शिक्षकको हाजिरी वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था हटाउने सहमति

आइतबार, २४ असार, २०८०
डिजिटल संस्करण

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा शिक्षकको हाजिरीको प्रतिलिपि वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था निष्क्रिय पार्ने सहमति भएको छ। 

तत्कालीन नगर प्रमुख दीपनारायण रिजाल र उपप्रमुख वीणादेवी राईको पालामा बनाइएको नगर शिक्षा नियमावली निरंकुश र गैरजिम्मेवार भएको भन्दै आन्दोलनमा उत्रिएका जिल्लास्थित शिक्षक संघ–संगठन र नगरपालिकाबीच शनिबार भएको छलफलका क्रममा यस्तो सहमति भएको हो।

नगर प्रमुख तीर्थराज भट्टराईको अध्यक्षतामा भएको छलफलका क्रममा नगर कार्यपालिकाको आगामी बैठकबाट नगर शिक्षा नियमावली, २०७६ को नियम २७ (ङ)लाई निष्क्रिय गर्ने, आगामी नगरसभाबाट शिक्षा नियमावली संशोधन गर्ने, शैक्षिक सुधारका कार्यहरूलाई निरन्तर अगाडि बढाउने, शिक्षकले घोषणा गरेका आन्दोलनका कार्यक्रम फिर्ता लिने र नगरपालिका र शिक्षक संघ–संगठनबीच भएको सम्झौतालाई पूर्ण रूपमा पालना गर्ने सहमति भएको छ। 

नगरपालिकासँग भएको सहमतिपछि आफूहरूको आन्दोलनसमेत फिर्ता भएको शिक्षकहरूले बताएका छन्। 

छलफलमा नगर प्रमुख भट्टराई, उपप्रमुख विशन राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार राई, वडा नं. १ का वडाध्यक्ष नवराज राई, वडा नं. ५ का वडाध्यक्ष एवं नगर प्रवक्ता दिनेश घिमिरेलगायत विभिन्न सरोकार  पक्षको उपस्थिति थियो। सहमतिपत्रमा वडा नम्बर १ का वडाध्यक्ष राईले भने हस्ताक्षर गरेका छैनन्। 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले लागू गरेको नगर शिक्षा नियमावली, २०७६ को नियम २७ (ङ)मा वडाभित्र सञ्चालित विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको हाजिरीको प्रतिलिपि वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था छ। 

उक्त व्यवस्था शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली, २०५९ सँग बाझिएकाले संशोधन वा खारेजीको माग गर्दै जिल्लास्थित शिक्षकले पटक–पटक विरोध गर्दै आएका थिए। 

आन्दोलनकै कार्यक्रमअन्तर्गत जिल्लास्थित सबै शिक्षक संघ–संगठनहरूले तत्कालीन नगर प्रमुख रिजाल र उपप्रमुख राईको पालामा पारित गरिएको नियमावली संशाेधन गर्न माग गर्दै गत ०७९ पुस १ गतेदेखि आन्दोलन गर्दै आएका थिए। 

यसअघि नगरपालिका र शिक्षकहरूबीच भएको छलफल तथा वार्ताका क्रममा गत असार १० गते सम्पन्न नगरसभाबाट उक्त बुँदा संशाेधन तथा खारेज गर्ने बताइए पनि कार्यान्वयन नभएको भन्दै शनिबार नगर प्रमुख भट्टराईलाई ज्ञापनपत्र बुझाइएको थियो। 

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख भट्टराईले शिक्षकहरूसँग भएको सहमति दुवै पक्षले पूर्ण रूपमा पालन गरिने बताए। 

ज्ञापनपत्रमा नेपाल शिक्षक संघका संघीय सदस्य शिवहरि ढकाल, नेपाल शिक्षक महासंघ खोटाङका अध्यक्ष मीनबहादुर दाहाल, नेपाल शिक्षक संघका उपाध्यक्ष मुना चौलागाईं, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष टंक कटुवाल, एकीकृत अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष नूरकाजी सैँजू र नेपाल शिक्षक महासंघ नगर अध्यक्ष यादवप्रसाद घिमिरेले हस्ताक्षर गरेका छन्। 

See More On

सुझावित समाचार