बागलुङको दक्षिण क्षेत्र जोड्ने सडक बारम्बार अवरुद्ध गराउने दब्ल्याङ एक्लेसालको पहिरोको समाधानको खोजी गरिएको छ । विगत चार वर्षदेखि बर्सेनि सास्ती दिँदै आएको बागलुङ नगरपालिका– १० भकुण्डे दब्ल्याङको पहिरोको अध्ययन गरी अल्पकालीन र दीर्घकालीन समाधानको खोजी सुरु गरिएको छ।
आइतबार बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठको संयोजकत्वमा यस क्षेत्रबाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्यहरू, बागलुङ नगरपालिका र जैमिनी नगरपालिका प्रमुख–उपप्रमुख, स्थानीयवासी र अन्य सरोकारवालाबीच पहिरोको उचित समाधानका निम्ति छलफल गरियो। छलफलका क्रममा गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीको पहलमा पूर्वाधार विकास कार्यालय बागलुङले गत जेठको पहिलो र दोस्रो साता पहिरोबारे गरेको विस्तृत अध्ययनको प्रतिवेदनसमेत सार्वजनिक गरिएको छ । प्रतिवेदनअनुसार यस पहिरोको अल्पकालीन र दीर्घकालीन दुवै उपायहरू सार्वजनिक गरिएको छ।
तत्कालका लागि पहिरोबाट सडक अवरुद्ध हुन नदिनका लागि पहिरोमाथिबाट आएको पानी काटेर नजिकैको खोल्सामा पुर्याएमा ५० प्रतिशत भए पनि पहिरो झर्ने समस्या कम हुने अध्ययन टोलीका इन्जिनियर उमेशचन्द्र भुसालले जानकारी दिए । भुसालका अनुसार तत्कालका लागि पहिरोको माथिल्लो भागमा प्लास्टिक बिछ्याएर पानीलाई नजिकैको न्वारे खोलामा पुर्याएमा पहिरो बग्नबाट रोकिनेछ । भूगर्भविद्हरूको अध्ययन टोलीले तयार गरेको प्रतिवेदनअनुसार पहिरोको झन्डै १३ देखि २० मिटर तल मात्र चट्टान रहेको हुँदा दीर्घकालीन उपायका लागि विभिन्न १० वटा काम एकैपटक गर्नुपर्ने देखिएको छ।
विज्ञहरूले पहिरोको स्थलगत अवलोकन गरी यसको जियोफिजिकल अर्थात् एमआरआई गरी प्रतिवेदन तयार पारेको पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर गणेश सुवेदीले बताए । सुवेदीका अनुसार यसलाई विभिन्न तरिकाले दीर्घकालीन समाधान गर्न सकिनेछ। ‘पहिरोको भित्री भागमा पानी नभएको खुलेको छ। माथिबाट आएको पानी हामीले तर्काउन सक्यौँ भने ५० प्रतिशत समस्याको समाधान हुन्छ भन्ने छ,’ इन्जिनियर सुवेदीले भने, ‘यसमा कडा चट्टान पनि १३ देखि २० मिटर तल छ भन्ने छ । अहिलेको उपाय भनेकै दायाँ–बायाँ कता हुन्छ पानी काटेर फाल्ने हो।’
पहिरोको दीर्घकालीन उपायका लागि अध्ययन अवलोकन गरेको विज्ञको टोलीले पाँच करोड ४८ लाख ९३ हजार पाँच सय पाँच रुपैयाँको लागत निकालेको छ ।
यस वर्ष सडक सञ्चालनका निम्ति अस्थायी रूपमा केही व्यवस्थापन गर्न सके आगामी वर्षमा प्रदेश, संघ र स्थानीय सरकार मिलेर विज्ञको सल्लाहअनुसार दीर्घकालीन व्यवस्थापनमा लाग्ने गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी बताउँछन्। ‘दक्षिण बागलुङका जनतालाई पहिरोले दैनिक सास्ती दिएको छ । यसको दीर्घकालीन समाधानको खोजी गरेका छौँ,’ सुवेदीले भने, ‘अहिले अल्पकालीन समाधानको बाटो खोजेका छौँ। भोलिबाटै हामी समाधानका निम्ति काम गर्छौँ। यसका लागि बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाले संयुक्त पहल थाल्ने भएका छन्। दीर्घकालीन उपायका लागि बजेट व्यवस्थापन हो त्यो प्रदेश र संघीय सरकारसँग अपेक्षा गरेका छौँ।’
उनले पहिरोको वास्तविक समस्याको अध्ययनका निम्ति त्रिभुवन विमानस्थलमा रहेको विज्ञको टोलीलाई पूर्वाधार विकास कार्यालय बागलुङमार्फत पहिरो क्षेत्रमै पठाएको बताए । यसअघि यही विज्ञ टोलीले कृष्णभिरको पहिरोको समस्या समाधान गरेका बताइएको छ।
पहिरोमा माथिबाट आएको पानी व्यवस्थापनका निम्ति स्थानीय जग्गादातासँग पनि सल्लाह र छलफल गर्नुपर्ने भएको हुँदा सोमबार पहिरो प्रभावित क्षेत्रमा पुग्ने बागलुङ नगरपालिका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए। प्राविधिकसहित स्थानीय सरोकारवालाको टोली पहिरोमै पुगेर यसको तत्काल समस्या समाधानका लागि लाग्ने नगरप्रमुख श्रेष्ठले बताए । श्रेष्ठले उपप्रमुख राजु खड्का र बागलुङ– १० का वडाध्यक्ष तिलबहादुर थापालाई स्थानीयवासीसँग छलफल गरी काम अगाडि बढाउन निर्देशनसमेत दिएका छन्।
दक्षिण बागलुङका १८ वटा वडाका सर्वसाधारणलाई सदरमुकाम आउन याे पहिरो सधैँका लागि बाधक बनेको हुँदा यसको दीर्घकालीन उपायका निम्ति सरोकारवालासँग छलफल गरिएको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बताइन्। ‘पहिरोका कारण दैनिक सयौँ यात्रु अलपत्र परेका छन्। पानी परे त सडक अवरुद्ध हुँदो रहेछ,’ श्रेष्ठले भनिन्, ‘यसको दीर्घकालीन उपायका लागि छलफल गर्नुपर्याे भनेर माननीय डिल्लीराम सुवेदीले भन्नुभयो। सोहीअनुसार यस क्षेत्रका सरोकारवालाको उपस्थितिमा एउटा निकासका निम्ति छलफल गर्याैँ। स्थलगत अध्ययन गरी समाधानका निम्ति काम गर्ने निर्णय भएको छ।’
पहिरोले बागलुङ–कुश्मिसेरा सडक खण्ड दुई स्थानमा र कालीगण्डकी करिडोर र कालीगण्डकी नदी किनार हुँदै गएको भाटेखोला जाने वैकल्पिक सडक पनि एकैसाथ अवरोध गर्दै आएको छ। एउटा पहिरोले चार स्थानमा सडक अवरोध गर्दा दक्षिण बागलुङ जाने यातायातका साधन ठप्प हुने गरेका छन्।