भक्तपुर क्याम्पस प्रमुखको कुर्सी र नेम प्लेट २२ जेठदेखि रूखमा

शुक्रबार, २९ असार, २०८०
डिजिटल संस्करण

क्याम्पस प्रमुख नियुक्तिको विषयलाई लिएर भक्तपुर बहुमुखी क्याम्पसमा २२ जेठदेखि उत्पन्न भएको विवाद अझै समाधान भएको छैन । विद्यार्थी नेताहरूले क्याम्पस प्रमुखको कुर्सी र नेम प्लेट रूखमै झुन्ड्याएका छन् । निमित्त क्याम्पस प्रमुख सहप्राध्यापक सुदर्शना शाक्य र क्याम्पस प्रमुखका रूपमा नवनियुक्त सहप्राध्यापक कविता लुइँटेलबीचको विवादले २२ जेठयता क्याम्पसमा तनाव भएको छ । 

तत्कालीन क्याम्पस प्रमुख डा. कृष्णप्रसाद पोखरेलले ३० चैतमा अनिवार्य अवकाश पाएपछि त्रिविले वरिष्ठताका आधारमा ३ वैशाखमा सहायक क्याम्पस प्रमुख शाक्यलाई निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिएको थियो । स्थायी रूपमा क्याम्पस प्रमुख नतोक्दासम्म शाक्यलाई क्याम्पस चलाउने जिम्मेवारी थियो । १६ जेठमा त्रिविको कार्यकारी परिषद्ले सोही क्याम्पसकै सहप्राध्यापक लुइँटेललाई क्याम्पस प्रमुखका रूपमा नियुक्ति गरेको थियो । २१ जेठदेखि लुइँटेल कार्यभार सम्हालन पुगिन् । खास विवाद त्यसपछि भएको हो । 

परिषद्ले नियुक्तिपछि लुइँटेल कार्यभार सम्हाल पुगेकै दिनदेखि विद्यार्थी संगठनहरूले विरोध गर्न थाले । लुइँटेल नियुक्त भएको झन्डै डेढ महिनाअघि निमित्तको जिम्मेवारी पाएकी शाक्यले क्याम्पसका कागजात प्रशासनमा बुझाएकी थिइन् । आफूलाई जानकारी नै नदिई क्याम्पस प्रमुख आएको भन्दै उनले विरोध जनाएकी थिइन् ।

नियुक्ति पाएर क्याम्पस प्रमुखको हैसियतमा पुगेकी सहप्राध्यापक लुँइटेल कार्यालयका कागजात निमित्त प्रमुख शाक्यले जिम्मा नलगाएको भन्दै आक्रोशित बनिन् । लुइँटेल एमालेनिकट हुन् भने निमित्त क्याम्पस प्रमुखका रूपमा डेढ महिना जिम्मेवारी पाएकी शाक्य कांग्रेसनिकट मानिन्छिन् । निमित्त प्रमुख शाक्य र प्रमुखको जिम्मेवारी पाएकी लुइँटेलबीचको विवाद विद्यार्थी संगठनसम्म पुग्यो ।

विद्यार्थी संगठनहरू पार्टीगत रूपमा विभाजित भएर विवादमा उत्रन थाले । नेपाल विद्यार्थी संघका विद्यार्थीले २२ जेठमा क्याम्पस प्रमुख बस्ने कुर्सी, नेम प्लेट रूखमा टाँगिदिए । त्यसपछि लुइँटेलको कार्यकक्षमा ताला नै लगाइदिए । निमित्त क्याम्पस प्रमुखलाई काम गर्न निकै छोटो समय दिएको, विनम्रपूर्वक बिदाइ नगरेको र आफूभन्दा जुरियरलाई नियुक्ति गरिएको भन्दै शाक्य पक्षले विरोध गरिरहेका छन् ।

नियमअनुसार स्थायी रूपमा नियुक्ति भएर आइसकेपछि निमित्त प्रमुखको जिम्मेवारी सकिन्छ र ऊ पुरानै जिम्मेवारी रहनुपर्छ । तर, नवनियुक्त क्याम्पस प्रमुख लुइँटेलले आफूले नियुक्तिपत्र लिएर कार्यकक्षमा आउँदा सहज वातावरण नभएको र दुव्र्यवहार भएको बताइन् । ‘कानुनी रूपमा नियुक्तिपत्र लिएर गएकी थिएँ, तर २१ जेठमा क्याम्पस पुग्दा निमित्त प्रमुखले फाइलहरू प्रशासनमा बुझाएर निस्किनुभयो,’ उनले भनिन्, ‘त्यसपछि मलाई प्रशासन प्रमुखले पदस्थापन गराउनुभयो, उहाँले फाइल मलाई हस्तान्तरण गरेर जानुपर्ने थियो, तर उहाँले अपमान गर्नुपर्‍यो ।’ 

लुइँटेल २१ जेठको २ बजेसम्म प्रमुखको कुर्सीमा बसेका वेला शाक्यले विद्यार्थी संगठनसहित आएर धम्क्याउँदै तालाबन्दी गर्ने बताएकी थिइन् । त्यसपछि नेविसंघका नेता–कार्यकर्ताले कुर्सी रूखमा झुन्ड्याएर राखेका थिए । ‘नियुक्त पाएपछि काम गर्न पाएकी छैन, कानुनी रूपमा आइसकेपछि निमित्त प्रमुखले सहज रूपमा ठाउँ छाड्नुपर्ने थियो, तर त्यो हुन सकेन,’ लुइँटेलले भनिन्, ‘यो ममाथिको अपमान हो ।’ सामान्य विषयमा विवाद भएपछि क्याम्पस सञ्चालनमा समेत अवरोध भएको छ । हाल क्याम्पस प्रशासनसमेत बन्द छ । 

सुझावित समाचार