प्रधानमन्त्रीले आज संसदमा स्पष्टीकरण दिने

सोमबार, २५ असार, २०८०
डिजिटल संस्करण

आफ्नो अभिव्यक्तिको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा आज स्पष्टीकरण दिने भएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँगको छलफलपछि प्रधानमन्त्रीले भने, ‘म सदन जाँदै छु बोल्नलाई।’ प्रधानमन्त्रीभन्दा केही पहिले निस्केका ओली र देउवाले छलफलका विषयमा कुनै प्रतिक्रिया दिएनन्।

छलफलमा के भयो भन्ने सञ्चारकर्मीको प्रश्नमा देउवाले ओलीसँग जवाफ माग्न भन्दै पन्छिएका थिए भने ओलीले ‘पार्लियामेन्टमा थाहा हुन्छ’ भन्ने संक्षिप्त प्रतिक्रिया दिएका थिए।

प्रतिनिधिसभाको बैठक अहिले ३ बजेलाई बोलाइएको छ। बैठकअघि अहिले एमाले संसदीय दलको बैठक बानेश्वरस्थित संसद् भवनको लोत्से हलमा बस्दै छ।

यसअघि आइतबारको छलफलमा प्रधानमन्त्रीले विवादित अभिव्यक्तिका सम्बन्धमा स्पष्ट पार्ने र सदन सञ्चालन गर्ने सहमति भए पनि कार्यान्वयन हुन सकेन । सहमति गरेर निस्केका ओलीले एमालेलाई आक्षेप लगाएर प्रधानमन्त्री कार्यालयबाट जारी प्रेस नोट र गृहमन्त्री नारायणकाजी श्रेष्ठको ट्विट धारणाबारे पनि स्पष्ट पार्नुपर्ने अडान राखेपछि सहमति भाँडिएको थियो।

सुझावित समाचार