छ, जसमा चारवटा स्विट र १९ वटा डिलक्स रुम छन् । २५ वर्षदेखि पोखराको लेकसाइडमा ‘मुन डान्स रेस्टुरेन्ट’ सञ्चालन गर्दै आएका दोर्जे लामाले हाई एन्ड रिसोर्ट खोलेका हुन् । रिसोर्टका प्रत्येक कोठाबाट फेवातालको सुन्दर दृश्य देख्न सकिन्छ । पर्यटकीय सिजनमा प्रतिकोठा प्रतिदिन पाँच सयदेखि आठ सय अमेरिकी डलरसम्म बिक्री गर्ने उनको लक्ष्य छ । तर, अहिले सञ्चालनमा आएको अवसरमा ‘इन्ट्रोडक्टरी प्राइस’ भनेर प्रतिदिन प्रतिकोठा २० हजार रुपैयाँ तोकेको उनले बताए।
काभ्रेको नमोबुद्धमा हालै लक्जरी रिसोर्ट दुसित थानी हिमालयन रिसोर्ट सञ्चालनमा आएको छ । साढे दुई अर्ब लगानी रहेको रिसोर्टमा भिल्लासहित ८५ कोठा छन् । दुसित थानी थाइल्यान्डको चर्चित होटेल चेन हो । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको अगुवाइमा खुलेको रिसोर्ट ६३ रोपनी क्षेत्रफलमा फैलिएको छ । इटहरीमा ८५ कोठाको पाँचतारे ‘सोल्टी वेस्टेन्ड इटहरी’ सञ्चालनमा आएको छ । स्थानीय व्यवसायी भीम पौडेल र बलराम आचार्यको डेढ अर्ब लगानी रहेको होटेलको व्यवस्थापन सोल्टी समूहले सम्हालेको हो ।
भैरहवाको अञ्चलापुरमा पाँचतारे सिद्धार्थ भिलासा खुलेको छ । साढे दुई अर्ब लगानी भएको होटेलमा ८५ कोठा छन् । गत वर्ष नै नगरकोटमा बैंकर पृथ्वीबहादुर पाँडे, विशाल ग्रुप र गोल्छा परिवारको करिब तीन अर्ब लगानीमा काव्य रिसोर्ट एन्ड स्पा सञ्चालनमा आएको छ । रिसोर्टमा विभिन्न प्रकारका २० वटा भिल्ला छन् । यस्तै, सुगतरत्न कंसाकारको परिवारले नगरकोटमा एक अर्ब १६ करोड लगानीमा तायो इको रिसोर्ट सञ्चालनमा ल्याएका छन् । ३० रोपनी क्षेत्रफलमा रहेको रिसोर्टमा दुईवटा स्विटसहित ४२ कोठा छन् । बाराही हस्पिटालिटी ग्रुपले काठमाडौंको कान्तिपथमा सवा अर्ब लगानीमा चारतारे बाराही होटेल सञ्चालनमा ल्याएको छ ।
सात अर्बमा बुटवल र गैँडाकोटको केबलकार
आइएमई समूहले गत आर्थिक वर्षमा एकैपटक दुई ठाउँमा केबलकार सञ्चालनमा ल्याएको छ । बुटवलदेखि पाल्पाको वसन्तपुर र नवलपुरको गैँडाकोटदेखि मौलाकालिका जोड्ने केबलकार सञ्चालनमा आएका हुन् । बुटवलको २.६ किमि लामो केबलकारसँगै वसन्तपुरमा एक सय ५० कोठाको पाँचतारे रिसोर्ट, क्यासिनो पनि सञ्चालनमा आउने आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । केबलकारमा डेढ अर्ब लगानी भएको छ भने अन्य संरचनामा साढे तीन अर्ब लगानी हुने अनुमान छ । यस्तै, मौलाकालिकामा पनि ५० कोठाको होटेल निर्माण भइरहेको छ । त्यहाँ १.२ किमि लामो केबलकार र होटेलमा सहित दुई अर्ब लगानी हुने अनुमान छ ।
पाँच अर्बका दुई स्टिल उद्योग
पुस ०७९ मा सुनसरीको दुहबीमा नयाँ रोलिङ मिल सञ्चालनमा आएको छ । पाँचजना व्यवसासी मिलेर साढे दुई अर्ब रुपैयाँ लगानीमा बजरंग ब्रान्डको टिएमटी छड उत्पादन गर्ने उद्योग खोलेका हुन् । उद्योगले दैनिक पाँच सय टन डन्डी तथा फलामजन्य सामग्री उत्पादन गर्छ । साथै, आफ्नै भट्टी राखेर बिलेट पनि उत्पादन गरिरहेको उद्योगका निर्देशक राजकुमार गोल्छाको भनाइ छ ।
गत वर्ष नै सारडा ग्रुप र राठी ग्रुपले संयुक्त लगानीमा मोरङमा प्रिमियर स्टिल बिलेट उद्योग सञ्चालनमा ल्याएका छन् । ९ माघदेखि उद्योगले व्यावसायिक उत्पादन सुरु गरेको हो । १४ महिनामै तयार पारेको फर्नेस प्लान्टको दैनिक बिलेट उत्पादन क्षमता पाँच सय मेट्रिकटन छ । बिलेट उत्पादन गर्ने प्लान्टमा साढे दुई अर्ब लगानी भएको बताइएको छ । यसअघि दैनिक तीन सय मेट्रिक टन टिएमटी डन्डी बनाउने प्रिमियरको कारखानामा डेढ अर्ब लगानी भइसकेको छ ।
४० करोडको आरजु राइस मिल
बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतले मोरङको बेलबारीमा आरजु राइस मिल सञ्चालनमा ल्याएका छन् । उनले करिब ४० करोड रुपैयाँ लगानीमा अत्याधुनिक राइस मिल सञ्चालनमा ल्याएका हुन् । उद्योगमा ठूला चारवटा भण्डारणगृहसमेत बनाइएको छ । कृषकलाई धानखेतीमा आकर्षित गर्ने उद्देश्यसहित राइस मिल सञ्चालनमा ल्याएको उनको भनाइ छ । आरजु ब्रान्डको लङग्रेन चामल बजारमा उपलब्ध भइसकेको छ ।