बिमस्टेक परराष्ट्रमन्त्रीहरूबीच बैंककमा सामूहिक वार्ता

मंगलबार, २ साउन, २०८०
डिजिटल संस्करण

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)का परराष्ट्रमन्त्रीहरूको बैठकमा आइतबार कनेक्टिभिटी, जलवायु परिवर्तनसहितका मुद्दामा क्षेत्रीय सहकार्यबारे छलफल भएको छ । थाइल्यान्डको बैककमा आयोजित परराष्ट्रमन्त्रीहरूको रिट्रिट बैठकमा बिमस्टेकका सदस्य मुलुक नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्यान्ड र म्यानमारका परराष्ट्रमन्त्रीहरू सहभागी थिए ।

‘विदेशमन्त्रीहरूले बिमस्टेक सहकार्य थप सुदृढ गर्ने उपायहरूबारे उपलब्धिमूलक छलफल गर्यौँ,’ परराष्ट्रमन्त्री एनपी साउदले भने, ‘ऊर्जा, ग्रिड कनेक्टिभिटी, जलवायु परिवर्तन, स्वास्थ्य तथा खाद्य सुरक्षा, प्रविधिलगायत छलफलका मुख्य विषय थिए ।’ बिमस्टेकका सात सदस्य मुलुकको कुल जनसंख्या एक अर्ब ७३ करोड छ भने कुल गार्हस्थ्य उत्पादन करिब १७ खर्ब ३० अर्ब डलरभन्दा बढी छ । 

भारतीय विदेशमन्त्री डा. एस जयशंकरले उपलब्धिमूलक रिट्रिट बैठक भएको बताएका छन् । उनले खुला तथा भविष्यमुखी छलफल भएको पनि ट्विटरमार्फत जानकारी दिएका छन् । सहकार्यका नयाँ क्षेत्रको पहिचान गर्नुपर्नेमा बैठकको जोड थियो । खाद्यान्न, स्वास्थ्य र ऊर्जा सुरक्षामा बढी केन्द्रित भएर छलफल भएको थियो । सम्पन्नताको प्रवद्र्धन र वृद्धिमा क्षेत्रीय सहकार्य हुनुपर्नेमा सबै परराष्ट्रमन्त्रीहरूले जोड दिएका थिए । थाइल्यान्डको बैंककमा आगामी १४ मंसिरमा बिमस्टेकको शिखर सम्मेलन आयोजना हुँदै छ ।

साउद र जयशंकरबीच भेटवार्ता
परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षी डा. एस जयशंकरबीच साइडलाइन भेटवार्ता भएको छ । विगतमा शीर्ष नेताले गरेको सहमति कार्यान्वयनबारे छलफल भएको छ । ‘नेपालका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग भेटवार्ता भयो । हाम्रा नेतृत्वले तय गरेका सहकार्यका एजेन्डा कार्यान्वयन गर्न मिलेर काम गर्ने सहमति भएको छ,’ भेटपछि जयशंकरले ट्विटरमा भनेका छन्, ‘हामी  निरन्तर सम्पर्कमा रहने सहमति गरेका छौँ ।’ साउदले जयशंकरसँग फलदायी भेट भएको बताएका छन् । ‘बैंककमा बिमस्टेक मन्त्रीस्तरीय रिट्रिटको साइडलाइनमा भारतका विदेशमन्त्री जयशंकरसँग फलदायी भेट भयो । द्विपक्षीय सहयोग र हाम्रो समृद्ध, बहुआयामिक सम्बन्धसँग सम्बन्धित विषयमा विचार आदानप्रदान भयो,’ साउदले भनेका छन् । 

सुझावित समाचार