गत वर्ष फ्रान्सको कान्स फिल्म फेस्टिभलमा अविनाशविक्रम शाह निर्देशित सर्ट फिल्म ‘लोरी’ले ‘स्पेसल मेन्सन’ अवार्ड जित्यो । सन् २०१८ मा बर्लिन फिल्म फेस्टिभलमा राजेशप्रसाद खत्री निर्देशित ‘जालगेडी’ले उत्कृष्ट सर्ट फिल्मका लागि विशेष अवार्ड जितेको थियो । पूजा गुरुङ र विभूषण बस्नेत निर्देशित दद्याबाट सन् २०१६ मा सिनेमाटोग्राफर चिन्तन राजभण्डारीले अमेरिकाको सनडान्स फिल्म फेस्टिभलमा ‘स्पेसल जुरी अवार्ड फर सिनेमाटोग्राफी’ जितेका थिए । अन्तर्राष्ट्रिय मञ्चमा नेपाली सर्ट फिल्मले देखाएका सशक्त उपस्थितिका यी केही उदाहरण हुन् ।
पछिल्ला वर्षहरूमा नेपाली कथा, परिवेशमा निर्माण भएका छोटा चलचित्रले विदेशी बजार र दर्शकबीच चर्चा कमाइरहेका छन् । टोरोन्टो, भेनिस, लोकार्नो, रोट्रेड्याम, बुसानलगायत विश्वका प्रतिष्ठित फेस्टिभलमा नेपाली सर्ट फिल्मले आफ्नो उपस्थिति देखाइसकेका छन् ।
पछिल्ला वर्षहरूमा नेपाली कथा, परिवेशमा निर्माण भएका छोटा चलचित्रले विदेशी बजार र दर्शकबीच चर्चा कमाइरहेका छन् । टोरोन्टो, भेनिस, लोकार्नो, रोटे«ड्याम, बुसानलगायत विश्वका प्रतिष्ठित फेस्टिभलमा नेपाली सर्ट फिल्मले आफ्नो उपस्थिति देखाइसकेका छन् ।
‘बाँसुल्ली’, ‘द कन्टाजियस अपारिसन्स अफ डम्बरे डेन्ड्राइट’, ‘ह्विल अन द बस’, अन्हद’, ‘बाघथान’, ‘म खुसी छु’, ‘कमारो’, ‘जुनुको जुत्ता’, ‘कलम’, ‘जुन्को’, ‘अवशेष’, ‘तात्तिनी’, ‘काफल पाक्यो’, ‘अनन्त यात्रा’, ‘जुलुंगो’, ‘बागथान’ लगायतले प्रतिष्ठित फेस्टिभलहरूमा राम्रो उपस्थिति देखाएर अन्तर्राष्ट्रिय अवार्ड जिते । थोरै लगानी र समयमा आफूले भन्न चाहेको कथालाई कलात्मक रूपमा प्रस्तुत गर्न सकिने भएकाले पनि सर्ट फिल्ममा सबैको आकर्षण बढेको छ । ‘कलम’का निर्देशक प्रवीणकुमारमा रावत (उक्त फिल्म बुसान फिल्म फेस्टिभलमा देखाइएको थियो) छोटा चलचित्र युवाहरूका लागि सशक्त माध्यम रहेको बताउँछन् ।
‘विषयलाई बाहिर ल्याउन छोटा चलचित्र प्रभावकारी माध्यम हुँदोरहेछ । सकेसम्म महोत्सव नभए सामाजिक सञ्जालबाटै चलचित्र देखाउँदा पनि विषयवस्तु उजागर गर्न सकिन्छ,’ रावतले भने । ओस्कार इन्टरनेसनल कलेजबाट स्नातक सकेपछि उनी फिल्म मेकिङमा लागेका हुन् । ‘कुन फिल्मको भ्यालु कति हुन्छ भन्ने विषय अध्ययनपछि मात्रै थाहा हुने रहेछ । मेरो लक्ष्य फिचर फिल्म नै हो । केही राम्रा सर्ट फिल्म बनायो भने फिचर फिल्म निर्माणका लागि सहयोग पुग्छ । अझ अन्तर्राष्ट्रिय मञ्चमा लैजाने गरी बनायो भने ठूलो सहयोग पुग्छ ।’
‘जुन्को’ फिल्मका निर्देशक मिङ्सो लिम्बू पनि आफ्नो लक्ष्य फिचर फिल्म नै रहेको बताउँछन् । उनी अहिले लिम्बू समुदायकै विषयमा आधारित सर्ट फिल्मको तयारीमा छन् ।
कथामा विविधता
सिनेमा निर्देशन, लेखन, अभिनय, सिनेमाटोग्राफी, सम्पादनमा नयाँ पुस्ताको आगमनसँगै लघु चलचित्रका कथामा विविधता देखिन थालेको छ । निर्देशक नवनिधि दाहालले अहिलेका सर्ट फिल्ममा कथा भन्ने शैली र प्रस्तुतिमा पृथकता देखिएको बताए । ‘अर्थपूर्ण केही काम गरौँ भन्ने भावनाका साथ युवाहरू आएका छन्,’ उनले भने ।
लेखक तथा निर्देशक राजन कठेत युवा फिल्ममेकरहरूले विश्वबजारलाई लक्षित गरेर फिल्म बनाइरहेको बताए । ‘नेपाली सर्ट फिल्मले विदेशी मञ्चमा प्रतिक्रिया पनि राम्रो पाइरहेका छन् । यससँगै फिल्ममेकरहरूलाई पनि अन्तर्राष्ट्रिय बजार लक्षित गरेर फिल्म बनाउने प्रेरणा मिलेको छ,’ उनले भने ।
निर्माता प्रवीण टक्की कार्की फिल्मवृत्तमा सम्बन्ध विस्तार गर्न र फिचर फिल्मका लागि बाटो खन्न सर्ट फिल्म सहयोगी हुने बताउँछन् । ‘सर्ट फिल्मले नयाँ फिल्ममेकरलाई काम देखाउन सहयोग गरेको छ,’ उनी भन्छन्, ‘फिल्म फेस्टिभलसम्म पुग्न र सम्बन्ध विस्तार गर्न सर्ट फिल्म प्रभावकारी माध्यम बनेको छ । यही कारण पनि युवापुस्तामा आकर्षण बढ्दै छ,’ उनले भने ।
मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका निर्देशक पाण्डव केसी सर्ट फिल्म हेर्न आउने दर्शक पनि अधिकांश युवा नै रहेको बताउँछन् । गत डिसेम्बरमा फेस्टिभलको दशौँ संस्करण आयोजना भएको थियो । ‘पछिल्ला वर्षहरूमा सर्ट फिल्मको संख्या बढेको छ । अधिकांश निर्माता÷निर्देशक युवा छन् । फिल्म हेर्न आउने दर्शक पनि अधिकांश युवा नै छन् ।’
निर्देशक सुनील पाण्डे नेपाली फिल्ममेकरको क्षमता अभिवृद्धिका लागि सरकारले अन्तर्राष्ट्रियस्तरको ल्याब सञ्चालन गर्नुपर्ने बताउँछन् । ‘फिल्म मेकिङको विकासका लागि सरकारले पनि चासो दिन जरुरी छ । अन्तर्राष्ट्रियस्तरको ल्याब सञ्चालन गरेर विदेशी मेकरहरूलाई नेपाल ल्याउन सके यहाँका मेकरहरूले धेरै कुरा सिक्न पाउँछन्,’ उनले भने ।