गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले व्यावसायिक कारोबार सुरु गरेको छ । शुक्रबार विराटनगरमा विशेष समारोहबीच नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीको कारोबार शुभारम्भ गरेका हुन् ।
यससँगै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कारोबार सुरु गर्नेमा पहिलो लघुबिमा कम्पनी बनेको छ । सातै, प्रदेशमा एक–एकवटा लघुबिमा कम्पनी स्थापना गर्ने गरी तीन जीवन र चार निर्जीवन लघुबिमा कम्पनीलाई प्रदेश कार्यक्षेत्र तोकेर नेपाल बिमा प्राधिकरणले गत मंसिरमा आशयपत्र (एलओआई) दिएको थियो । कोसी प्रदेश तोकिएको गार्डियन लाइफ माइक्रोले गत चैतमा सञ्चालनका लागि अन्तिम अनुमति पाएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले पालिकास्तरको बिमा अनुदान माइक्रो इन्स्योरेन्समा प्रयोग हुनुपर्ने बताए । पछिल्लो समय पालिकाहरूले बिमासम्बन्धी विभिन्न अनुदान दिँदै आएका छन् । अब त्यस्तो अनुदान लघुबिमामा प्रयोग हुनुपर्ने उनको भनाइ छ । यस्तै, माइक्रो इन्स्योरेन्स कम्पनीहरूले पालिकास्तरमै बिमा डेस्क राखेर कारोबार विस्तार गर्नुपर्ने पनि उनले बताए ।
यस्तै, कम्पनीका अध्यक्ष उदीप श्रेष्ठले गरिबीको रेखामुनिका समुदायमा बिमा सेवा पुर्याउन सहयोग पुग्ने बताए । साथै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चिरायु भण्डारीले कम्पनीको सेवालाई आमसर्वसाधारणको घरदैलोमै पुर्याउने बताए । ‘अहिलेको जमाना नै प्रविधिको हो । हरेक क्षेत्रहरू प्रविधिमैत्री हुँदै छन् । आमसर्वसाधारण पनि प्रविधिमा अभ्यस्त छन् । त्यो अवस्थामा हामीले परम्परागत ढंगले काम गर्न मिल्दैन,’ उनले भने, ‘हामीले अनलाइनबाट नै बिमा पोलिसी खरिद–बिक्री गर्ने गरी प्रविधिको विकास गरेका छौँ । आमसर्वसाधारणले अनलाइनबाट नै बिमा पोलिसी खरिद गर्न सक्छन् ।’
लघुबिमा कम्पनीको चुक्ता पुँजी ७५ करोड छ । त्यसमा ७० प्रतिशत अर्थात् ५२ करोड ५० लाख रुपैयाँ संस्थापक सेयर रहेको छ । बाँकी ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँबराबरको सेयर भने सर्वसाधारण अर्थात् आइपिओबाट उठाइनेछ ।
कम्पनीले पहिलो चरणमा विराटनगरमा केन्द्रीय कार्यालय स्थापना गरेर सेवा शुभारम्भ गरेको हो । यद्यपि, लघुबिमा कम्पनीले देशभर नै कारोबार गर्न पाउनेछ । अब एक वर्षभित्र देशभर कम्तीमा १५ वटा शाखा कार्यालय खोल्ने कम्पनीको योजना छ ।