पार्टीका उपाध्यक्षहरूसँग लगातार छलफलमा ओली

शुक्रबार, २९ असार, २०८०
डिजिटल संस्करण

कार्यविभाजन कार्यान्वयन र राष्ट्रिय राजनीति केन्द्रित परामर्श

एमाले अध्यक्ष केपी ओलीले दशौँ महाधिवेशनपछि पहिलोपटक उपाध्यक्षहरूसँग दुई दिन लगातार अलग्गै परामर्श गरेका छन् । पार्टीको आन्तरिक समस्या र राष्ट्रिय राजनीतिबारे बैठकमा हुने औपचारिक छलफल मात्र पर्याप्त नभएको उपाध्यक्षहरूको गुनासो सम्बोधन गर्दै ओलीले दशौँ महाधिवेशनपछि पहिलोपटक उनीहरूसँग छलफल गरेका हुन् । 

उपाध्यक्षहरूसँगको परामर्शपछि ओलीले शनिबार सचिवालय बैठक बोलाएका छन् । उपाध्यक्षहरूको सुझावलाई समेत ध्यान दिँदै सचिवालयको बैठक राखेर छलफलको एजेन्डा ल्याउने ओलीको तयारी छ । ‘सचिवालयमा औपचारिक छलफल भएर मात्र पुग्दैन, अनौपचारिक छलफल गर्ने परिपाटी बसाल्नुस्, राष्ट्रिय राजनीतिक परिस्थिति जटिल छ, पार्टीलाई मजबुत बनाएर लैजान सबैखाले आन्तरिक समस्या समाधान हुनुपर्छ, त्यसकारण अनौपचारिक छलफल आवश्यक छ भन्दै आएका थियौँ,’ उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नयाँ पत्रिकासँग भनिन्, ‘हाम्रो आग्रहलाई स्विकारेर अध्यक्षले दुई दिन छलफल गरेर सुझाव लिनुभयो, समग्रमा गम्भीरतापूर्वक कुराकानी भएको छ ।’

गम्भीरतापूर्वक कुराकानी भएको छ : अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष
राष्ट्रिय राजनीतिक परिस्थिति जटिल छ, पार्टीलाई मजबुत बनाएर लैजान सबैखाले आन्तरिक समस्या समाधान हुनुपर्छ, सचिवालयमा औपचारिक छलफल भएर मात्र पुग्दैन, त्यसकारण अनौपचारिक छलफल गर्ने परिपाटी बसाल्नुस् भन्दै आएका थियौँ, हाम्रो आग्रहलाई स्विकारेर अध्यक्षले दुई दिन छलफल गरेर सुझाव लिनुभयो, समग्रमा गम्भीरतापूर्वक कुराकानी भएको छ

शाक्यले अहिलेको राष्ट्रिय राजनीतिक परिस्थितिका साथै पार्टीलाई थप बलियो बनाएर अर्को चुनावका लागि अहिल्यैदेखि केन्द्रित गर्ने, मिसन ग्रासरुटपछि गरिएको पार्टीको आन्तरिक कार्यविभाजनलाई थप व्यवस्थित गर्ने विषयमा छलफल केन्द्रित रहेको पनि जानकारी दिइन् । छलफलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित उपाध्यक्षहरू शाक्य, सुवास नेम्वाङ, विष्णु पौडेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेल सहभागी थिए । उनीहरूले पालैपालो आ–आफ्ना जिम्मेवारीबारे रिपोर्टिङ गर्नुका साथै पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे अध्यक्षलाई सुझाव दिएका थिए ।

‘हामीले आ–आफ्नातर्फबाट रिपोर्टिङ र सुझाव राख्यौँ, अध्यक्षले गम्भीरतापूर्वक सुन्नुभयो र उहाँले पनि पछिल्लो परिस्थितिबारे ब्रिफिङ गर्दै राष्ट्रियतालाई कमजोर तुल्याउने र एमालेविरुद्ध भइरहेको प्रहारलाई सबै मिलेर चिर्दै पार्टीलाई अगाडि बढाउनुपर्ने विषय राख्नुभो,’ शाक्यले भनिन् ।

छलफलले गत ३० वैशाखमा सम्पन्न केन्द्रीय कमिटी बैठकले गरेको पदाधिकारीसहित तीन सय ६० केन्द्रीय सदस्यको कार्यविभाजन कार्यान्वयनको अवस्थाको प्रारम्भिक समीक्षा गरेको थियो । खासगरी केन्द्रीय कमिटीमा रहेका कतिपय प्रतिनिधिसभाका सांसद र मेयरहरूलाई फरक जिल्लाको कार्यक्षेत्रमा खटाउँदा उनीहरू नियमित रूपमा खटिन नसकेकाले सोचेअनुसार पार्टी काम अगाडि बढ्न नसकेको विषयलाई उपाध्यक्षहरूले समस्याका रूपमा उठान गरेका थिए । तर, मिसन ग्रासरुटले गरेको अध्ययन र आन्तरिक समस्या समाधानका लागि केन्द्रीय सदस्यहरूलाई पूर्ववत् जिम्मेवारीबाट फरक भूगोलमा खटाउने निर्णय सही भएकाले कार्यान्वयन गरेरै अगाडि बढ्ने निष्कर्ष बैठकले निकालेको छ । 

‘केही सांसद र मेयरहरूलाई फरक भूगोलमा खटाउँदा समय व्यवस्थापन र जवाफदेहीका हिसाबले समस्या परेको यथार्थ कुरा हो, तर अरूको हकमा त कुनै समस्या छैन, उनीहरू तोकिएको कार्यक्षेत्रमा जानैपर्छ,’ बैठकपछि एक उपाध्यक्षले निष्कर्ष सुनाउँदै भने, ‘केन्द्रीय नेतृत्व भइसकेपछि सधैँभरि आफ्नै जिल्ला, पालिका र वडामै केन्द्रित हुन खोज्ने कुरा उपयुक्त र सुहाउने कुरा पनि भएन, उनीहरूले सिंगै देश बुझ्नुपर्ने हुन्छ अनि मात्र नेतृत्व पनि विकास हुन्छ भन्ने नै निष्कर्ष रह्यो ।’ 

बजेट अधिवेशनका कारण लगातार संसद् चलेकाले सांसद रहेका कतिपय केन्द्रीय सदस्य तोकिएको कार्यक्षेत्रमा गएर बैठक, भेला राख्ने काममा समस्या देखिएको विषय छलफलमा उठेको थियो । २३ जेठमा अध्यक्ष ओलीले सर्कुलर जारी गर्दै वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरूलाई ३३ वटा विभागको काम संयोजनमा केन्द्रित गरेका थिए ।

पछिल्लो कार्यविभाजनअनुसार योजना र नीतिसँग जोडिएको विभागको संयोजन वरिष्ठ उपाध्यक्ष पोखरेल, पूर्वाधार निर्माण र विकासँसग जोडिएका विभागको संयोजन पाण्डे, कृषि तथा उद्यमशीलतासँग जोडिएको विभागको संयोजन थापाले गरिरहेका छन् । त्यस्तै, सामाजिक विकाससँग जोडिएका विभागको संयोजन शाक्य, मानवस्रोतसँग जोडिएका विभागको संयोजन ज्ञवाली, सुशासन र सेवा प्रवाहसँग जोडिएका विभागको संयोजन नेम्वाङ, संगठन, प्रशिक्षण र प्रचार विभागको संयोजनमा पौडेलले गर्दै आएका छन् । 

See More On

सुझावित समाचार