सुन्दर बगैँचाको निर्माण यसरी

सोमबार, १ साउन, २०८०
डिजिटल संस्करण

हिजोआज घरमै बगैँचा बनाउने चलन बढ्दो छ । थोरै क्षेत्रफल भएको जग्गामा पनि फूल रोपेर सुन्दर बगैँचा बनाउन सकिन्छ । तर, घरमा कुन मौसममा कस्तो फूल रोप्ने भन्ने धेरैलाई ज्ञान नहुन सक्छ । कीर्तिपुरस्थित थापा नर्सरीका सञ्चालक कृष्ण थापा जग्गाको क्षेत्रफलअनुसार बगैँचाको डिजाइन गर्नुपर्ने बताउँछन् । ‘फुल्ने तथा नफुल्ने धेरै प्रजातिका फूल पाइन्छन् । तर, बगैँचामा सबै प्रजातिका फूल लगाउन सम्भव हुँदैन । त्यसैले मौसमी फूल वा एकपटक फुल्ने, तर वर्षभरि रहने फूल पनि रोप्न सकिन्छ,’ उनले भने ।

कस्ता फूल रोप्ने ?
काठमाडौं बुढानीलकण्ठस्थित एसआर नर्सरीका सञ्चालक सुनील स्याङ्तान घरमा बगैँचा बनाउन ठाउँ र हावापानीको पनि ख्याल नराखी नहुने बताउँछन् । ‘घरको कुन स्थानमा गार्डेन बनाउने भन्ने कुराले पनि अर्थ राख्छ । घाम लाग्ने ठाउँमा र माटो मलिलो भएको ठाउँमा रोपेका फूल राम्ररी फस्टाउँछन् । कहाँ, कुन प्रजातिको फूल रोप्ने, मौसमी फूल वा बाह्रै मास फुल्ने फूल रोप्ने, कहाँ गमला राख्ने भन्नेबारे विचार गरेर मात्रै फूल रोप्नुपर्छ ।

अहिलेको सयपत्री, एस्टर, साल्भिया, सिलोसिया, प्रोटुलाका, रुडबेकिया, मेटामपोडियमलगायतका फूल रोप्न सकिन्छ । अरब चमेली, सेतो चमेली, वन चमेली, स्पेनिस चमेलीलगायत विभिन्न प्रजाति र रङमा चमेलीका फूल पाइन्छन् । यो फूल शरद ऋतुसम्म फुल्छ । यस्तै, सयपत्री, बोनान्जा, जिनिया, साल्भिया, सोलिसियालगायतका मौसमी फूल लगाउन सकिन्छ । जिरानियम, गुलाब, डेलिया, लालुपातेलगायतका फूलमा पनि मानिसको चाख बढ्दै गएको छ । रातो, सुन्तला, पहेँलो, नीलो, हल्का पिंक, बैजनीजस्ता रङका फूल फुल्ने बिरुवामा अधिकांशको चासो हुने गरेको छ । 

फूलको स्याहार 
कृष्ण थापाका अनुसार घरलाई सुन्दर बनाउने फूललाई मौसमी स्याहार पनि आवश्यक पर्छ । भन्छन्, ‘फूल रोप्दा फूलको प्रजातिअनुसार दूरीको ख्याल राख्नुपर्छ । मौसमी फूललाई हेरचाह पनि गरिरहनुपर्छ । फूलसँग उम्रने झार हटाइदिनुपर्छ, झारका कारण फूलमा रोग लाग्ने जोखिम पनि हुन्छ । त्यसैले बगैँचाको फूलको झार केलाउनु, मल हाल्नु, गोडमेल र काटछाँट गर्नुपर्छ । गुणस्तरीय बिरुवाको छनोट, मौसम र हावापानीसुहाउँदो बिरुवा लगाउने, कुहिएको पात र फूललाई व्यवस्थापन गर्न जरुरी हुन्छ ।’

See More On

सुझावित समाचार