मानिसहरू जिममा गएपछि जथाभावी सामान उचाल्न थाल्छन् । तर, कुन अभ्यास गर्दा कस्तो पोजिसनमा बस्ने, कतिवेला सास तान्ने र छाड्ने भन्ने जानकारी जिम गर्नेले राख्नुपर्छ । गलत तरिकाले अभ्यास गर्दा ढाड सड्किने, हातका जोर्नी र कुम दुख्ने, घुँडा दुख्ने, शरीर बिग्रने आदि समस्या देखिन सक्छन् । त्यसैले मनपरी अभ्यास गर्नुको साटो दक्ष प्रशिक्षकको निगरानीमा जिम गर्नु राम्रो हुन्छ ।
व्यक्तिगत वर्कआउट प्लान : फिजिकल ट्रेनरले तपाईंको फिटनेस लेभल, उद्देश्य हेरेर विशेष प्रकारको वर्कआउट प्लान तय गर्छन् । जसकारण, तपाईंको व्यायाम प्रभावकारी र सुरक्षित हुन्छ । चोटको जोखिम कम रहन्छ र धेरैभन्दा धेरै फाइदा लिन सकिन्छ ।
सही टेक्निक : ट्रेनरले सही टेक्निकमा जिम गर्न सिकाउँछन् । जसकारण छोटो समयमै पनि धेरै लाभ लिन सकिन्छ ।
प्रेरणा : ट्रेनरले जिमका लागि प्रेरित गर्ने काम पनि गर्छन् । आफ्नो फिटनेसको लक्ष्यमा कसरी अघि बढ्ने भनेर सिकाउँछन् । तपाईंको प्रगति र खानपानका विषयमा पनि आवश्यक जानकारी लिन्छन् । आवश्यक डाइट प्लान तयार गर्न सहयोग गर्छन् ।
समय व्यवस्थापन : समय व्यवस्थापनका लागि पनि प्रशिक्षकको निगरानीमा जिम गर्नु राम्रो हुन्छ । उनीहरूले छोटो समयमै लाभ लिन सकिने गरी योजना तय गर्छन् । पोषण, सही हाइड्रेसनलगायत विषयमा जानकारी दिन्छन् ।
आत्मविश्वास : प्रशिक्षकको निगरानीमा जिम गर्दा आत्मविश्वास पनि बढेर जान्छ । विनाप्रशिक्षक जिम गर्दा उपकरणहरू कसरी प्रयोग गर्ने भन्ने विषयमा अलमलमा पर्न सकिन्छ । तर, प्रशिक्षकले यस्तो द्विविधामा पर्न दिँदैनन् । शरीरलाई वार्मअप र स्टे«चिङ नगरी अभ्यास गर्दा मांसपेशी फाट्ने समस्या देखिन सक्छ । आफ्नो शरीरको तौलअनुसार कार्डियो, जम्पिङ, फास्ट ट्रयाक अभ्यास, हेभी जिम, लाइट जिम आदि गर्नुपर्ने हुन्छ । प्रशिक्षकको निगरानीमा अभ्यास गर्दा यी कुरा बुझ्न सहज हुन्छ ।