ललितानिवास प्रकरण : अनुसन्धान लम्बिँदा विदेश भाग्न थाले आरोपी

बिहिबार, ४ साउन, २०८०
डिजिटल संस्करण
ललितानिवास प्रकरण : अनुसन्धान लम्बिँदा विदेश भाग्न थाले आरोपी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात

अख्तियारका पूर्वप्रमुख बस्न्यात अनुसन्धान सुरु भएकै दिनदेखि भारतमा 

ललितानिवास जग्गा हिनामिनामा प्रकरणको अनुसन्धान लम्बिँदा आरोपीहरू विदेश भाग्न थालेका छन् । बन्दी प्रत्यक्षीकरणको मुद्दा लम्बिँदा प्रहरी अनुसन्धानमा भन्दा अदालतमा बढी व्यस्त भइरहेको छ । 

पक्राउ परेका आरोपी तथा गत वर्ष नै पक्राउ नगर्न अन्तरिम आदेश लिएकाको मुद्दा सर्वाेच्च अदालतमा विचाराधीनमा छ । तीन सातादेखि प्रहरी बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाका लागि अनुसन्धानको फाइल बोकेर सर्वाेच्च अदालत धाउँदै आएको छ । सर्वाेच्चमै दैनिक धाउनुपर्दा अनुसन्धानमा केन्द्रित हुन नपाएको प्रहरी अधिकारीहरू बताउँछन् । तीन दिनदेखि सो मुद्दामा लगातार सुनुवाइ भए पनि आदेश भएको छैन । 

तीन सय ५० भन्दा धेरै आरोपी भए पनि हालसम्म सिआइबीले १८ जनालाई मात्र पक्राउ गरेको छ । प्रहरी खोजीमा रहेका कतिपय विदेश पुगिसकेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात प्रहरीले अनुसन्धान सुरु गरेलगत्तै विदेश पुगेको खुलेको छ । गत १२ असारमा उनी भारत गएको अध्यागमनको रेकर्ड छ । सोही दिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यसमा मुछिएका व्यक्तिलाई पक्राउ गरी अनुसन्धान थालेको थियो । 

बस्न्यात उपचारका लागि भनेर विदेश गएकोमा हालसम्म फर्किएका छैनन् । उनी भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा ललितानिवास जग्गा भ्रष्टाचारमा जोडिएका थिए । त्यही वेला विशिष्ट व्यक्तिको निवास विस्तारसम्बन्धी परियोजना बनाएर करिब २५ रोपनी जग्गा हिनामिना भएको थियो । साढे तीन वर्षअघि नै अख्तियारले उनलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । जसमा विशेष अदालतले समेत उनलाई थुनामा पठाएकोमा पछि सर्वाेच्च अदालतको आदेशमा छुटेका थिए । 

बस्न्यातको निर्देशनमा टिप्पणी उठाउने तत्कालीन अधिकृत रहेका सञ्चारसचिव कृष्णबहादुर राउत भने सिआइबी हिरासतमै छन् । राउत त्यति वेला बस्न्यातको विश्वासपात्रका रूपमा मन्त्रालयमा कार्यरत रहेको स्रोत बताउँछ । सोही आधारमा उनले विशिष्ट व्यक्तिको निवास विस्तारसम्बन्धी टिप्पणी उठाएका थिए । त्यति वेला मन्त्रालयको सहसचिव रहेका नारायणगोपाल मलेगोमाथि पनि सिआइबीले अनुसन्धान गरिरहेको छ । ‘हाम्रो खोजीमा रहेका कतिपय व्यक्ति विदेश गइसकेको पाइएको छ,’ सिआइबीका एक अधिकृतले भने, ‘मुद्दा–मामिलाका कारण पनि थप अभियुक्त पक्राउमा समस्या भइरहेको छ ।’ अनुसन्धान प्रभावित हुँदा उच्चपदस्थमाथि प्रमाण जुटाउन कठिन हुन सक्ने प्रहरीको चिन्ता छ । 

पक्राउ परेकामध्ये धेरैको बयान प्रहरीले लिइसकेको छ । मालपोतका पूर्वअधिकृत धर्मप्रसाद गौतमले ललितानिवासको जग्गा सरकारी नै भएकाले व्यक्तिको नाममा जानु गलत भएको बयान दिएका छन् । तर, सो जग्गा व्यक्तिको नाममा लैजान आफ्नो भूमिका नभएको उनको दाबी छ । सिआइबीले नक्कली मोहीलाई समेत पक्राउ गरेको थियो । मोहीहरूले पनि सो जग्गाबारे आफूलाई जानकारी नभएको, शोभाकान्त ढकाल तथा रामकुमार सुवेदीले केही पैसा दिएर उजुरी दिन लगाएको बयान दिएका छन् । 

चारपटक गरेर बालुवाटारस्थित प्रधानमन्त्रीनिवाससँगैका एक सय ४३ रोपनी जग्गा हिनामिना भएको थियो । जसमा चारवटा छुट्टाछुट्टै मुद्दा दायरको तयारी भइरहेको छ । केही आरोपीले मुद्दाको हदम्यादको छिद्रमा खेलेर अनुसन्धानलाई डिसमिस गराउने प्रयास गरिरहेका छन् ।

सुझावित समाचार