आँखा सुक्खा हुन नदिन...

शुक्रबार, २९ असार, २०८०
डिजिटल संस्करण

सुक्खा आँखा भएपछि कतिपयमा आँसु अझै बढी आउँछ । यस्तो समस्या किन देखियो भनेर धेरैले जिज्ञासा पनि राख्नुहुन्छ । खासमा आँखा सुक्खा हुनेबित्तिकै शरीरले अझै धेरै आँसु बनाउनुपर्छ भन्ने बुझ्छ र यस्तो अवस्था निम्तिन्छ । आँखा सुक्खा हुनुका केही कारण र समाधानका उपाय यस्ता छन् : 

- मोबाइल र ल्यापटप चलाइरहने मानिसमा आँखा सुक्खा हुने समस्या देखिन्छ । मोबाइलको असरलाई कम गर्न ब्लु कट लेन्स पनि युज गर्न सकिन्छ । मोबाइलबाट आउने ग्रिन रेलाई यसले कम गर्छ । भिटामिनयुक्त खाना, हरियो सागसब्जी, गाँजर, माछा, माछाको तेल, पानी प्रशस्तै पिउने÷खाने गर्नुपर्छ । ल्यापटपको स्क्रिन आँखाभन्दा केही दूरीमा राख्ने ।

- बच्चालाई धेरै मोबाइल खेल्ने बानी हुन्छ । अभिभावकले पनि आफ्नो काममा व्यस्त हुँदा यस्ता कुरामा ध्यान दिन दिन पाउँदैनन् । तर, उनीहरूको स्क्रिन टाइम कन्ट्रोल गर्न जरुरी छ । 

- २०–२०–२० रुलले पनि आँखा सुक्खा हुने समस्या कम गर्न भूमिका खेल्छ । यस नियमले हरेक २० मिनेट स्क्रिनअगाडि बसेपछि २० सेकेन्डका लागि स्क्रिनबाट ध्यान हटाएर २० फिट पर हेर्नु भन्छ । 

- एसीअगाडि बस्दा पनि आँखा सुक्खा हुन्छ । तसर्थ, एसी, फ्यान पनि सीधै आँखाकै अगाडि प्रयोग गर्नुहुँदैन । 

- थाइराइड, सुगर, प्रेसर, कोलेस्ट्रोललगायत समस्या भएकामा पनि आँखा सुक्खा हुने समस्या देखिन्छ । उनीहरूले चिकित्सकको परामर्शमा औषधि प्रयोग गर्न सक्छन् । 

- ५० वर्षमाथिका मानिसमा पनि छाला लुज भएर आँखा सुक्खा हुन सक्छ ।

रोकथामका उपाय 
- प्रदूषण धुलो–धुवाँबाट बच्नका लागि सनग्लास लगाउनुपर्छ । 
- बिहान–बेलुकी आँखा नियमित धुने गर्नुपर्छ । तर, आँखालाई धेरै प्रेसर दिने गरी धुनुहुँदैन । 
- बजारमा पाइने रंगीन र सस्ता गगल्स आँखाका लागि हानिकारकसमेत हुन्छन् । हामीमध्ये धेरैले जाँच नगरीकनै गगल्स किनिरहेका हुन्छौँ । जसले मोतीबिन्दु, आँखामा मासु पलाउने आदि समस्या निम्त्याउन सक्छ । तसर्थ, गगल्स छनोट गर्दा अल्ट्राभायलेट रे प्रोटेक्टर जाँच गरेर मात्र किन्नुपर्छ ।
- आँखा अति नै सुक्खा भएमा दृष्टिरोग विशेषज्ञसँग परामर्श गरेर उपचार थाल्नुपर्छ । 

अहिले ड्राई आई पद्धतिअनुसार मेसिनको सहायताले उपचार गर्न मिल्ने प्रविधि आइसकेको छ । एनजिडी अर्थात् हाम्रा ग्रन्थिहरू ब्लक भएर आँखा सुक्खा हुन्छ । त्यो ग्रन्थिलाई मेसिनको सहायताले खुलाएर उपचार गरिन्छ । 

See More On

सुझावित समाचार