सीतालाई सम्झिँदै प्रधानमन्त्री प्रचण्डले भने–देश र जनताप्रति थप जिम्मेवार हुन प्रेरणा मिलेको छ

बुधबार, ३ साउन, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जीवनसाथी एवं सहयोद्धा सीता दाहालको निधनपछि सबैको साथ र समवेदनाले देश र जनताप्रति थप जिम्मेवार हुन प्रेरित गरिरहेको महसुस भएको बताएका छन् । बालुवाटारमा मंगलबार आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रचण्डले आफ्नो बाँकी जीवन असमानताको अन्त्य गर्न झनै सक्रिय र सशक्त भूमिका निर्वाह गर्नुपर्छ भन्ने प्रेरणा मिलेको बताए ।

‘उनको मृत्युमा प्रकट भएको जनअभिव्यक्ति र जनउभारले मलाई र मेरो परिवारलाई देश र जनताप्रति अझै ठूलो जिम्मेवारीबोध गराएको छ,’ माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले भने, ‘नेपाली समाजमा व्याप्त आर्थिक, सामाजिक, सांस्कृतिक असमानताको अन्त्य गर्न बाँकी जीवनमा झनै सक्रिय र सशक्त भूमिका निर्वाह गर्नुपर्छ भन्ने प्रेरणा पनि मिलेको छ ।’ सीताले बाँचुन्जेल अरूलाई पीडा नदिएको प्रचण्डले स्मरण गरे । 

‘पछिल्ला वर्षहरूमा हामीले एक छोरी र छोरासहित दुई सन्तानको असामयिक र अकल्पनीय मृत्यु व्यहो¥यौँ । शरीरले साथ दिएसम्म यो पीडामा उनी पनि दृढतापूर्वक उभिनै रहिन् । त्यो पीडाको सामना गरिरहिन्,’ उनले भने, ‘बिरामी भएपछि राज्यबाट सुविधा नलिई उपलब्ध सबैखाले पद्धतिबाट उपचारको प्रयास पनि गरिनै रह्यौँ । उनी थला नै परेपछि उनको अन्तिम अवस्था दुःखदायी र कष्टप्रद हुन्छ कि भन्ने चिन्ता थियो । अन्तिम अवस्थामा आइसियू वा भेन्टिलेटरमा पीडादायी मृत्युवरण देख्नुपर्छ कि भन्ने चिन्ता थियो । तर, बाँच्दासम्म अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि निकै शान्त रोजिन् । साढे सात बजे हामीले हस्पिटल लगेका थियौँ, झन्डै साढे आठ बजे उनी हामी सबैबाट बिदा भइन् ।’

श्रद्धाञ्जली कार्यक्रममा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायत विशिष्ठ व्यक्तित्वहरूको उपस्थिति थियो । 

See More On

सुझावित समाचार