साढे ३० करोडमा निर्माण भएको कोहलपुर बसपार्क सञ्चालनमा

मंगलबार, २६ असार, २०८०
डिजिटल संस्करण

कोहलपुरमा नवनिर्मित अत्याधुनिक बसपार्क आइतबारबाट सञ्चालनमा आएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले एक कार्यक्रमका बीच उद्घाटन गरेपछि लामो दूरीको नवनिर्मित बसपार्क सञ्चालनमा आएको हो ।

बसपार्क उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले कोहलपुर पश्चिम नेपालको गेटवे भएको बताउँदै कोहलपुर क्षेत्रको विकास र समृद्धिका लागि लुम्बिनी प्रदेश सरकारले जीवनोपयोगी सीप सिक्ने वातावरण निर्माण गर्दै रोजगारी प्रवद्र्धन गर्ने बताए । उनले विकास तथा समृद्धिका लागि प्रदेश सरकार र स्थानीय सरकारका बीचमा समन्वय, सहकार्य तथा समझदारीको आवश्यकता औँल्याए । 

कोहलपुरमा निर्माण भएको बसपार्क पश्चिम नेपालकै अत्याधुनिक बसपार्क बनेको भन्दै उनले खुसी व्यक्त गरे । ‘बसपार्कले पश्चिम नेपालको इज्जत जोगाएको छ । यो यस क्षेत्रका लागि गौरवको विषय हो,’ उनले भने । 

कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यले नगरको विकास र समृद्धिका लागि नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताए । उनले अत्याधुनिक बसपार्कले कोहलपुरमा हुने ट्राफिक समस्या समाधान हुने बताउँदै नगरलाई व्यवस्थित बनाउन सघाउने धारणा राखे । सपिङ कम्प्लेक्ससहितको अत्याधुनिक बसपार्क साढे ३० करोड लागतमा निर्माण भएको हो ।

नगर विकास कोषसँगको ऋण सम्झौतामा कोहलपुर नगर विकास समितिले बसपार्क निर्माण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जानकारी दिए । नगर विकास कोषको ६० प्रतिशत र कोहलपुर नगर विकास समितिको ४० प्रतिशत लगानीमा बसपार्क निर्माण सम्पन्न भएको उनले बताए । 

सुझावित समाचार