विश्वभरका मानिसले जुलाई ११ लाई विश्व जनसंख्या दिवसको रूपमा मनाउँछन् । यो मितिलाई जनसंख्या र तिनको वातावरण तथा मानव विकाससँगको सम्बन्धलगायत मुद्दाको तत्कालिकता र महत्वमा ध्यान केन्द्रित गर्न संयुक्त राष्ट्रसंघले जनसंख्या दिवसका रूपमा तय गरेको हो । विगत १२ महिनामा विश्व जनसंख्याका दुई महत्वपूर्ण कोसढुंगाको साक्षी बन्यो । पहिलो, सन् २०२२ को नोभम्बरमा विश्वको कुल जनसंख्या आधिकारिक रूपमा आठ अर्ब पुग्यो । दोस्रो, यो वर्षको अप्रिलमा संयुक्त राष्ट्रसंघको अनुमानअनुसार भारतले चीनलाई उछिन्दै विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बन्यो ।
विश्वको जनसंख्या बढ्दै जाँदा यसको वृद्धिदर चाहिँ वास्तवमा घट्दै गएको छ । यस वर्षको सुरुमा दक्षिण कोरियाले फेरि विश्वको सबैभन्दा कम प्रजनन दरको आफ्नै रेकर्ड तोड्यो भने जापान र चीनलगायत एसियाका अन्य देशहरूले पनि आफ्नो सबैभन्दा कम जन्मदरको रेकर्ड कायम गरे । यहाँ जनसंख्याका विभिन्न पाटोको विश्लेषण गरी जनसंख्याको घट्दो वृद्धिदरको विश्वमा के अर्थ राख्छ भन्ने चर्चा गरिएको छ ।
७० वर्षमा तीन गुणा बढ्यो विश्वको जनसंख्या
सन् १९९५ मा अर्थात् आजभन्दा ६७ वर्षअघि पृथ्वीमा दुई अर्ब ८० करोड मानिस थिए । अहिले त्यति जनसंख्या त भारत र चीनमै मात्र छन् । विश्वको जनसंख्या सन् १९५० मा दुई अर्ब ५० करोड रहेकोमा त्यो तीन गुणाभन्दा धेरैले बढेर सन् २०२२ मा आठ अर्ब पुग्यो । संयुक्त राष्ट्रको जनसंख्या विभागको अनुमानअनुसार सन् २०५० सम्ममा विश्वमा मानिसको संख्या नौ अर्ब ७० करोड हाराहारी पुग्नेछ । सन् २०५० सम्म भारत र चीनपछि नाइजेरिया विश्वको तेस्रो धेरै जनसंख्या भएको राष्ट्र बन्ने अनुमान गरिएको छ । त्यसपछि क्रमिक रूपमा संयुक्त राज्य अमेरिका, पाकिस्तान, इन्डोनेसिया, ब्राजिल, प्रजातान्त्रिक गणतन्त्र कंगो, इथियोपिया र बंगलादेश जनसंख्याका दृष्टिले ठूला देश हुनेछन् ।
जनसंख्या बढ्दै वृद्धिदर घट्दै
सरल शब्दमा भन्दा कुनै पनि देशको जनसंख्या चार कारकतत्व जन्म, मृत्यु, आप्रवासन (अन्य मुलुकबाट आउने मानिसको संख्या) र बसाइँसराइ (देश छोड्ने मानिसहरू)द्वारा निर्धारित हुन्छ । यदि जन्म र आप्रवासनको संख्याले मृत्यु र बसाइँ सरी जानेको संख्यालाई उछिन्यो भने देशको जनसंख्या बढ्छ । यसविपरीत मृत्यु र प्रवासको संख्याले जन्म र आप्रवासनको संख्यालाई उछिन्यो भने जनसंख्या स्वतः घट्नेछ । सन् २०२२ मा विश्वभर लगभग १३ करोड ४० लाख शिशु जन्मिएका थिए । यसअनुसार गतवर्ष औसतमा हरेक दिन तीन लाख ६७ हजार शिशु जन्मिएको देखिन्छ । यो निकै ठूलो संख्या हो, जस्तो लाग्न सक्छ तर वास्तवमा यो सन् २००१ यताकै सबैभन्दा कम जन्मसंख्या हो ।
विश्वभर मृत्यु हुनेको संख्या पनि क्रमशः बढ्दै गएको छ । सन् १९९० को दशकभन्दा पहिले विश्वमा एक वर्षमा मर्ने मानिसको संख्या पाँच करोडभन्दा कम हुने गथ्र्याे सन् २०१९ मा यो संख्या पाँच करोड ८० लाखमा पुगेको छ । तर, कोभिड–१९ महामारीको समयमा मृत्यु हुनेको संख्यामा तीव्र वृद्धि भएको छ । सन् २०२० मा ६ करोड ३० लाख मृत्यु रेकर्ड गरिएको थियो । त्यसपछि सन् २०२१ मा कीर्तिमानी कायम हुँदै ६ करोड ९० लाख मृत्यु दर्ज भए । सन् २०२२ मा करिब ६ करोड ७० लाख मृत्यु रेकर्ड गरिएको थियो ।
यस वर्षको सुरुमा दक्षिण कोरियाले फेरि विश्वको सबैभन्दा कम प्रजनन दरको आफ्नै रेकर्ड तोड्यो भने जापान र चीनलगायत एसियाका अन्य देशले पनि आफ्नो सबैभन्दा कम जन्मदरको रेकर्ड कायम गरे ।
कुल परिणाम के भयो भने विश्वको जनसंख्या केवल शून्य दशमलव आठ प्रतिशतले वृद्धि भयो । अफ्रिका विश्वमा सबैभन्दा तीव्र ढंगले जनसंख्या बढिरहेको महादेश हो । नाइजर, युगान्डा, प्रजातान्त्रिक गणतन्त्र कंगो, अंगोला, चाड, माली र सोमालियालगायतका देशमा प्रत्येक वर्ष तीन प्रतिशतभन्दा बढी दरले जनसंख्या बढिरहेको छ । अर्कोतर्फ युरोप र पूर्वी एसियामा संसारको तीव्रगतिमा जनसंख्या घटिरहेको छ । जन्मदर न्यून हुँदै गएकाले यहाँका सरकारले सम्भावित आमाहरूलाई अभिप्रेरित गर्न व्यापक रूपमा वित्तीय प्रोत्साहन सहयोगका कार्यक्रम ल्याइरहेका छन् ।
दक्षिण कोरियामा घट्दो जनसांख्यिकीय र त्यसको बढ्दो आर्थिक दुष्परिणाम रोक्न नयाँ अभिभावकलाई साढे १० हजार डलर नगद दिन थालिएको छ । वृद्ध बन्दै गइरहेको जनसंख्याले यहाँको श्रमबजार र समग्र अर्थतन्त्रमा ठूलो चुनौती खडा गरेको छ । काम गर्ने उमेरका मानिसको संख्यामा आएको ह्राससँगै बढ्दो वृद्ध जनसंख्याको सामाजिक सुरक्षा एवं स्वास्थ्य सेवा प्रणालीलाई अनुकूलन गर्न महत्वपूर्ण सुधार आवश्यक हुनेछ ।
बढ्दै देशहरूका जनसंख्याको औसत उमेर
कुनै पनि देशको जनसंख्यालाई बुझ्नका लागि उपयोगी मापदण्ड भनेको जनसंख्याको मेडियन(औसत) उमेरको अध्ययन हो । औसत उमेरले उक्त जनसंख्यालाई आधा वृद्ध (माथिल्लो उमेर समूह)मा र आधालाई युवा (तल्लो उमेर समूह) मा विभाजन गर्छ । विश्वव्यापी औसत उमेर अहिले रेकर्ड कायम गर्दै पहिलोपटक ३० वर्षभन्दा माथि पुगेको छ ।
सबैभन्दा धेरै बुढ्यौलीले गाँजेको देशमा मोनाको छ, जसको कुल जनसंख्याको औसत उमेर ५४.५ वर्ष रहेको छ भने जनसंख्याको वृद्धिदर ०.६८ प्रतिशतले ऋणात्मक रहेको छ । त्यसपछि जापानको ४८.४ वर्ष, इटलीको ४६.८ वर्ष, पोर्चुगलको ४५ वर्ष रहेको छ । दक्षिण कोरियाको औसत उमेर ४३.४ वर्ष देखिन्छ भने वृद्धिदर शून्य प्रतिशतमा झरेको छ । नाइजरको औसत उमेर साढे चौध वर्ष छ, उसको जन्मदर पनि विश्वको सबैभन्दा उच्च ३.७ प्रतिशत रहेको छ । अर्थात् जनसंख्याको आधा हिस्सा साढे चौध वर्षभन्दा कम उमेरको छ । त्यसपछि मध्यअफ्रिकी गणतन्त्रको १४.७ वर्ष, चाडको १५ वर्ष रहेको छ । औसत उमेरमा एक सय ३५औँ स्थानमा रहेको नेपालको मेडियन उमेर २३.७ रहेको छ ।
२०० वर्षमा आठ गुणा वृद्धि
सन् १८०० देखि विश्वको जनसंख्या आठ गुणा बढेको छ । सन् १८०४ मा विश्वको जनसंख्या अनुमानित एक अर्ब रहेकोमा सन् २०२२ मा आइपुग्दा आठ अर्ब पुगेको छ । यो वृद्धिको श्रेय मुख्यतया आधुनिक औषधिको विकास र विश्वव्यापी खाद्य आपूर्तिलाई बढावा दिने कृषिको औद्योगीकरणलाई दिन सकिन्छ । विश्वको जनसंख्या एक अर्बबाट बढेर दुई अर्ब पुग्न १२३ वर्ष लाग्यो । विश्वको जनसंख्या सन् १९२७ मा दुई अर्ब, सन् १९६० मा तीन अर्ब र सन् १९७४ मा चार अर्ब पुगेको देखिन्छ ।
यसैगरी सन् १९८७ मा पाँच अर्ब, सन् १९९९मा ६ अर्ब र सन् २०११ मा सात अर्ब पुगेको थियो । अब सन् २०३७ मा नौ अर्ब र सन् २०५७ मा १९ अर्ब पुग्ने आकलन छ । संयुक्त राष्ट्रसंघका अनुसार विश्वको जनसंख्या सात अर्ब (सन् २०११)बाट बढेर आठ अर्ब (सन् २०२२) पुग्न केवल ११ वर्ष लागेको छ । तर, अब अर्काे एक अर्बले बढ्न भने १५ वर्ष लाग्नेछ र सन् २०३७ मा नौ अर्ब पुग्नेछ भने १९ अर्बको कोसेढुंगामा पुग्न अर्काे २० वर्ष लाग्नेछ ।
विश्वव्यापी जनसंख्या नयाँ उचाइमा पुग्दै गर्दा जनसांख्यिकीका विज्ञहरूले वार्षिक वृद्धिदर भने लगातार घट्दै एक प्रतिशतभन्दा तल झर्नेतर्फ औँल्याएका छन् । यी प्रक्षेपणका आधारमा सन् २०८० को दशकमा विश्वको जनसंख्या १० अर्ब ४० करोडको हाराहारी र सन् २१०० सम्म त्यही संख्या कायम रहने अनुमान गरिएको छ ।