नेपाल उद्योग परिसंघले नेपाल र पाकिस्तानबीच सीधा हवाई सम्पर्क हुनुपर्ने विषयमा जोड दिएको छ । नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हासमीसँग शुक्रवार भएको भेट एवम् छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपाल र पाकिस्तानबीच सीधा हवाई सम्पर्क हुनुपर्नेमा जोड दिएका हुन् ।
अध्यक्ष अग्रवालले दुई देशबीच सिधा हवाई सम्पर्क पुनः जोड्न सकिए पर्यटन उद्योगका लागि महत्वपूर्ण हुने उल्लेख गरे । देशको समग्र आर्थिक विकास र समृद्धिका लागि सरकार एवं अन्य सरोकारवाला निकायहरूसँग परिसंघले सहकार्य गर्दै आएको अग्रवालले राजदूत हासमीलाई बताए ।
परिसंघ अध्यक्ष अग्रवालले पर्यटन, चिया, कफीलगायतका माध्यम तथा पर्यटकीय गतिविधिबाट पाकिस्तानसँगको व्यापार घाटा न्यूनीकरण गरिनुपर्नेमा जोड दिए । यसका लागि उनले आवश्यक सहयोग एवं समन्वय गर्नसमेत उनले राजदूत हासमीलाई आग्रह गरेका छन् ।
राजदूत हासमीले नेपाली वस्तुहरू पाकिस्तान निर्यात बढाउन आवश्यक सहकार्य एवं सहयोग गर्न प्रतिबद्ध रहेको बताए । उनले पाकिस्तानमा चियाको राम्रो बजार रहेकाले नेपाली चिया निर्यात गर्न सकिने सम्भावना औँल्याएका हुन् । पाकिस्तानी पर्यटक नेपाल भ्रमण गर्न रुचाउने बताउँदै उनले दुई देशबीच डिजिटल भुक्तानी हुने व्यवस्था गर्न पनि सुझाव दिए ।