राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा आफ्नो पार्टीलाई बोल्न नदिएको भन्दै आपत्ति जनाएका छन्। प्रमुख प्रतिपक्ष एमालेले जे बोल्यो, त्यही नै आफ्नो पार्टीको भाष्य हो भन्ने ढंगले आफ्नो पार्टीलाई संसदमा बोल्न नदिएको भन्दै उनले त्यसप्रति आपत्ति जनाएका हुन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेले संसदमा आफ्नो पार्टी स्वतन्त्र अस्तित्वमा रहेकाले सोहीअनुसारको व्यवहारको अपेक्षा गरिएको उल्लेख गरे। ‘हाम्रो कुरा राख्न नपाउँदै प्रमुख प्रतिपक्षले जे बोल्यो, त्यसैलाई नै हाम्रै भाष्य हो भन्ने कुरा प्रमाणित गर्ने किसिमको जुन जालसाजीपूर्ण क्रियाकलाप भयो। हामीलाई त्यसमा आपत्ति छ,’ उनले भने।
राष्ट्रियताको सवालमा बोल्दा ख्याल राख्न उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सचेत गराए।
‘कहिले चाहिँ उहाँ ३५ हजार लडाकु होइन, ७ हजार मात्रै थिए भन्नुहुन्छ। कहिले ५ हजारको मात्रै जिम्मा लिन्छु भन्नुहुन्छ। कहिले कम्फर्टेबल भन्नुहुन्छ। कहिले सरकार नै अरूले बनाएको भन्नुहुन्छ। आफ्नो भनाइमा अलिकति स्पष्ट हुन प्रधानमन्त्रीज्यूलाई अनुरोध गर्न चाहन्छु,’ लामिछानेले भने।