जर्मनीमा जुर्मुराउँदो उग्र–दक्षिणपन्थ

एएफडीका समर्थकमा अधिनायकवादलाई अनुमोदन गर्ने सम्भावना कम्तीमा चारगुणा र नाजी अपराधलाई कम आपराधिक आँक्ने सम्भावना १० गुणाले बढी छ

मंगलबार, २ साउन, २०८०
डिजिटल संस्करण

बर्लिनको दक्षिण–पश्चिममा दुई घन्टाको दूरीमा अवस्थित रागुन–जेस्निट्जमा चुनावी पोस्टरलाई हेर्दा त्यति आपत्तिजनक देखिँदैन । यी पोस्टरमा ‘मातृभूमि, संस्कृति र क्लबका लागि अटुट समर्थन’ शब्द देख्न सकिन्छ । यी पोस्टरले ह्यान्स लोथलाई मुल्दे खोलाको छेउमा रहेका बस्तीमा यस महिनाको सुरुवातमा मेयर पद जित्न मद्दत गरेका थिए ।

ह्यानेस लोथको विजयलाई जर्मनीको इतिहासमा निकै चासोसाथ हेरिनुपर्छ, किनभने पहिलोपटक उग्र दक्षिणपन्थी पार्टी अल्टरनेटिभ फर जर्मनी पार्टी (एएफडी) का उम्मेदवार नगरपालिका पूर्णकालीन नेताका रूपमा निर्वाचित भएका छन् । यस क्षेत्रका आठ हजार मतदाताले गरेको यस निर्णयले जर्मनीमा सामान्यतया ‘इनेन सिटस्टर्म’ भनेर चिनिने विवाद र नकारात्मक प्रतिक्रियाको आँधीबेहरी फैलिएको छ । 

एएफडी एक दशकअघि युरोपियन युनियनप्रति शंका गर्ने बुद्धिजीवीको समूहले स्थापना गरेको थियो । समय बित्दै जाँदा पार्टीले आफूलाई उदारवादी संस्थापकबाट टाढा बनाउँदै बलियो राष्ट्रवादी अडानलाई अँगाल्यो । पार्टीले ‘आप्रवासन’ र ‘आम’ मानिसको ‘सम्भ्रान्त’ जर्मनीबाट भएको तथाकथित अलगावका मूलतः दुईवटा मुद्दामा धेरै ध्यान केन्द्रित गरेको थियो ।

एएफडीका लागि प्रमुख मोडमध्ये सन् २०१५–०१६ मा भएको शरणार्थी संकट थियो, त्यतिवेला विशेषतः सिरियाबाट शरणार्थीको आगमन भइरहेको थियो । यस मुद्दालाई लिएर व्याप्त चिन्ताको फाइदा उठाउँदै पार्टीले लोकप्रियता हासिल गर्यो र सन् २०१७ मा पार्टीले सात सय नौ बुन्डेस्टगमा (अहिले सात सय ३६ सिटमा विस्तारित) ९४ सिट जित्दै १३ प्रतिशत मत हासिल गर्यो । तर, यो संख्या २०२१ को आमचुनावमा घटेर १० प्रतिशतमा झरेको थियो । सहरिया जर्मनले एएफडीलाई नश्लभेदी र मूर्खहरूको समूहका रूपमा खारेज गरेका थिए । पुराना पार्टीले यस पार्टीलाई कहिल्यै गठबन्धन साझेदार बनाउनसम्म योग्य ठानेका थिएनन् ।

एएफडीले विशेषतः पूर्वी जर्मनीको न्यून जनसंख्या भएको र आर्थिक रूपमा चुनौतीपूर्ण क्षेत्रमा बिस्तारै बलियो गरी जरा गाड्दै गयो । किनभने, गत वर्ष चुनावमा पार्टीको समर्थन निरन्तर बढेको देखिन्छ, अर्थात् समर्थन १० प्रतिशतबाट २० प्रतिशतभन्दा बढ्यो । यद्यपि गत महिना एएफडीले रगुन–जेस्निट्जको दक्षिणमा रहेको थुरिंगियामा जिल्ला प्रशासनको नियन्त्रण हासिल गर्दा र पछि लोथले मेयर जित्दा मात्रै खतराको घन्टी बजेको थियो ।

राजनीतिक विषयमाथि हुने विभिन्न टक सोका सर्वेक्षणले यो नयाँ पार्टीले सत्तारुढ गठबन्धनको दोस्रो ठूलो पार्टी सोसल डेमोक्य्राटलाई पछाडि पार्दै जर्मनीको दोस्रो सबैभन्दा लोकप्रिय पार्टी बनेकोसमेत औँल्याए । राष्ट्रिय रूपमा एएफडी मध्यम दक्षिणपन्थी क्रिस्टियन डेमोक्य्राटभन्दा करिब ६ अंकले पछाडि छ । यसबाहेक पूर्वी जर्मनीमा एएफडी सबैले रुचाएको पार्टीका रूपमा शीर्ष स्थानमा छ ।

एएफडीको लोकप्रियता बढ्नुका पछाडि धेरै कारण छन् । विभिन्न कोणबाट आलोचनाको सामना गरिरहेको गठबन्धन सरकार अहिले कमजोर बनेको छ । आर्थिक मन्दी, कोभिड–१९ महामारी, युक्रेन युद्ध र ऊर्जा झट्का जस्ता जारी संकटले विपक्षी दललाई सरकारमाथि आक्रमण गर्ने पर्याप्त अवसर दिएको छ । हालै कनिष्ठ गठबन्धन साझेदार ग्रिन्सले अघि सारेको ग्यास र तेल बोयलर प्रतिबन्ध लगाउन माग गर्दै अघि सारेको प्रस्तावले आगोमा घिउ थपेको छ । चाखलाग्दो के छ भने यो सरकारको आलोचक दक्षिणपन्थी गुट मात्रै होइन । हालैको साप्ताहिक सर्वेक्षणले केवल २३ प्रतिशत जर्मनले मात्रै सरकारले राम्रो प्रदर्शन गरिरहेको मान्छन् र यो आँकडा सरकारका लागि सबैभन्दा न्यून हो । 

चतु¥याइँपूर्वक आफ्नो सन्देश प्रवाह गर्ने भएकाले एएफडी अघि बढिरहेको छ । मेयरका लागि भएको चुनावमा प्रयोग गरिएका पोस्टरमा लोथले सुषुप्त भाषामा अन्य पार्टीले जीवनस्तरको रक्षा गर्न नसकेको जनाएको थियो । थुरिंगिया क्षेत्रमा एक स्थानीय निकायले एएफडीलाई ‘दक्षिणपन्थी अतिवादी संगठन’को संज्ञा दिँदा पार्टीले ‘आप्रवासनलाई सीमित पार्नु अतिवाद हो ?’ भन्दै जवाफी प्रश्न तेस्र्याएको थियो । सो क्षेत्रका ६९ प्रतिशत जनताले होइन भन्ने जवाफ दिएका थिए ।

त्यसैगरी नागरिकताको कानुनमा कडाइ गर्नु अतिवाद हो भन्ने प्रश्नमा पनि पार्टीले जनताबाट प्रोत्साहन पाएको थियो । पार्टीको सफलता यसको सरलता र निश्चित रणनीतिको निरन्तर प्रयोगमा निहित छ । पार्टीका नेताले आप्रवासीका नकारात्मक कार्यलाई बढाइ–चढाइ गर्न कुनै कसर बाँकी राख्दैनन्, तर अराजक जर्मनको आप्रवासीप्रतिको दुव्र्यवहारमा मौन रहन्छन् । यति मात्रै नभई विदेशको उदाहरण दिन पछि पर्दैनन्, फ्रान्समा हालै भएका दंगालाई राष्ट्रले आफ्नो शुद्धतामा सम्झौता गर्दाको परिणामका रूपमा देखाउँछन् । तर, यो पार्टी सौहार्दपूर्ण आत्मसात्का सफलताका कथामा मौन रहन्छ ।

यी रणनीतिमार्फत पार्टीले जर्मनले स्वीकार्य ठान्ने सीमाको विस्तार गर्न सफल भएको छ । आफ्नो स्पष्ट सफलताका बाबजुद पार्टी अन्यभन्दा मौलिक रूपमा फरक छ । पूर्वी जर्मनी राज्यको लाइपजिग विश्वविद्यालयका विद्वान्द्वारा गरिएको हालैको सर्वेक्षणअनुसार एएफडीका समर्थकमा आधाभन्दा बढीले विदेशीप्रति शत्रुताभाव व्यक्त गर्छन्, जुन अन्य दलको तुलनामा निकै बढी हो, अर्थात् अन्य दलमा २० प्रतिशत वा कमले मात्रै यस्तो द्वेषपूर्ण विचार राख्छन् । यसबाहेक यो पार्टीका समर्थकमा अधिनायकवादलाई अनुमोदन गर्ने सम्भावना कम्तीमा चार गुणा बढी रहेको र नाजी अपराधलाई कम आपराधिक आँक्ने सम्भावना १० गुणाले बढी छ । सर्वसाधारण जर्मन यो भिन्नताबारे सचेत देखिन्छन् । त्यसैगरी, हालैको अर्को राष्ट्रव्यापी सर्वेक्षणमा ६५ प्रतिशतले एएफडी लोकतन्त्रका लागि खतरा भएको बताएका छन् । यसमा एएफडीका १० प्रतिशत समर्थकसमेत सहमत भएका थिए ।
– द इकोनोमिस्टबाट 

सुझावित समाचार